नेपालगन्ज समाचारदाता
नेपालगन्ज, साउन ३१ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विपत् व्यवस्थापनका लागि प्रदेश सरकार गम्भीर भएर लागेको बताउनुभएको छ।
नेपाली कांग्रेस बाँकेले नेपालगन्जस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँले बाढी र डुबानबाट जनतालाई जोगाउन राप्ती नदीमा तटबन्ध बनाउनेलगायत विपत् व्यवस्थापनका लागि प्रदेश सरकार गम्भीर भएर लागेको बताउनुभयो।
जिल्लाका कांग्रेसका नेता तथा कार्यकर्तासँगको भेटघाटमा मुख्यमन्त्री चौधरीले बाढी, डुबान र पहिरोजस्ता समस्याको समाधानका लागि सरकारले सबै शक्ति परिचालन गर्ने बताउनुभयो।
स्थानीय कांग्रेसका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै उहाँले पार्टीलाई बलियो बनाउन गुट उपगुट त्यागेर अगाडि बढ्नुको विकल्प नरहेको प्रस्ट पार्नुभयो। मुख्यमन्त्री चौधरीले भन्नुभयो, “कांग्रेस जिम्मेवार पार्टी हो, देशको विकास र समृद्धिका लागि सधैँ अग्रसर छ।”
ऐतिहासिक पार्टीका नेता कार्यकर्ताले गुट उपगुटमा लागेर समय खेर फाल्ने छुट छैन भन्दै उहाँले प्रदेशका ठुला तथा ऐतिहासिक सहरको विकासलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो।