मीना कंडेल
कावासोती, साउन २४ गते । जिल्ला प्रहरी कार्यालय नवलपुरमा ‘सामुदायिक वातावरणीय प्रहरी सेवा’ कार्यक्रम अघि बढाइएको छ । स्वस्थ र सुरक्षित वातावरण सिर्जना गर्ने लक्ष्य सहित वातावरण संरक्षणको क्षेत्रलाई जोड दिँदै नयाँ अवधारणा सहितको कार्यक्रम अघि सारेको हो ।
दीर्घकालीन रूपमा जैविक विविधताको संरक्षण गर्दै बढ्दो वातावरणीय क्षयीकरणलाई रोकी आपराधिक गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो । बढ्दो जनसङ्ख्या वृद्धि, बसाइसराइ, विकास निर्माण, उद्योग कलकारखाना तथा यातायात क्षेत्रबाट वातावरणमा प्रतिकुल गतिविधिका कारण वातावरणमा परिरहेको असर एवम् वातावरण प्रतिकुल क्रियाकलापहरू लाई न्यूनीकरण तथा नियन्त्रण गरी जैविक विविधता संरक्षणमा लाग्नु पर्ने देखिएकाले यस्तो अवधारणअघि सारिएको प्रहरी उपरीक्षक तिवारीले बताउनुभयो ।
वातावरण प्रतिकुल क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउने तथा वातावरण संरक्षण र प्रवर्द्धनका सन्दर्भमा विभिन्न कार्यक्रम अन्तरगत प्रहरी इकाईहरू वातावरण मैत्री बनाउने, प्रहरी कर्मचारीहरूलाई वातावरण मैत्री प्रशिक्षण गर्ने, प्लास्टिक प्रदूषण नियन्त्रण गर्न, वातावरण संरक्षणको लागि स्थानीय तह, सरोकारवाला सङ्घ संस्थाहरू र समुदायसँग समन्वय गरी कार्यक्रमहरू सञ्चालन गर्ने, वातावरण प्रतिकुल गतिविधिमा संग्लनहरुलाई कानुनी दायरामा ल्याउने गरी नयाँ अवधारणा ल्याएको प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो ।
वातावरण तथा जैविक विविधताका सवालहरूको निर्णय प्रक्रियाहरूमा पारदर्शिता र जबाफदेहिता प्रवर्द्धन गर्ने, वातावरणीय समस्याबाट प्रभावित सीमान्त अधिकारका गर्दै सामाजिक वातावरणीय न्यायको प्रवर्द्धन गर्ने लगायतका कार्यहरू गरिने प्रहरी उपरीक्षक तिवारीको भनाइ छ । प्रहरी उपरीक्षक तिवारीले भन्नुभयो, “नकारात्मक वातावरणीय प्रभाव कम गर्दै समग्र सुरक्षा अवस्था सुधारको लागि समेत कार्यक्रमले सहयोग पुग्ने विश्वास छ।”