• १९ असार २०८२, बिहिबार

कुलिङ पिरियडमा षड्यन्त्र भयो, अन्तिममा पढ्नै दिइएन: प्रमुख सचेतक पाण्डे

blog

काठमाडौँ, असार १८ गते । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले कुलिङ पिरियडबारे षड्यन्त्र भएको बताउनुभएको छ । बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले कुलिङको विषयवस्तु आजको नभएको भन्दै यो छेडखानी मात्र नभई षड्यन्त्र भएको बताउनु भयो । उहाँले देशलाई सपार्ने हो भने आफ्नो नभई नेपाल आमाको अनुहार हेर्नुपर्ने बताउनु भयो । नजानेर त्रुटि भएर भन्ने कुरा नरहेको भन्दै यसमा सहभागीहरूमाथि कारबाही हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘कुलिङको विषयवस्तु आजको होइन । छेडखानी मात्रै होइन, षड्यन्त्र भएको छ । मुख्यसचिवदेखि सहसचिवसम्मको विषयवस्तु सुन्न चाहन्छौँ । मैले हरेक दिनको बैठकमा यहाँहरूको अनुहार पनि हेरेको छु, मैले भनेको पनि छु । 

देशलाई सपार्ने हो भने नेपाल आमाको अनुहार हेरौँ । आफूतिर होइन । यो षड्यन्त्र भएको छ । नजानेर त्रुटि भएर भन्ने कुरा आएको छ, होइन । यसमा कोको सहभागी भएका छन्, यसको छानबिन हुनुपर्छ ।’ प्रमुख सचेतक पाण्डेले अन्तिममा विधेयक पढ्न समिति सदस्यहरूलाई नदिइएको भन्दै आपत्ति जनाउनु भयो ।