• ११ मंसिर २०८१, मङ्गलबार

पुन माथि खुकुरी प्रहार गर्ने छ जना पक्राउ

blog

खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका अभियुक्तहरू । तस्बिर: लीलाधर वली

लीलाधर वली

घोराही, साउन २६ गते ।  दाङको घोराहीमा धारिलो हतियार प्रहार गरि फरार रहेका ६ जनालाई प्रहरीले १४ दिनपछि पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१८ शङ्खे पिपल नजिक साउनको १० गते राती १२ बजे अपरिचित व्यक्तिको खुकुरी प्रहार गर्दा घोराही उपमहानगरपालिका–१३ लाहुरे डाँडा बस्ने १८ वर्षीय तीर्थबहादुर पुन गम्भीर घाइते हुनु भएको थियो । 

खुकुरी प्रहारबाट टाउको, अनुहार र बायाँ हातको कान्छी औँला बाहेक सबै औँला काटिएको अवस्थामा प्रहरीले तीर्थलाई उद्धार गरेर घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेको थियो । प्रतिष्ठानमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भोली पल्ट साउनको ११ गते मेडिकल कलेज भैरहवामा रिफर गरिएको थियो । अहिले पनि उनको भैरहवा मेडिकल कलेजमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । 

घट्नापछि फरार रहेका अभियुक्तहरूलाई प्रहरीले १४ दिनपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ । प्रहरी नायव उपरीक्षक गौतमले भन्नुभयो,‘अज्ञात समूहको खुकुरी प्रहारपछि घाइते भएको सूचना प्राप्त गरेपछि प्रहरी अभियुक्तको खोजीमा लागेको थियो । तर पहिचान खुल्न सकेको थिएनन् । अनुसन्धानका क्रममा साउनको २४ गते पहिचान खुल्न आएपछि घट्नामा संलग्नलाई पक्राउ गर्न सफल भएका हौ ।’ 

पक्राउ परेका अभियुक्तहरूलाई प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको अनुसन्धानलाई अघि बढाएको छ । अनुसन्धानका लागि दाङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप दिएको प्रहरीले जानकारी दिएको छ । 

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१८ निवासी १७ वर्षीय नाम परिवर्तित नाम थर घोराही ३३ (क), घोराही उपमहानगरपालिका–१४ गणेश मन्दिर टोल निवासी १६ वर्षीय नाम परिवर्तित घोराही ३३ (ख), बंगलाचुली गाउँपालिका–४ जुम्लेपानी घर भई हाल घोराही उपमहानगरपालिका–१८ बस्ने २० वर्षीय देवेन्द्र कँवर मगर, सोही वडाको भंगीटोल बस्ने १७ वर्षीय नाम परिवर्तित ३३(ग) , घोराही उपमहानगरपालिका–१९ सैघा घर भई हाल घोराही–१८ बस्ने १७ वर्षीय नाम परिवर्तित घोराही ३३ (घ) र सोही वडाको मसिना बस्ने १५ वर्षीय नाम परिवर्तित घोराही ३३ .(ङ) रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी राजनकुमार गौतमले जानकारी दिनुभएको छ । प्रहरी घट्नामा प्रयोग भएको एक थान खुकुरीसमेत बरामद गरेको छ । व्यक्तिगत रिसिवीका कारण खुकुरी प्रहार भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।