घोडाघोडी समाचारदाता
घोडाघोडी (कैलाली), साउन २५ गते । कैलालीका अधिकांश सामुदायिक वनमा अवैध रूपमा संरचना निर्माण बढ्दै गएको छ। सम्बन्धित सामुदायिक वनले आफ्नो वनको प्रयोजनका लागि बाहेक अन्य संरचना निर्माण गर्न नपाउने कानुनी प्रावधान भए पनि विभिन्न सङ्घ संस्थालगायत सरकारी कार्यालय, वडा कार्यालयसमेत सामुदायिक वनको जग्गा अतिक्रमण गरी बनाइएको पाइएको छ।
घोडाघोडी नगरपालिका–२ मा रहेको मोहन्याल सामुदायिक वनमा अहिले दुई वटा भवन निर्माणको अवस्थामा छन्। एउटा भवन दलित सङ्गठन नगर समिति र अर्को अपाङ्ग सङ्घ नगर समितिले निर्माण गर्न थालेको हो।
सामुदायिक वनका अध्यक्ष तेजराम चौधरीले सामुदायिक वनकै कार्यालय र हल निर्माण गर्ने निर्णय भए पनि अरू कार्यालयको भवन बनाउने निर्णय नभएको बताउनुहुन्छ। उपभोक्ताकै सङ्घ संस्था भएकाले सामुदायिक वनको प्रयोजन देखाइए पनि भवन बन्न थालेको एक उपभोक्ताले बताउनुभयो।
त्यसै गरी घोडाघोडी सामुदायिक वनमा आधारभूत स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ। त्यसनजिक यो वर्ष मजदुर सङ्गठनको पक्की भवन निर्माण भएको छ। यी त एक दुई वटा सामुदायिक वनका नमुना मात्र हुन्।
कैलालीमा पहलमानपुर डिभिजन वन कार्यालय अन्तर्गत रहेका ३१३ सामुदायिक वनमध्ये राजमार्गसँग जोडिएका, बजार क्षेत्रनजिक रहेका वन क्षेत्रमा सामुदायिक वनका भवनबाहेक सरकारी भवन तथा विभिन्न गैरसरकारी सङ्घ संस्थाका भवन बन्ने क्रम बढ्दै गएको देखिन्छ।
साँडेपानी सबडिभिजन वन कार्यालयका प्रमुख गौचरण चौधरीले सामुदायिक वनका लागि भवन निर्माण गर्ने निर्णय भए पनि सङ्घ संस्थाको नाममा भवन निर्माण कार्यबारे जानकारी नहुने गरेको बताउनुभयो। २०७४ सालको स्थानीय चुनावपछि धेरै नगरपालिका तथा वडा कार्यालय भवनसमेत सामुदायिक वनको जग्गामा बनेको देखिन्छ। डिभिजन वन कार्यालय पहलमानपुरका वन अधिकृत सुरेन्द्र कठायतले सामुदायिक वन उपभोक्ता समितिबाहेक कुनै पनि संरचना बनाउन नमिल्ने बताउनुभयो।
उहाँले सामुदायिक वनलाई सामुदायिक वनको जग्गामा बनेका संरचनाका बारेमा तथ्याङ्क पठाउन पत्राचार गरिएको समेत जानकारी दिनुभयो। डिभिजन वन कार्यालय कैलालीका डिभिजन प्रमु्ख केशव पराजुली पछिल्लो समय संस्थागत संरचना निर्माणले सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण बढ्दै गएको बताउनुहुन्छ।
कानुनी रूपमा संरचना निर्माण गर्न नपाउने भएपछि सरकारी भवन तथा अन्य सङ्घ संस्थाका भवन निर्माण सामुदायिक वन उपभोक्ता समितिकै प्रयोजनका लागि भनेर निर्णय गराएर बनाइने गरेको पाइएको छ।