चाँदनी आचार्य
घोडाघोडी (कैलाली) साउन २९ गते । दुवै मिर्गौला फेल भएका एक युवकको आर्थिक अभावका कारण मिर्गौला प्रत्यारोपणमा समस्या आएको छ । कैलालीको लम्कीचुहा नगरपालिका-३ बल्चौरस्थित बादी बस्तीका २० वर्षीय राजु बादीको रकम अभावका कारण मिर्गौला प्रत्यारोपणमा समस्या आएको हो ।
राजुका बुवा नन्दराम बादीले मलिन हुँदै कलिलै उमेरमा छोराको दुवै मिर्गौलाले काम गर्न छोडेपछि आमा पार्वती बादीको मिर्गौला प्रत्यारोपण गर्ने भएपनि उपचार पक्रियामा रकम अभाव भएको बताउनुभयो ।
उहाँले भन्नुभयो “सरकारले दिएको जग्गामा बसोबासको व्यवस्था भएको छ ,साँझ बिहान छाक टार्न नै धौ-धौ पर्ने मेरो परिवारमा छोरालाई जटिल रोग लाग्यो , सरकारको विपन्न उपचार कोषबाट डाईलासिसमा केही सहयोग पुगेपनि अन्य खर्च धान्न मुस्किल परेको छ ।”
पोखरा संस्थाको होस्टेलमा बसेर अध्ययन गरिरहेका छोराको एकवर्ष पहिले एकाएक दुवै मिर्गौलामा समस्या आएपछि काठमाडौँ शिक्षण अस्पतालमा उपचार गराउँदै आएका थिए । अहिले भक्तपुर राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रमा आमा पार्वती बादीको मिर्गौला प्रत्यारोपण गर्ने तयारी भएको छ तर प्रत्यारोपण गर्दा लाग्ने खर्च करिब दश लाख जुटाउन बादी परिवारलाई सकस परेको छ ।
बादी समुदायका अगुवा समेत रहेका नन्दराम बादीले राष्ट्रिय बादी सञ्जाल बादी उत्थान विकास समितिमा लगायतमा सहयोगको पहल गर्न भनिएपनि कतैबाट सहयोग नआएको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो “अरूलाई पर्दा भन्न सजिलो हुने रहेछ ,आफूलाई पर्दा कस्लाई भन्नु, सारै समस्यामा छौ छोरो बचाउन सबैले सहयोग गरिदिनुहोला ।” काठमाडौँमा अस्पतालमा लाग्ने खर्चसँगै लामो समय काठमाडौँमा कोठा लिएर छोराको उपचारमा बसाई खर्च व्यवस्थापनमा समेत बादी परिवारले समस्या आएको बताए । सरसापट,सामान्य सहयोगबाट जनतन अहिले सम्म धानिएको बताउने नन्दरामले अबको उपचार भगवान् भरोसा भएको बताउनुभयो ।