रेखीराम राना
पाल्पा, साउन २९ गते । स्थानीय तहहरूले जथाभाबी बाटो खन्न थालेपछि मुख्य तथा सहायक राजमार्गमा असर पर्न थालेको छ। पाल्पाका स्थानीय तहहरूले जथाभाबी खनेका ग्रामीण सडकका कारण जिल्लाका मुख्य सडकका रूपमा रहेको सिद्धार्थ राजमार्गसहितका सहायक राजमार्गमा क्षति पुग्दा यातायात सेवा प्रभावित हुने स्थिति पैदा भएको छ।
सिद्धार्थ राजमार्गको चर्चरे, हिउँदे खोला, माथिल्लो डुम्रे, आर्यभन्ज्याङ, पिपलडाँडा, सेरालगायतका स्थानमा सडक बिग्रिएका छन्। स्थानीय सरकारको लगानीमा सिद्धार्थ राजमार्गको माथिल्लो भेग भएर खनिएको सडकका कारण राजमार्गमा पहिरो खस्ने र सडकमा ठुलो क्षति पुग्ने गरेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ।
स्थानीय तहले बिनाअध्ययन मनपरी ढङ्गले सडकमाथिबाट खनेको ग्रामीण सडकबाट खसेको पहिरो, भेल, गेग्य्र्रान तथा बाढीका कारण राजमार्ग बिग्रिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख पवित्रमणि निरौलाले बताउनुभयो। उहाँले भन्नुभयो, “स्थानीय तहले जथाभाबी खनेको सडकले सिद्धार्थ राजमार्गका धेरै स्थानमा ठुलो क्षति भएको छ, त्यसको मर्मत सुधारमा करोडौँ खर्च लाग्छ।”
जथाभाबी खनेको सडकका कारण पहिरोले सडक जाम हुँदा सेवाग्राहीबाट सडक डिभिजन कार्यालयलाई गुनासो आउने गरेको उहाँले बताउनुभयो। रुपन्देहीको चिडिया खोलादेखि पाल्पाको राम्दीसम्म सिद्धार्थ राजमार्ग ७० किलोमिटर पर्छ। त्यसमध्ये अधिकांश स्थानमा स्थानीय तहले जथाभाबी खनेका सडकका कारण राजमार्ग ध्वस्त बनेको छ। सिद्धार्थ राजमार्गले तिनाउ गाउँपालिका, तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, माथागढी गाउँपालिका र रम्भा गाउँपालिकाको भूभागले छुने गरेको छ। जिल्लाको मुख्य राजमार्ग मात्र होइन, यहाँका सहायक राजमार्गका रूपमा रहेका तानसेन–हार्थोक सडक, बाँसटारी–झडेवा सडक, आर्यभन्ज्याङ–रामपुर सडकको अवस्था पनि उस्तै छ। सहायक राजमार्गलाई छोएर स्थानीय तहहरूले जथाभाबी खोलेका सडकका ट्र्याकका कारण पुराना सडकको अवस्था नाजुक बन्दै गएको छ। अधिकांश स्थानीय तहले सहायक मार्गलाई छोएर बनाएका ग्रामीण सडकले कालोपत्रे सडकसमेत बिग्रिएर वर्षामा हिलाम्मे बनेको छ।
तत्कालीन जिविसले बनाएका सहायक मार्गहरू छोएर स्थानीय तहले बनाएका सडकका कारण अधिकांश स्थानका कालोपत्रे उप्किएको छ। ग्रामीण सडकबाट बगेको पहिरो, गेग्रेटो, हिलो र धुलोका कारण नाली पुरिएको छ भने सडकमा खाल्टाखुल्टी परेको छ। स्थानीय तहहरूले जथाभाबी खनेका बाटोका कारण राजमार्ग र सहायक मार्गहरू कच्ची सडक जस्तै बनेको सडक पूर्वाधार कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ताले बताउनुभयो। स्थानीय तहले डोजर लगाएर बनाएका सडकले समस्या मात्र निम्त्याएको उहाँले बताउनुभयो।
स्थानीय तहका जनप्रतिनिधिले भने जनताका आवश्यकता र मागका आधारमा ग्रामीण सडक बनाउन आफूहरू बाध्य भएको बताएका छन्। ग्रामीण क्षेत्रका बासिन्दालाई प्राथमिकता दिएर सडक बनाउँदा राजमार्ग र सहायक मार्गका केही स्थानमा क्षति पुगेको माथागढी–१ का वडाध्यक्ष राजकुमार पन्थीले बताउनुभयो। उहाँले भन्नुभयो, “दुर्गम बस्तीको माग अनुसार हामीले सडक निर्माणको काम गरे पनि सडक खन्दा कालोपत्रे सडक बिगार्ने हाम्रो नियत होइन।”