• ४ जेठ २०८१, शुक्रबार

बाँकेका ३०७ कैदीबन्दीको आँखा परीक्षण, निःशुल्क औषधि वितरण

blog

कारागारभित्र कैदीबन्दीका आँखा परीक्षण गर्दै । तस्बिर : सिराज खान

सिराज खान

नेपालगञ्ज, साउन ३० गते । बाँके कारागारमा रहेका अधिकांश कैदीबन्दीमा आँखा पाक्ने रोगको समस्या देखिएपछि कारागारमा निःशुल्क आँखा शिविर सञ्चालन गरेर कैदीबन्दीको आँखा परीक्षण गरिएको छ ।

फत्तेबाल आँखा अस्पतालको सहयोगमा बाँके जिल्ला अदालत बार एसोसिएसन र नेपालगञ्ज उच्च बार एसोसिएसनद्वारा कारागारमा कैदीबन्दीका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो । 

फत्तेबाल आँखा अस्पतालका कार्यक्रम संयोजक उमेर सादिकले कारागारमा रहेका ३०७ जना कैदीबन्दीको आँखा परीक्षण गरेर निःशुल्क औषधि वितरण गरिएको जनाउँदै अधिकांश कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको बताउनुभयो ।

उहाँले कारागारमा धेरै कैदीबन्दी रहेको र उनीहरूसँगै बस्ने उठ्ने गरेकोले आँखा पाक्ने रोग तीव्र गतिमा फैलिएको जानकारी दिनुभयो । 

जिल्ला अदालत बाँकेका न्यायाधीश धनसिंह महराले थुनुवा, कैदीबन्दीहरुलाई औषधि हस्तान्तरण गरेर आँखा उपचार शिविरको उद्घाटन गर्नुभयो । सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले कैदीबन्दीका लागि निःशुल्क उपचार शिविर राखेर निकै सराहनीय काम गरेको बताउनुभयो ।

कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी कोचाकोच गरेर राखिएकाले पनि आँखा पाक्ने रोग फैलिएको मानवअधिकारकर्मीले जनाएका छन् । इन्सेकका क्षेत्रीय प्रमुख भोला महतले क्षमताभन्दा बढी कैदीबन्दी राखिएकाले सरुवा रोगको रूपमा रहेको ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’ फैलिएको बताउनुभयो ।

यसअघि केही दिन पहिले जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरूको पनि निःशुल्क आँखा परीक्षण गरेर औषधि वितरण गरिएको थियो ।