घोराही समाचारदाता
घोराही, साउन २६ गते । घोराहीको धारापानीस्थित प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव मन्दिरमा गङ्गा आरती लगाउन थालिएको छ। उक्त आरती हेर्न भक्तजन तथा दर्शनार्थीको बाक्लै भिड लाग्ने गरेको छ।
यस मन्दिरमा बृहत् पुरुषोत्तम माहात्म्य प्रवचन एवं शृङ्गारिक महाआरती बोलबम महोत्सव आयोजना गरिएको छ। साउन महिनामा हुने मलमासको समयमा मात्र सञ्चालन गर्न मिल्ने महामहोत्सव पाण्डवेश्वर महादेव मन्दिरमा पहिलो पटक सञ्चालन भएको हो । साउन २ गतेदेखि मन्दिरमा साँझ नियमित रूपमा शृङ्गारिक गङ्गा आरती, मण्डव पूजा तथा हवन सञ्चालन, पुरुषोत्तम माहात्म्य पाठलगायतका कार्य भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महामहोत्सव मूल व्यवस्थापन समितिका संयोजक गणेशकुमार अधिकारीले बताउनुभयो।
उहाँले भन्नुभयो, “साउन २ गतेदेखि नियमित यो कार्यक्रम सञ्चालन भएको छ । भक्तजनको उल्लेख्य सहभागिता हुने गरेको छ।” बजारदेखि टाढा र रातिको समयमा सञ्चालन हुने भएकाले महामहोत्सवमा भक्तजन तथा दर्शनार्थीको उत्साहजनक सहभागिता भइरहेको उहाँले बताउनुभयो। साउनको ३१ गतेसम्म सञ्चालन हुने पुरुषोत्तम माहात्म्य एवं शृङ्गारिक आरती बोलबम महामहोत्सवमा दैनिक तीन हजार भक्तजन आरतीमा सहभागी हुने गरेको अध्यक्ष अधिकारीले जानकारी दिनुभएको छ।
महामहोत्सवमा अन्तर्राष्ट्रिय स्वर्ण पदकले विभूषित पण्डित अमृतशरण देवाचार्यले पुरुषोत्तम माहात्म्य प्रवचन कथा वाचन गर्दै आउनुभएको छ। प्रत्येक दिन बेलुकी वैदिक शृङ्गारिक गङ्गा आरतीका लागि भारतको प्रसिद्ध धार्मिकस्थल हरिद्वारबाट दुई जना र वनारसबाट एक जना गरेर तीन जना पण्डित आउनुभएको छ। महामहोत्सवका अवसरमा हरेक दिन साँझ मण्डव पूजा तथा हवन सञ्चालन, पुरुषोत्तम माहात्म्य पाठ पारायण, सङ्गीतमय लीलामय पुरुषोत्तम माहात्म्य प्रवचन, पुरुषोत्तम एवं बोलबम महाआरती र सङ्गीतमय लीलामय प्रवचन तथा भजन सञ्चालन भइरहेको छ ।
यस मन्दिर परिसरमा अग्लो (उचाइ ५५.५ फिट, गोलाइ ४४ इन्च ) त्रिशूल छ । मन्दिरमा त्रिशूल राखेसँगै यसको गरिमा र प्रचार थप प्रभावकारी बन्दै आएको छ । जिल्लाको धार्मिक पर्यटकीय स्थलमध्येको एक महत्वपूर्ण मन्दिर हो ।