सुदूरपश्चिम प्रदेश ब्युरो
कैलाली, साउन २५ गते । केही दिनदेखि लगातार परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको जनजीवन अस्तव्यस्त तथा यातायात सेवा अवरुद्ध बनेको छ। बाढीपहिरोले कैलाली र डडेलधुरामा बढी नै क्षति भएको जनाइएको छ ।
तराई पहाड जोड्ने भीमदत्त राजमार्ग पहिरोले अवरुद्ध हुँदा तराईका कैलाली र कञ्चनपुरसँगको पहाडी क्षेत्रका सात वटा जिल्लाको यातायात सम्पर्क विच्छेद भएको छ। कैलालीमा बाढी तथा डुबान र डडेलधुरामा पहिरो र बाढीले क्षति पु-याएको छ ।
धनगढी समाचारदाताका अनुसार डुबानका कारण करिब दुई सय परिवार विस्थापित भएका छन्। विभिन्न नदीमा आएको बाढीका कारण घरबस्ती डुबानमा परेपछि प्रभावितलाई सुरक्षित स्थानमा सारिएको छ । तीन दिनदेखिको लगातारको वर्षाका कारण कैलाली जिल्लाको दक्षिण क्षेत्र जलमग्न बनेको छ ।
स्थानीय मोहना, कान्द्रा, काँढा, खुटिया, पथरैयालगायतका नदीमा पानीको बहाव बढेको छ। बाढीका कारण भजनी नगरपालिकासहित दक्षिणी क्षेत्रका करिब २०० देखि २५० परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
विस्थापितलाई हुलाकी राजमार्ग, विद्यालय र सुरक्षित भवनमा राखिएको प्रतिनिधि सभा सदस्य एवं भजनी नगरपालिका–२, मोहनपुरवासी गङ्गाराम चौधरीले बताउनुभयो। उहाँका अनुसार बाढी र डुबानका कारण विस्थापित हुनेको सङ्ख्या बढ्ने देखिन्छ । भजनी नगरपालिकाको नौ वटै वडामा डुबान भए पनि वडा नम्बर २, ३, ५, ७ र ८ पूरै जलमग्न रहेको जनाइएको छ ।
नगर क्षेत्र पूरै जलमग्न भएको भजनी नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का वडाध्यक्ष विक्रम चौधरीले जानकारी दिनुभयो। विस्थापित भएर चौपायासहित हुलाकी सडकमा पुगेका त्रिपालमुनि बसिरहेको जनाइएको छ ।
बाढी प्रभावितलाई वडा कार्यालयमार्फत विभिन्न खाद्य सामग्रीसहित पानी उपलब्ध गराउने कार्य भइरहेको छ। वडाबाटै त्रिपाल दिने कार्य पनि भइरहेको सूचना अधिकारी जोशीले जानकारी दिनुभयो । जोशीपुर गाउँपालिकाको केही भू–भाग र टीकापुर नगरपालिका–७ डुबानमा परेकोे छ ।
राजमार्ग खुलाउन निर्देशन
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहिरोका कारण अवरुद्ध भीमदत्त राजमार्ग छिटो सञ्चालन गर्न निर्देशन दिनुभएको छ। गोदावरी नगरपालिका–४ स्थित भावर क्षेत्र बुढीतोलामा खसेको पहिरोको स्थलगत अवलोकन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो। “माथि खसेको पहिरो पन्छाएर राजमार्ग खुलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छु,” उहाँले भन्नुभयो, वर्षाका कारण ठुलो पहिरो गएकाले राजमार्ग अवरुद्ध भएको हो। पहिरोका कारण राजमार्ग चर्किनुका साथै भासिएको छ।
पहिरोले राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्लाको यातायात ठप्प भएको छ। पहाडबाट तराई झर्ने सवारीसाधनसहित यात्रु बाटोमै अलपत्र परेका छन्। पहिरो पन्छाउने कार्य जारी छ। बिचल्लीमा परेका यात्रुको उद्धार गर्ने कार्य पनि जारी छ।
त्यस्तै बिरामी तथा वृद्धवृद्धालाई भने नेपाली सेनाको उद्धार टोलीले स्ट्रेचर र पिठिउँमा बोकेर पहिरो पार गराएको छ। मुख्यमन्त्री शाहले सोही वडामै रहेको गोदावरी धाममा भएको क्षतिको पनि अवलोकन गर्नुभएको छ। उहाँसँगै आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट र भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर देउवाले राजमार्ग अवलोकन गर्नुभएको छ।
बनेन प्रदेश विपत् प्रतिकार्य योजना
बाढीपहिरो तथा डुबानको समस्या बढे पनि सुदूरपश्चिम प्रदेशमा विपत् प्रतिकार्य योजना अझै बनेको छैन। प्राकृतिक विपत्बाट प्रदेशको विभिन्न जिल्ला आक्रान्त बनेको बेला सुदूरपश्चिम प्रदेश विपत् प्रतिकार्य योजनाविहीन छ।
मनसुन सव्रिmय भएका बेला प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण तथा खोज, उद्धारलाई प्रभावकारी बनाउन विपत् प्रतिकार्य योजना बनाई लागु गर्ने गरिएको छ तर जिल्ला र स्थानीय तहले विपत् प्रतिकार्य योजना तयार पारे पनि प्रदेश प्रतिकार्य योजना भने बनेको छैन। विपत् प्रतिकार्य योजनाको ड्राफ्ट तयार पारिए पनि त्यसलाई अनुमोदन गर्न बाँकी रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपत् व्यवस्थापन शाखाका अधिकृत जनक धामीले बताउनुभयो। गत वर्ष विपत् प्रतिकार्य योजना रहेको उल्लेख गर्नुहुँदै उहाँले त्यसमा आवश्यकतानुसार थपघट गरेर अनुमोदन गरिने उल्लेख गर्नुभयो। प्रदेशमा प्राकृतिक विपत् व्यवस्थापनको जिम्मा आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई रहेको छ।
लगातार वर्षाका कारण प्रदेशको विभिन्न जिल्लामा बाढीपहिरोको समस्या छ तर विपत् प्रतिकार्य योजना नबनेकाले प्राकृतिक प्रकोपबाट प्रदेशमा के कति मानिस प्रभावित भए भन्ने यकिन हुन सकेको छैन।
प्राकृतिक विपत्मा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रदेश विपत् व्यवस्थापन तथा राहत निर्देशिका–२०७६ (पहिलो संशोधन) अनुसार मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख र एकै परिवारका दुई वा दुईभन्दा बढी व्यक्तिको मृत्यु भएमा थप एक लाख रुपियाँ राहत उपलब्ध गराउने व्यवस्था गरिएको छ।
भित्री मधेसमा बाढीको वितण्डा
अमरगढी समाचारदाताका अनुसार गएराति परेको भारी वर्षाले भित्री मधेशको जोगबुडा–आलीताल क्षेत्रमा सडक, तटबन्ध र बस्तीमा क्षति पु-याएको छ। बाढीपहिरोले भित्री मधेश क्षेत्रका दुई वटा स्थानीय तह परशुराम नगरपालिका र आलीताल गाउँपालिकाका विभिन्न क्षेत्रमा क्षति पुगेको छ।
सुन खोलाले आलीतालको गोदाम–बाहिरीसैन जोड्ने पक्की मोटरेबल पुलमा क्षति गरेको छ। मोटरेबल पुलको किनारमा भ्वाङ पारेपछि यातायात अवरुद्ध भएको छ।
बुडर–जोगबुडा सडकखण्डको सुन खोलामा पनि पहिरो खस्दा सडक अवरुद्ध भएको छ। यस जिल्लाकै आधा जनसङ्ख्या रहेको भित्री मधेस क्षेत्र परशुराम नगरपालिका र आलीताल गाउँपालिकाको गाउँबस्तीमा आवतजावत बन्द भएको छ।
त्यसै गरी आलीताल गाउँपालिका–८ कै भङ्ग्रेरी खोलामा पनि सडक अवरुद्ध भएको छ। आलीताल– ४, जालटुडाँमा खोलाले सडक अवरुद्ध गरेको स्थानीयले बताएका हुन्। वर्षाका कारण आलीतालको घुम्ती बजारका केही घर जोखिममा परेका छन्।
आलीताल गाउँपालिका–७ मा पर्ने डाइनी गाउँ बाढीपहिरोको उच्च जोखिममा परेको छ। गएरातिको वर्षाले गाउँको छेउबाट बग्ने भालु खोला, कोइराले खोलामा बाढी आउँदा डाइनी गाउँ पहिरोको उच्च जोखिममा रहेको महादेव माविका शिक्षक रमेश बोहराले बताउनुभयो। आलीताल–६ मा गोठ भत्किँदा पशुचौपाया पुरिएका छन्। स्थानीय मोतीराम कुँवरको गोठ भत्किँदा एक हल गोरु, गाई र बाच्छो पुरिएका छन्। परशुराम नगरपालिका–१०, बेल्डाङीका चन्द्रबहादुर बोहरा र ईश्वरी बोहराको घर बाढीपहिरोले जोखिममा पारेको छ।
परशुराम नगरपालिका–९, गाइबाधे बझाङीजाला उदासीपुरमा नाउला खोलाले खेतीयोग्य जमिन कटान गरेको वडाध्यक्ष देवबहादुर बोहराले जानकारी दिनुभयो। साना ठुला पहिरोले परशुराम नगरपालिकाभित्रका ग्रामीण सडक अवरुद्ध भएका छन्।
पुन्तुरा खोलाको बाढीमा फसेका दुई जनाको पाँच घन्टापछि उद्धार गरिएको छ। खोलाको टापुमा फसेका परशुराम नगरपालिक–४ का महेश भाट र तेज भाटलाई राति साढे १२ बजे उद्धार गरिएको थियो। उहाँहरूको उद्धारमा नेपाल प्रहरी, सशस्त्र बल प्रहरी, नेपाली सेना, जनप्रतिनिधि खटिएका थिए।
पहिरोले मुख्य सडक अवरुद्ध
बैतडी समाचारदाताका अनुसार सुदूरपश्चिम प्रदेशको लाइफलाइनका रूपमा रहेको भीमदत्त राजमार्गमा पहिरो खस्दा बुडरस्थित यान्त्रिक कार्यालयका कर्मचारी भने बेखर जस्तै छन्। कैलालीको गोदावरी नगरपालिका–४ स्थित भावर क्षेत्रको खानीडाँडामा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको छ।
सडक अवरुद्ध हुँदा सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेलधुरा, डोटी, बैतडी, दार्चुला, बझाङ, अछाम र बाजुराको यातायात ठप्प छ। सडक सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मी परिचालन गरेको छ। खानीडाँडादेखि गोदावरीको भावरसम्म करिब एक किलोमिटर जति सडक अवरुद्ध भएको छ ।
चिठीपत्रले अलमल : यान्त्रिक कार्यालय
सडक विभागले डोटीको बुडरमा रहेको यान्त्रिक कार्यालयमा १७ जना कर्मचारी खटाए पनि सोमबार कार्यालयमा अधिकांश कर्मचारी नभएको पाइएको छ। अवरुद्ध सडक फेरि सञ्चालन गर्ने विषयमा कार्यालय प्रमुख पञ्चकुमार तितजुलाई सम्पर्क गर्दा उहाँले कार्यालयमा कर्मचारी नभएको बताउनुभयो।
पहिरो पन्छाउन प्रहरी प्रशासनले काम गरिरहेको सुनेको बताउँदै कार्यालय प्रमुख तितजुले कागजी रूपमा बुडरको यान्त्रिक कार्यालय अछाम सरेको दाबी गर्नुभयो। एक वर्षअघि यान्त्रिक कार्यालय बैतडीको अनारखोली जाने भनेर पत्र आएको थियो।
सडक विभागले २०७६ सालको साउन महिनामा बैतडीको अनारखोलीमा रहेको सडक विभागको भवनमा यान्त्रिक कार्यालय स्थापना गर्न बुडरस्थित यान्त्रिक कार्यालयलाई परिपत्र गरेको थियो। सडक विभागले बैतडीको अनारखोलीमा २२ जना कर्मचारी र मेसिन उपकरणसहित यान्त्रिक कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो।