धनगढी समाचारदाता
धनगढी, साउन २६ गते । कैलालीको कठरिया थारू समुदायका व्यक्ति आफ्नो पुरानो संस्कृति संरक्षणमा जुटेका छन्। समुदायबाट हराउँदै गएको सावनियाँ डोला खेल्ने संस्कार जोगाउन जुटेका हुन्।
लोपोन्मुख अवस्थामा पुगेको सावनियाँ डोला पछिल्लो समय कठरिया गाउँमा देखिन थालेको कठरिया समाज नेपालका महासचिव सुवेश कठरियाले बताउनुभयो। “पहिले प्रायः सबै गाउँमा सावनियाँ डोला हुन्थ्यो,” उहाँले भन्नुभयो, “बिचमा लोप हुने अवस्थामा पुगेपछि युवा क्लबदेखि गाउँका भद्रभलाद्मी यसलाई जोगाउनका लागि जुर्मुराएका छन्।”कठरिया समुदायको पचैँया पर्वको अवसरमा सावनियाँ डोला खेल्ने गरिन्छ।
तीज पर्वको अवसरमा राना थारू समुदायले सामनकी डोला खेले जस्तै कठरिया थारू समुदायले सावनियाँ डोला खेल्ने गर्दछन्। साउन महिनामा खेल्ने गरेकाले सावनियाँ डोला भन्ने गरिएको महासचिव कठरियाले बताउनुभयो। कैलालीको विभिन्न गाउँमा बसोबास रहेको कठरिया थारू समुदाय कला, संस्कृतिको धनि समुदाय हो।
कलात्मक चित्रसहित घरको भित्ता रङ्गीचङ्गी, चिटिक्क राख्ने यो समुदायको मौलिक संस्कृति पछिल्लो समय लोप हुने खतरा बढ्दै गएको छ। आफ्नो छुट्टै कलासंस्कृति र पहिचान रहेको कठरिया थारू चौधरी वा डङ्गौरा थारूको संस्कृति, संस्कारप्रति प्रभावित हुँदै गएको देखिन्छ।
कठरिया थारू समुदायको संस्कृति लोप हुने खतरा बढ्दै गएपछि सो समुदायको शिक्षित पुस्ता मौलिक संस्कृति, संस्कार संरक्षणमा जुर्मुराएका हुन्। बर्दगोरिया गाउँपालिका–५, कोइली भुरुवा गाउँका गुरुवा परशुराम कठरियाका अनुसार सावनियाँ डोला दिदीबहिनी र दाजुभाइबिचको सम्बन्धको प्रतीक हो।
पचैँया (नाग पञ्चमीका दिन मनाइने पर्व) का अवसरमा दिदीबहिनीहरूले आफ्नो दाजुभाइको दीर्घायुको कामनाका लागि व्रत बस्ने गर्दछन्। सोही कारण दाजुभाइले आफ्ना दिदीबहिनीहरूका लागि सावनियाँ डोला बनाउने गरेको उहाँले बताउनुभयो।
“दाजुभाइले दिदीबहिनीका लागि डोला अर्थात् पिङ हालेर त्यसमा रमाइलो गराउने गर्दछन्,” गुरुवा कठरियाले भन्नुभयो, “अर्को अर्थमा यो दाजुभाइ तथा दिदीबहिनीको मायाप्रेम तथा स्नेहको पर्व पनि हो।”
“दिदीबहिनीले दाजुभाइको सु–स्वास्थ्य तथा दीर्घ जीवनको कामना गर्दै पचैँयामा व्रत बस्ने गरेकाले पचैँया आउनुभन्दा एक पाख अर्थात् आधा महिना अगाडिबाट नै सावनियाँ डोला बनाएर दिदीबहिनीलाई रमाइलो गराउने चलन रहेको छ।