• ३ असार २०८१, सोमबार

७५० सुत्केरी पशुलाई भत्ता वितरण

blog

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, साउन ३० गते । सिन्धुलीको कमलामाई नगरपालिकाले एक वर्षमा ७५० वटा ब्याएका गाईभैँसीलाई सुत्केरी भत्ता वितरण गरेको छ । नगरपालिकाले गत आर्थिक वर्ष ०७९/०८० मा पौष्टिक आहारा स्वरूप ब्याएका गाईभैँसीलाई उक्त भत्ता वितरण गरेको हो । नगरपालिकाले सुत्केरी खाद्यान्न सहयोग स्वरूप ब्याएका गाईभैँसीलाई नगद दुई हजार रुपियाँका दरले उक्त सहयोग गरेको नगरपालिकाले जनाएको छ ।

एक वर्षमा नगर क्षेत्रभित्र ब्याएका ४६९ वटा भैँसी र २८१ वटा गाईलाई सुत्केरी भत्ता वितरण गरेको नगरपालिकाका पशु विकास शाखाका प्राविधिक मीनबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार ब्याएका गाईभैँसीलाई भत्ता स्वरूप एक वर्षमा १५ लाख रुपियाँ पशु धनीलाई वितरण भएको छ ।

नगरपालिकाले किसानलाई पशुपालन प्रति प्रोत्साहन गर्ने उद्देश्यले २०७५ मङ्सिर महिनादेखि ब्याएका गाईभैँसीलाई एक हजार रुपियाँ भत्ता दिन सुरु गरेको थियो । दुई वर्षअघि त्यसलाई वृद्धि गरी प्रति पशु दुई हजार पुर्‍याएको छ । उक्त भत्ता वितरणका लागि पशुको बिमा अनिवार्य गरिएको नगरपालिकाले जनाएको छ । 

ब्याएको पशु मरेमा किसानको सुरक्षाका लागि भत्ता दिने पशुको बिमा अनिवार्य गरिएको पशु विकास शाखाका प्राविधिक थापाले बताउनुभयो । उहाँका अनुसार किसानले पशुको सुत्केरी भत्ता लिन ब्याएको ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयको सिफारिस, पशुधनी र ब्याएको गाईभैँसीको बच्चासहित देखिने फोटा र नागरिकताको प्रतिलिपि सहितको निवेदन नगरपालिकामा दर्ता गर्नुपर्ने हुन्छ । 

यसरी उपलब्ध गराएको भत्ताबाट सम्बन्धित किसानले ब्याएको पशुलाई पौष्टिक आहार र खाद्यान्न किनेर खुवाउनु पर्नेछ । नगरपालिकाका भद्रकाली, जलकन्या, रानीचुरी, रानीवास, डाँडीगुराँसे लगायतका ठाउँमा किसानहरूले व्यावसायिक भैँसी पालन गर्दै आएका छन् । नगरको ढकालगाउँ, गैयाटार, पातीपरान लगायतका ठाउँमा भने गाईपालनका लागि उपयुक्त क्षेत्र रहको नगरपालिकाले जनाएको छ ।

कमलामाई नगरपालिका–४ निवासी किसान नीलप्रसाद चौलागाईँ  नगरपालिकाले ब्याएका गाईभैँसीलाई भिटामिन खुवाउन सुत्केरी भत्ता स्वरूप दुई हजार रुपियाँ दिन सुरु गरेपछि किसानलाई पशुपालनमा टेवा पुगेको बताउनुहुन्छ । 

‘ब्याएको बेलामा गाईभैसीलाई घरमा भएको खाद्यान्नको कुँडो बनाएर त खुवाउँथ्यौँ,’ उहाँले भन्नुभयो, ‘तर किनेर ल्याएर भिटामिन चाहिँ प्राय खुवाउँदैन थिए । नगरपालिकाले सुत्केरी भत्ता दिन थालेपछि ब्याएका पशुलाई पौष्टिक आहार खुवाउन सजिलो भएको छ ।’