• १४ मंसिर २०८१, शुक्रबार

कोशीमा पानीको बहाव उच्च भएपछि स्थानीयमा त्रास

blog

बाबुराम कार्की 

बराहक्षेत्र (सुनसरी), साउन २९ गते ।  सप्तकाेशी नदीमा पानीको बहाव उच्च मापन गरिएसँगै  सप्तकोशी कोरिडोर आसपास क्षेत्रमा बसोबास गर्ने स्थानीयमा डर र त्रासले डेरा जमाउन थालेको छ ।

सोमबार बिहान ४ बजे ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव भएपछि कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको थियो । 

ढोका खोलिएपछि पानीको बहाव घट्दै गएको कोशी ब्यारेज कन्ट्रोल रुमका कर्मचारी अमित यादवले बताउनुभयो । सोमबार बिहान कोशीमा पानीको बहाव उच्च मापन भएपछि स्थानीयमा त्रास फैलिएको हो । 

वर्षायाममा बगेर आउने कोशीको पानीले हरेक वर्षा डर र त्रास सँगै लिएर आउने गर्छ । ‘पहाडी क्षेत्रमा वर्षा हुनासाथ कोशीमा पानीको मात्रा बढ्दै जान्छ । ५६ वटै ढोका खोलिएपछि कोशीमा पानीका बहाव घटेपनि स्थानीयमा कोशीको तटबन्ध टुटेर क्षति गर्ने होकि भन्ने त्रास रहिरहेको वराहक्षेत्र ९ का स्थानीय भीम गुरुङले बताउनुभयो । 

सप्तकोसीमा आएका ठुला बाढी 

२०११ साल वैशाख १५ गते नेपाल र भारतबीच भएको कोशी योजना सम्बन्धी सम्झौता अनुसार बनेको कोशी ब्यारेजले ९ लाख क्युसेक पानीको चाप थाम्न सक्ने क्षमता रहेको छ ।  

कोशी ब्यारेज पुल बने यता सबैभन्दा बढी सन् १९६८ अक्टोबर ५ मा ७ लाख ८८ हजार २ सय क्युसेक पानी बगेको कोशी योजना विराटनगरका सम्पर्क तथा भू आर्जन अधिकृत प्रमोद पौडेलले बताउनुभयो । 

भू-आर्जन अधिकृत पौडेलका अनुसार कोशीमा आएका ठुला बाढीहरू सन् १९८४ सेप्टेम्बर १७ मा ५ लाख १ हजार ७ सय ८७ क्युसेक, सन् १९६८ अगस्ट २७ मा ४ लाख १ हजार ९० क्युसेक, सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्युसेक, सन् १९८९ सेप्टेम्बर १९ मा ४ लाख ७२ हजार १ सय ९३ क्युसेक, सन् २००४ जुलाई ११ मा ३ लाख ९८ हजार ६ सय ६९ क्युसेक र २०१९ जुलाई १३ मा ३ लाख ७१ हजार १ सय १० क्युसेक र सन् २०२३ अगस्ट १४ मा ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक पानीको बहाव आएको थियो ।

बाढीको पीडा

नेपालको सबभन्दा ठुलो (बृहत् क्षेत्रमा फैलिएर बग्ने) नदी सप्तकोशीले आफूसँग पानी, बालुवा, ढुङ्गा–मुढा सँगसँगै सयौँ मानिसको घरबार, लास र सपनाहरू पनि बगाएको छ । नेपालको हिमाल, पहाड, तराई हुँदै भारतको गङ्गा नदीमा गएर मिसिने यो नदी नेपालको पूर्वी तराई क्षेत्र तथा बिहारका लागि जल–संसाधन कम अभिशाप बढी मानिन्छ । भारतीयहरूले यो नदीलाई बिहारको दुःख उपनाम दिएका छन् ।

कोशीको कारण सुनसरी जिल्लाका तत्कालीन गाउँ विकास समितिहरू वराहक्षेत्र, महेन्द्रनगर,  प्रकाशपुर, मधुवन, पश्चिम कुसाहा, श्रीपुर जब्दी र हरिपुरका सयौँ घर–परिवार पीडित बनेका छन् । पीडितहरूले कमाई खाने जमिन, बाली, घर र चौपायाको ठुलो क्षति सहनु मात्र परेको छैन, हातमुख जोड्ने समस्या पनि थोपरिएको छ । 

वर्षायाम लागेसँगै कोशीमा आउने बाढीले मानवीय क्षति, धनजनको क्षति लगायत बस्ती नै उठिबास लगाउने भएकाले पानीको बहाव बढेपछि स्थानीयमा त्रास फैलने गरेको स्थानीय घाश्याम कार्कीले बताउनुभयो । 

सप्तकोशी नदीको डुबान र कटानमा परी २०२२ साल देखि २०४६ सालसम्म पीडितको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत अधिकारसमेत हनन् भएको सप्तकाेशी डुबान कटान सङ्घर्ष समितिका उपाध्यक्ष लालबहादुर लिम्बुले बताउनुभयो । 

बाढीमा स्थानीयको अनुभव 

‘सप्तकोशी नदीमा प्रत्येक वर्ष सानो ठुलो बाढी आउने भएपनि केही वर्ष देखि सानो बाढीमा पनि पानी बाँध छेउमा आउने गरेको वराहक्षेत्र ९ का उमेश राईले बताउनुभयो । उहाँले भन्नुभयो ५० वर्ष पुग्यो यही ठाउँमा बसेको पहिला कोशी गहिरो थियो अहिले बालुबाले भरिँदै आयो ।’ 

अहिले कोसीको सतह गाउँ भन्दा उच्च हुँदै गइरहेको छ । मैले थहाँ पाउँदा सम्म कोशी पश्चिम तर्फ थियो । कोशी कहिले स्थिर भएर बगेको छैन । कहिले पश्चिम भएर बग्छ कहिले बीच बाटै कहिले पूर्वी तटबन्धको छेउ बाट ।’

कोशीमा धमिलो पानीसँगै बगेर आउने बालुवा, लेदो, माटो र ग्रेगरले कोशीको सतह माथि हुँदै गएको अर्का स्थानीय भीम कार्कीले बताउनुभयो । 

कोशीको सम्झौतामा नेपालको अधिकार

वि.सं. २०११ साल वैशाख १५ गते नेपाल र भारतबीच कोशी योजना सम्बन्धी सम्झौता भयो । यो सम्झौता दुवै देश बीचको भएपनि नेपालको अधिकार भने परामर्शदिने र अनुगमन गर्ने मात्र रहेको भू-आर्जन अधिकृत प्रमोद पौडेले बताउनुभयो । 

कोशीको सम्झौता हुँदा नै कार्यकारी अधिकार भारतीय पक्षकै हुने, सबै योजनाहरूमा उनीहरूले नै लगानी गर्ने र निर्माण गर्ने अधिकार भारतको र  परामर्श दिने, अनुगमन गर्ने अधिकार मात्र नेपालको रहेको भू-आर्जन अधिकृत पौडेलले बताउनुभयो । 

कार्यकारी अधिकार भारतीय पक्षलाई नै हुँदा उनीहरूलाई अनुकूल परेको बेला ब्यारेजको ढोका खोल्ने, बन्द गर्ने गरेका छन् । त्यसैले पानी सहज रूपमा बग्न नपाउँदा बालुवा जमेर सानो बाढी आउँदा पनि पानीको सतह माथि उठ्ने गरेको छ ।’ सानो ठुलो बाढी आउँदा ब्यारेजको सबै ढोका खोल्ने हो भने सबै बालुवा बर्खाको भलसँगै बगेर जाने थियो ।  

वराहक्षेत्र मन्दिर देखि १० किलो मिटर दक्षिण चतराबाट समथर भू-भागमा फैलिएको नदीले थुप्रै मानव बस्तीमा उठिबास लगाएको छ । नेपालको हिमाल पहाड तराई हुँदै भारतको गङ्गा नदीमा गएर मिसिने यो नदी नेपाल र बिहारको लागी अभिसाप बनेको छ ।