• १३ साउन २०८१, आइतबार

जैविक विषादी नल्याएको आरोप

blog

अमरगढी समाचारदाता

डडेलधुरा, साउन २५ गते । अमरगढी नगरपालिकाबाट अनुदान रकम लिएर पनि स्वस्तिक हाइटेक एन्ड बायोटेक एग्रो फार्मले ‘जैविक विषादी उत्पादन गर्ने प्लान्ट’ सञ्चालनमा ल्याएको छैन। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि ज्ञान केन्द्रबाट अनुदान रकम लिएर पनि प्राविधिक कारण देखाउँदै एग्रो फार्मले प्लान्ट सञ्चालनमा ल्याएको छैन। 

मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जैविक विषादी उत्पादन गर्ने प्लान्ट स्थापना गर्न स्वस्तिक हाइटेक एन्ड बायोटेक एग्रो फार्मकी प्रबन्धक सिर्जना जोशीले २५ लाख रुपियाँ अनुदान लिनुभएको थियो। उहाँ नागरिक समाज डडेलधुराका अध्यक्ष रमेश जोशीका श्रीमती हुनुहुन्छ। 

उहाँले ५० लाखभन्दा बढीको जैविक विषादी उत्पादन गर्ने प्लान्ट देखाउनुभयो। उक्त रकम पनि उहाँले एकै किस्तामा लिएको बताइएको छ तर यो विषादी उत्पादन गर्ने प्लान्ट सञ्चालनमा नआउँदै विवादमा आएको छ।

सो विवाद प्रदेशको सार्वजनिक लेखा समितिसम्मै पुगेको थियो। तत्कालीन लेखा समिति संयोजक कुमारीनन्दा बमको नेतृत्वका टोलीले एग्रो फार्मको स्थलगत अनुगमन गरेको थियो। खरिद गरिएका कतिपय सामग्री फार्ममा नभएको, भएका सामग्री बिक्री गर्न सो रुममा प्याकिङ गरेर राखेको र बिलमा समेत अनियमितता गरेको पाइएको थियो। 

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका लागि जैविक विषादी उत्पादन गर्ने र अमरगढी नगरपालिका–७ मा प्लान्ट स्थापना गर्ने जनाइएको छ। अनुदानस्वरूप पाएको चार वर्ष हुँदासम्म अमरगढी नगरपालिका–५ को बागबजारमा एउटा कोठामा सामग्री थन्क्याइएका छन्। महालेखा परीक्षकको कार्यालयले यसलाई सैद्धान्तिक बेरुजुका रूपमा राखेको छ। 

अब छिट्टै सञ्चालनमा ल्याउँछौँ : जोशी

एग्रो फार्मका सञ्चालक जोशी भने लेखा समितिको प्रतिवेदन स्वीकार गर्न तयार हुनुहुन्न। लेखा समितिको टोलीले स्थलगत अनुगमन गर्दा जैविक विषादी उत्पादन गर्ने प्लान्ट सञ्चालनमै रहेको उहाँको दाबी छ।

“बिलमा अनियमितता हामीलाई थाहा छैन किनकि जत्तिको सामन हो त्यत्तिको बिल भुक्तानीका लागि दिएका सक्कली बिल नै अफिसमा छ । त्यो रिपोर्ट लिँदा पनि हुन्छ,” उहाँले भन्नुभयो, “भुक्तानी लिँदा पनि दुई चरणमा लिने नियम रहेछ। असारको सुरुमा सम्झौता भएको र अन्त्यमा सञ्चालन गरिसक्नुपर्ने भनेर निर्देशन थियो।” 

उहाँका अनुसार सञ्चालक श्रीमती सिर्जनाले ल्याब सञ्चालन गर्ने गरेको र उहाँ फागुनदेखि बिरामी परेकाले काममा आउन नसकेको हो। एउटा प्राविधिक राखेर असोजसम्म सञ्चालनमा ल्याउने तयारीमा रहेको उहाँले बताउनुभयो। 

कृषि ज्ञान केन्द्रले पटक पटक ल्याब सञ्चालन गर्न पत्राचार गरिरहेको कार्यालय प्रमुख रामचन्द्र भट्टले जानकारी दिनुभयो। उहाँले अब असोजसम्ममा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी पनि दिनुभयो।