• ५ जेठ २०८१, शनिबार

सक्कली डा. यादव रिहा अनुसन्धानमा प्रश्न

blog

काठमाडौँ, साउन ३१ गते । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नक्कली डाक्टरविरुद्धको कारबाहीमा पक्राउ गरेका डा. रञ्जितकुमार यादव रिहा हुनुभएको छ। उहाँको रिहासँगै नेपाल चिकित्सक सङ्घले डा. यादवलाई पक्राउ गर्न सूचना दिने नेपाल मेडिकल काउन्सिलका पदाधिकारीले दिएको सूचना तथा सिआइबीले गरेको अनुसन्धानमाथि प्रश्न गरेको छ। 

सिआइबीले सक्कली चिकित्सक पक्राउ परेको घटनामा नेपाल मेडिकल काउन्सिलको कमजोरी रहेको आरोप लगाएको छ। सिआइबीका प्रवक्ता नवराज अधिकारीले मेडिकल काउन्सिलले उपलब्ध गराएको विवरणका आधारमा डा. रञ्जितकुमार यादवलाई पक्राउ गरिएको जानकारी दिनुभयो। उहाँले काउन्सिलले भूलबस ‘गलत’ विवरण उपलब्ध गराइएको भनेर पत्र पठाएपछि उहाँलाई रिहा गरिएको जानकारी दिनुभयो। यसअघि २०७८ मङ्सिर २८ गतेको पत्रमा मेडिकल काउन्सिलले भूलबस रञ्जितकुमार यादवको नाम उल्लेख भएकोमा दोस्रो पत्र पठाएको जानकारी दिनुभयो। 

सबै प्रमाणपत्र सक्कली हुँदाहुँदै पनि डा. यादवलाई नक्कली भन्दै सिआइबीले पक्राउ गरेपछि परिवार तथा आफन्त उजुरीका लागि काउन्सिलमा जानुभएको थियो। काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले डा. यादवको थप कागजात छानबिन गर्दा प्रमाणपत्र सक्कली भएको पाइएको जानकारी दिनुभयो। यसपछि काउन्सिलले सिआइबीलाई त्यसबारेमा जानकारी गराएको थियो। 

डा. अधिकारीले २०७६ असोज २७ गते शङ्कास्पद एक हजार ६०३ जना डाक्टरको विवरण पठाउँदा भूलबस डा. यादवको विवरण परेको जानकारी दिँदै गतल भएको थाहा पाउनासाथ सिआइबीलाई जानकारी गराएको बताउनुभयो। उहाँले डा. यादव पक्राउ परेपछि काउन्सिलले थुनामुक्त गर्न पटक पटक आग्रह गर्दा पनि सिआइबीले अटेर गरेको आरोप लगाउनुभयो। 

अनाहकमा पीडित बन्नुभएका डा. रञ्जित यादवले बिनागल्ती चार दिनसम्म थुनामा राख्दा आफूलाई मानसिक असर परेको बताउनुभयो। सामाजिक सञ्जाल तथा अन्य सञ्चारमाध्यममा अहिले पनि आफूलाई नक्कली डाक्टर भनेर चिनिरहेकोमा दुःख लागेको बताउनुभयो। गाउँघर तथा समाजमा समेत यसले असर पु-याएको बताउनुभयो। 

उहाँले प्रहरीलाई आफू नक्कली चिकित्सक होइन भनेर पटक पटक आग्रह गर्दा पनि एसएलसीको प्रमाणपत्र नक्कली नै हो भनेर आरोप लगाइरहेको बताउनुभयो। 

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीले डा. रञ्जितकुमार यादवलाई पक्राउ गर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र विवरण उपलब्ध गराउने नेपाल मेडिकल काउन्सिलका अधिकारीमाथि छानबिन गर्नुपर्ने बताउनुभयो। उहाँले काउन्सिलले उपलब्ध गराएको विवरणका आधारमा सिआइबीले नक्कली चिकित्सकको आरोपमा डा. यादवलाई नियन्त्रणमा लिएको भन्दै यो घटनाले वास्तविक चिकित्सकमाथि अन्याय भएको बताउनुभयो।  

उहाँले यसअघि २०७२ सालमा पनि सिआइबीले दुई जना सक्कली डाक्टरलाई पक्राउ गरेको भन्दै यस्ता घटना दोहोरिँदा चिकित्सा पेसा पनि बदनाम हुन पुगेको बताउनुभयो। 

चिकित्सक सङ्घका महासचिव डा. सञ्जीव तिवारीले वास्तविक चिकित्सकलाई नक्कली भन्दै पक्राउ गरेर चिकित्सा पेसालाई त्रसित बनाउन खोजिएको आरोप लगाउनुभयो। 

   

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।