अमृतप्रसाद पौडेल
म्याग्दी,साउन २९ गते । आइतबार बेलुका देखि कागखोलामा आएको बाढीले कागबेनी क्षेत्रमा रहेका ४८ भवनमा क्षति पुर्याएको छ । बाढीले गर्दा प्रहरी चौकी, मन्दिर, धर्मशाला लगायतका भौतिक संरचनामा क्षति भएको हो । भवनलगायतका भौतिक संरचना, पशु चौपाया एवम् सवारी साधन तथा व्यक्तिको घरमा भएको धनमालको क्षति हेर्दा एक अर्ब हाराहारीको क्षति हुन सक्ने अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) गोपीकृष्ण सुवेदीका अनुसार २९ भवनहरू पूर्ण रूपमा क्षति भएको छ भने १० वटा आंशिक क्षति भएको छ । त्यसैगरी पाँच वटा पूर्ण र चार आंशिक गरी ९ वटा गोठ पनि बाढीले क्षति पुर्याएको छ । प्रहरी चौकी, धर्मशाला, मन्दिर, घर, गोठ लगायतको संरचनामा निकै ठुलो क्षति पुगेको छ । बाढीले प्रहरी चौकी कागबेनीको एउटा सहित आठ वटा मोटरसाइकल, दुई वटा स्कुटर, दुई वटा ट्याक्टर, एउटा एक्स्काभेटर एवम् चारपाङ्ग्रे सवारी साधन दुई वटा पनि बगाएको छ ।
कालीगण्डकी कोरिडोर सडक आयोजना अन्तरगतको बेनी–जोमसोम–कोरला सडक खण्डको कागखोलामा रहेको एउटा मोटरेबल पक्की पुल, ३ वटा काठका अस्थायी पुल र एउटा झोलुङ्गे पुल पनि बगेको छ । त्यस्तै कागबेनीमा रहेको एउटा मन्दिर समेत बाढीले बगाएको प्रारम्भिक तथ्याङ्क रहेको सूचना अधिकारी सुबेदीले बताउनुभयो ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ उपल्लो झोङमा पहिरो जाँदा कागखोलामा बाढी आएको बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथका वडा अध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार माथिल्लो झोङ देखि आएको बाढीले माथिल्लो क्षेत्रमा क्षति नपुर्याएको भए पनि कागबेनीमा ठुलो क्षति भएको बताउँदै उहाँले भन्नुभयो–‘जनप्रतिनिधिहरू कागबेनी क्षेत्रमा उद्धार तथा क्षति विवरण सङ्कलनमा लागेका छौँ, क्षतिको यकिन तथ्याङ्क निकाल्न समय लाग्ला तर सबै संरचना एवम् भौतिक श्रोतहरू हेर्दा एक अर्ब हाराहारीको क्षति भएको हुन सक्छ तर पनि यकिन भन्न सकिने अवस्था भने छैन ।’
कागखोलामा आएको बाढीले बिजुलीको पोल बगाउँदा उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका एवम् लो–घेकर दामोदरकुण्ड गाउँपालिका अन्धकार बनेको मुस्ताङमा विद्युत वितरण गर्दै आएको निलगिरी उपभोक्ता सहकारीका कार्यालय प्रमुख सनप्रसाद थकालीले बताउनुभयो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार कागखोलामा आएको बाढीले कागबेनीको श्राद्ध स्थलमा रहेको एउटा धर्मशाला बगाएको छ । जनशान्ति माध्यमिक विद्यालयको खेलमैदान पुरिएको छ भने दुई तले विद्यालयको पहिलो तला पनि लेदोले पुरेको छ । जनशान्ति माध्यमिक विद्यालय कागबेनीको छात्रावासमा रहेको ९० विद्यार्थीलाई सुरक्षित तरबरले कागबेनीकै क्याराभान होटलमा राखिएको विद्यालयका शिक्षक प्रेम गौतमले जानकारी दिनुभयो । बाढी आउन थालेपछि विद्यार्थीहरूलाई सुरक्षित स्थानमा लगेर राखेको उहाँले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक (डिएसपी) रवीन्द्र पौडेलका अनुसार पशु चौपाया, व्यक्तिका धनमाल तथा भौतिक संरचनाको क्षतिको अहिले नै यकिन गर्न सकिँदैन तर क्षति निकै ठुलो भएको छ ।’
रातको समयमा एक्कासि बाढी आएको भए पनि स्थानीय तथा सुरक्षाकर्मीहरूले उद्धारको काम गर्नुभएको मुस्ताङका प्रजिअ केसीले बताउनुभयो । कागबेनी प्रहरी चौकीको भवन रहेको हतियार सुरक्षित रहेको भए पनि अन्य सामग्री तथा भवन भने बाढीले पूर्ण क्षति भएको छ ।
बेनी–जोमसोम–कोरला सडक खण्ड अन्तरगत मुस्ताङको बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाको पाण्डा खोला, घरपझोङ गाउँपालिकाको मार्फा स्थित राजखोलामा बाढीले गर्दा सडक अवरुद्ध हुँदा सदरमुकाम जोमसोम यातायात सम्पर्क विच्छेद भएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसी सहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवम् राष्ट्रिय अनुसन्धानको टोली पनि घटनास्थल पुगेर उद्धारको कार्य गरिरहनुभएको छ ।