• ११ असोज २०८१, शुक्रबार

दुई करोड लगानीमा बनेको संरचना बेवारिसे

blog

धनगढी समाचारदाता

धनगढी, साउन २९ गते । धनगढी उपमहानगरपालिका–८ स्थित तौलाहा ताल परिसरमा दुई करोड ३४ लाख ८५ हजार रुपियाँ लगानीमा बनाइएको संरचना बेवारिसे बनेको छ। तालको संरक्षण, सौन्दर्यीकरण र पर्यटन विकास गर्ने उद्देश्यका साथ उपमहानगरपालिकाले सो संरचना बनाएको हो।

तर, बनेको संरचना बेवारिसे भएको छ। ठुलो लगानीमा बनेको संरचनाको रेखदेख हुन नसक्दा तोडफोड हुन थालेको छ। गेटका पर्खाल, बस्ने ठाउँलगायत तोडफोड गरिएको छ। ताल वरिपरि लगाइएको टायल भासिन थालेको छ।

प्रवेश शुल्क (टिकट) लिनका लागि बनाइएको घरमा अनैतिक गतिविधि हुने गरेको स्थानीयको भनाइ छ। बेलैमा प्रयोग र रेखदेख नगर्दा यस्तो अवस्था आएको स्थानीय गयाप्रसाद कुस्मीले बताउनुभयो। उहाँले पर्खाल घेरेर ताल संरक्षणका लागि बनाइएको संरचनामा यौन क्रियाकलाप हुने गरेको उल्लेख गर्नुभयो। “टिकट घर, शौचालय खुला राख्दा राति केटाकेटीका लागि अनैतिक क्रियाकलाप गर्ने थलो बन्दै छ,” उहाँले भन्नुभयो, “टिकट घरभित्र महिलाले लगाउने कपडा पनि छोडिएका छन्।” नगरपालिकाले तुरुन्त चौकीदार वा सुरक्षाकर्मी खटाएर रेखदेख गर्नुपर्ने सुझाव उहाँको छ। 

बेवारिसे अवस्थाको तालको संरक्षण तथा पर्यटन गतिविधि सञ्चालनका लागि बनेको संरचना नै बेवारिसे हुनु राम्रो नभएको अधिवक्ता देवीलाल चौधरीले बताउनुभयो। तालको सौन्दर्यीकरण गरेर पर्यटन गतिविधि सञ्चालनका लागि निजी क्षेत्रलाई दिने धनगढी उपमहानगरपालिकाको तयारी छ।

 निर्माण कम्पनीले उपमहानगरपालिकालाई संरचना हस्तान्तरण नगरेकाले व्यावसायिक प्रयोजनका लागि तौलाहा ताल प्रयोगमा नआएको वडा नम्बर ८ का वडाध्यक्ष जुगराम चौधरीले बताउनुभयो। तर, बनेका संरचना तोडफोड भइरहेका कारण त्यसको संरक्षणका लागि आफूले पत्राचार गरिसकेको उहाँले उल्लेख गर्नुभयो। 

२०७६ साल असार १६ गते संरचना निर्माणका लागि ठेक्का भएको थियो। २०७९ साल चैत २० गतेसम्म निर्माण अवधि रहे पनि स्थानीयको विरोधका कारण काम रोकिएको हो। सहमतिपछि गएको वैशाखमा मात्रै निर्माण कार्य सम्पन्न गरिएको छ।