• १४ मंसिर २०८१, शुक्रबार

सर्वपक्षीय बैठकको निर्णय : सडकमा रहेका सालिक एक महिनाभित्र व्यवस्थापन

blog

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठक । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी
कास्की, साउन २८ गते ।
पोखरा महानगरपालिकाभित्र सडकमा रहेका सबै सालिकको व्यवस्थापन गरिने भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सडकमा रहेका सालिकहरू महानगरमा क्रियाशील राजनीतिक दल, सरकारी निकाय तथा सरोकारवाला सङ्घसंस्थाहरुसँग आवश्यक समन्वय गरी एक महिनाभित्र स्थानान्तरण व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयमा भनिएको छ, ‘‘पोखरा महानगरपालिका भित्र सडकमा रहेका सबै सालिकको सम्बन्धमा महानगरमा क्रियाशील राजनीतिक दल, सरकारी निकाय तथा सरोकारवाला सङ्घसंस्थाहरुसँग आवश्यक समन्वय गरी एक महिनाभित्र स्थानान्तरण, व्यवस्थापन गर्ने निर्णय गरियो ।’’

निर्णय अनुसार एक महिना भित्र सडकमा रहेका सबै सालिकको व्यवस्थापन गरिनेछ । साथै बैठकले साबिकको पृथ्वीचोक हालको लखनचोकमा नेपालमा प्रथम सहिद लखन थापाको सालिक अगाडि राखिएको राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको तस्बिरलाई हटाई पोखरा महानगरपालिकामा सुरक्षित साथ राख्ने निर्णय समेत गरेको छ ।

पोखरा महानगरपालिकाले पोखराका चोकहरूमा रहेका सालिकको व्यवस्थापन पोखरा १८ स्थित विभूति पार्कमा गर्दै आएको छ ।

पोखराका चोकहरूमा रहेका सालिकहरूको ससम्मान व्यवस्थापन गर्ने सम्बन्धमा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताउनुभयो । कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले राष्ट्रिय विभूतिहरूको सालिक सडकमा राख्नुभन्दा पनि व्यवस्थित ढङ्गले महानगरले व्यवस्था गरेको स्थानमा राख्नु नै उपयुक्त हुने बताउनुभयो ।

राष्ट्रले मानेका व्यक्तिहरूको सम्मान गर्नु नागरिकको दायित्व हुने भएकाले ती सम्मानित व्यक्तिहरूको सालिक व्यवस्थापनको विषयलाई स्वार्थसँग जोड्न नहुने उहाँको भनाइ छ ।

बैठकमा सहभागी दलका प्रमुख तथा प्रतिनिधिहरूले सडकमा रहेका सालिकहरूको उचित व्यवस्थापनमा मतैक्य प्रकट गरेका छन् । सडकको बीचमा सालिक राख्दैमा उनीहरूको योगदानको सम्मान नहुने भन्दै एकीकृत रूपमा सबै सम्मानित व्यक्तिहरूको प्रतिमा व्यवस्थापनमा दलहरूले जोड दिए ।