यदुप्रसाद भट्ट
मनाङ, साउन ३० गते। दुई वर्षअघिको बाढी पहिरोपश्चात् मनाङका अधिकांश स्थानमा भत्किएका संरचना निर्माण नहुँदा एक ठाउँबाट अर्को ठाउँ पुग्नै सकस भएको छ। बाढीपहिरोले बगाएको झोलुङ्गे पुल दुई वर्षदेखि निर्माण नहुँदा यहाँका बालबालिका विद्यालय पुग्न, स्थानीयलाई वडा कार्यालयमा पुगेर सेवा लिन निकै सकस हुने गरेको छ।
मर्स्याङ्दीमा पुल निर्माण नहुँदा हाल मनाङको नासोँ गाउँपालिकाका विद्यार्थी जोखिम मोलेर फड्के तर्न बाध्य भएको नासोँ गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शितलबहादुर पाण्डेले बताउनुभयो।
कुल ११ वटा विद्यालय रहेको नासोँ गाउँपालिकामा ९ वटा विद्यालय बालकक्षामा सीमित भएको उहाँले जानकारी दिनुभयो। भानु मावि नासोँ-१, तालमा रहेको छ भने नासोँ-५ मा प्रकाशज्योति माध्यमिक विद्यालय पर्दछ।
प्रमुख पाण्डेले भन्नुभयो, ‘‘पालिकाभरकै अधिकांश विद्यार्थी प्रकाशज्योति माविमा अध्ययनरत छन्। भानु माविमा कमै मात्र विद्यार्थी अध्ययन गर्दछन्।’’
डेढ सय विद्यार्थीलाई पुलकै कारण विद्यालय जान सकस भएको छ। वडा नम्बर ६ र ७ का ४० जना विद्यार्थीलाई दुधखोलामाथि झोलुङ्गे पुल नबन्दा काठेपुलकै भरमा वारिपारि गर्नुपर्ने बाध्यता रहेको छ’, खेलकुद शाखा प्रमुख शितलबहादुर पाण्डेले बताउनुभयो।
आवासीय व्यवस्था भएको यस विद्यालयमा नासोँ-१, २, ३, ४ र ५ नम्बर वडाका विद्यार्थी अध्ययनका लागि आउँछन्। विद्यार्थी मात्रै नभएर वडा नं. ६ थोचे र वडा नं. ७ तिल्चेका स्थानीय पनि काठेपुलकै भरमा वारिपारि गर्न बाध्य छन्। भएको काठेपुल पनि जीर्ण रहेको र मौसमको अवस्था हरेर मात्रै आवतजावत गर्नुपरेको स्थानीयको भनाइ छ।
हिउँदमा मर्स्याङ्दीमाथि फट्के राखेर वारिपारि गर्न सकिने भए पनि वर्षामा यो सम्भव नभएको नासोँ-५ का वडाध्यक्ष थुतेन लामाले बताउनुभयो। उहाँले भन्नुभयो, ‘केही सामाजिक रूपमा अत्यावश्यक संरचनाको न त मर्मत हुन सकेको छ न त निर्माण नै। मनाङमा बाढीपहिरोले अधिकांश क्षेत्रमा क्षति पु¥याए पनि केही संरचनाको निर्माणमा चासो नै नपुग्दा विद्यार्थी शिक्षाबाट वञ्चित हुने अवस्थामा पुगेका हुन्।’
वडाध्यक्ष लामाले पुल नहुँदा विद्यार्थी र सेवाग्राहीले भोगेका कठिनाइलाई मध्यनजर गर्दै पालिका र प्रदेशसम्म आवाज उठाए पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, ‘‘विद्यार्थी र सेवाग्राहीले ज्यान जोखिममा राखेर नदी तर्दा दुःख लाग्छ, एक्लैले केही गर्न सकिँदो रहेनछ, सम्बन्धित निकायले चासो नदिँदा दुई वर्षसम्म पनि सहज बनाउन सकेको छैन।’’
यसले गर्दा दुई वटा वडा बीचको सम्बन्ध नै विच्छेद भएको पटक-पटक सम्बन्धित निकायसँग छलफल र समन्वयमा जुटिरहेको उहाँले बताउनुभयो। पालिकाले मात्रै नसक्ने भए प्रदेश र सङ्घ सरकारलाई पनि जिम्मेवार बनाउने कार्यतर्फ हामीले भूमिका खेल्नुपर्ने भनेर पालिका अध्यक्षसँग छलफल भएको वडाध्यक्ष लामाले बताउनुभयो।
विद्यार्थी सुस्मिता गुरुङ नदीमा पानीको बहाव बढेकाले फड्केमार्फत विद्यालयसम्म पठनपाठनका लागि पुग्न डर लाग्ने गरेको बताउनुभयो।
स्थानीय सुरेन्द्र गुरुङले दुई वर्ष बितिसक्दा पनि पुल नबन्दा धेरै सास्ती भोग्नुपरेको बताउनुभयो। उहाँले भन्नुभयो- ‘हामीले ज्यान जोखिममा राखेर बिरामीलाई स्वास्थ्य चौकीसम्म पु¥याउनुपर्ने बाध्यता कसले बुझिदिने हो खै ?’ उहाँले सम्बन्धित निकायले चासो नदिएको आरोप लगाउनुभएको छ।
मनाङ पर्यटकीय क्षेत्र भएकाले काङ्ला पास जाने पर्यटकलेसमेत कष्ट भोग्नुपरेको उहाँले बताउनुभयो। मनाङीले पर्यटकलाई पाहुनाका रूपमा पुज्ने भएकाले उनीहरूलाई यसतर्फ पनि निकै चासो छ। तर, पुल नबन्दा स्थानीयसँगै पर्यटकले दुःख भोगेका छन्। दुई वर्ष अघिको बाढीपहिरोका कारण मनाङस्थित मर्स्याङ्दी नदीमाथि बनेका १३ पुलमा क्षति भएको छ। ती पुल निर्माण नहुँदा स्थानीयवासी तथा पर्यटकले सास्ती भोग्नुपरेको छ।