• ५ जेठ २०८१, शनिबार

थर परिवर्तन गरी नागरिकता लिने १५ वर्षपछि पक्राउ

blog

होमराज रानाभाट

कावासोती साउन २३ गते । नवलपुरमा थर परिवर्तन गरी नेपाली नागरिकता लिएकोमा १५ वर्षपछि एक जना पक्राउ परेका छन् । 

जिल्लाको बुलिगंटार गाउँपालिका वडा नं ५ (साबिक जौबारी गाविस) वडा नम्बर ४ स्थायी घर भएका सार्की थर भएका एक व्यक्तिलाई मगर थर बनाएर नेपाली नागरिकता दिइएको १५ वर्षपछि घटना सार्वजनिक भएको र पीडितले जिल्ला प्रशासन कार्यालयमा जाहेरी दिएपछि प्रहरीले एक जनालाई पक्राउ गरी छानबिन थालेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

साबिक जौबारी गाविस-४ का दिलबहादुर सार्कीका छोरा मनबहादुर सार्कीले नक्कली बाबु खडा गरी सर्जमीन गराउने भन्दै कावासोती ल्याएर झुक्क्याएर मुक्त बहादुर रानामगरको छोरा भनी तत्कालीन गाविसका सचिवबाट किर्ते सिफारिस लिई २०६५ साल असार २० गते ३६-२-०१०-६१ नम्बरको नेपाली नागरिकताको प्रमाण पत्र लिएको जिल्ला प्रशासनको अभिलेखबाट देखिएको र सो नागरिकता तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी सिग्देलले हस्ताक्षर गरी प्रदान गरेको अभिलेखमा भेटिएको छ । 

सार्की थर भएका निजले सर्जमीन गर्न साक्षी बस्न जौबारीबाट कावासोतीसम्म ल्याउँदा गाविसको किर्ते सिफारिस गराई मगर थरबाट नागरिकता लिएपछि अहिले निजका श्रीमती, छोरा छोरी समेतले मगर थरबाट नेपाली नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

मगर थर कायम गरी मुक्तबहादुर सार्कीकी श्रीमती मन्जु राना मगर ले २०६६ फागुन २६ गते ३६-२०१०-२८५ नम्बरको नागरिकता लिएको सो नागरिकतामा प्रशासकीय अधिकृत वामदेव शर्माले हस्ताक्षर गर्नुभएको, निजकी छोरीले २०७४ असार ७ गते प्रशासकीय अधिकृत कमल प्रसाद आचार्यले हस्ताक्षर गरी ३६-०२७४०-२००५ नम्बरको नेपाली नागरिकता जारी गरेको जिल्ला प्रशासन कार्यालयको अभिलेखबाट देखिएको कार्यालयले जनाएको छ । 

किर्ते थर नै परिवर्तन गरेर नागरिकता दिने र सिफारिस गर्ने र नागरिकता लिने विरुद्ध जिल्ला प्रशासनमा वीरबहादुर राना मगरले ठाडो उजुरी दिएपछि घटना सार्वजनिक भएको र सुरुमा प्रहरीले उजुरी लिन नमाने पनि पछि घटना वास्तविक भएको भन्दै प्रहरीले उजुरी लिएर खडक बहादुर सार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

सार्की थर नै परिवर्तन गरेर जालसाझी तरिकाले मगर थर कायम गरी नागरिकता प्रदान गर्ने जस्ता घृणित कार्यले समाजलाई कस्तो दिशामा अगाडि बढाएको छ भन्ने कुरा अहिले उदागं भएको जौबारीका समाजसेवी मीनबहादुर लामिछाने बताउनुहुन्छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले कानुन बमोजिम कारबाही गर्न प्रहरी तयार रहेको बताउनुभयो । तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले कानुनको दाउरामा ल्याउन र कारबाही थाल्न निर्देशन दिए पनि दुई महिनासम्म प्रहरीले आरोपितलाई पक्राउ नगरेको भन्दै प्रहरीको तीव्र आलोचना भएको थियो । अहिले प्रहरी नै अग्रसर भएपछि सो घटनामा संलग्न जोसुकैलाई पनि कारबाही गर्ने गरी प्रहरीले पक्राउ गर्न अग्रसरता देखाएको आज एक जना पक्राउ परको र बाँकी पनि चाँडै पक्राउ पर्नै जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

झुटो किर्ते थरै परिवर्तन गरी नागरिकता लिनेहरू कोही विदेश पुगिसकेका छन् भने कोही फरार रहेका र खोजतलास जारी राखेको प्रहरीले जनाएको छ ।