• १६ चैत २०८०, शुक्रबार

पोखराका अस्पतालमा आँखाको निःशुल्क उपचार

blog

फाइल तस्बिर

सन्तोष सुवेदी

कास्की, साउन २५ गते । पोखरा महानगरका तीन अस्पतालमा आँखा पाक्ने रोगको उपचार सित्तैँमा हुनेभएको छ । महानगरका प्रमुख धनराज आचार्यको सक्रियतामा हिमालय आँखा अस्पताल, मनिपाल शिक्षण अस्पताल र चरक मेमोरियल अस्पतालमा आँखा पाक्ने रोगको टिकटदेखि जाँच र औषधि सित्तैँमा हुने प्रबन्ध भएको हो ।

महानगरका मेयर आचार्य, मणिपाल शिक्षण अस्पतालका निर्देशक नारायण पौडेल र चरक मेमोरियल हस्पिटलका निर्देशक कपिल पोखरेल र हिमालय आँखा अस्पतालका मेडिकल डाइरेक्टर प्राडा. इलिया श्रेष्ठबीच समझदारी भएको हो । बुधबारदेखि साउन मसान्तसम्म यो सुविधा उपलब्ध हुनेछ । बिरामीलाई बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेवा प्रदान गरिने अस्पतालले जनाएका छन् ।

महानगरको आग्रहमा हिमालयन आँखा अस्पतालले सेवाका लागि टिकट निःशुल्क दिने भएको छ । अस्पतालकी मेडिकल डाइरेक्टर प्राडा. इलिया श्रेष्ठले ओपिडी टिकटको शुल्क नलाग्ने अरु सेवाको भने शुल्क तिर्नुपर्ने जानकारी दिनुभयो । आँखा अस्पतालमा बुधबार १ हजार १ सय ९० बिरामी उपचारका लागि आएकोमा १ सय ९० जनामा यो समस्या देखिएको उहाँले बताउनुभयो ।

सङ्क्रमण चक्रलाई रोक्ने उद्देश्यले निःशुल्क आँखा परीक्षण तथा औषधि वितरणसम्बन्धी समझदारी गरिएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताउनुभयो ।