फडिन्द्र अधिकारी
लेखनाथ, साउन २३ गते । पोखरा ३२ को लामेआहालका १२ दिनपछि फोहोर उठाइएको छ । स्थायी ल्याडफिल साइट निर्माण नभएसम्म पोखरा महानगरले लामेआहालमा फोहोर फाल्दै आएको थियो तर स्थानीयको विरोधपछि फोहोर फाल्न अवरोध भएको थियो ।
१२ दिनपछि मङ्गलबार बिहान २८ गाडी लामेआहाल फोहोर लिएर गएको पोखरा महानगरकी सरसफाइ महाशाखा प्रमुख कल्पना बरालले जानकारी दिनुभयो । पोखरामा दैनिक एक सय टन जति फोहोर सङ्कलन हुन्छ ।
बिहीबार पोखरा ३२ का रविन केसीसहित ३ जनाले लामेआहालमा फोहोर फाल्न रोक्न माग गर्दै पोखरा महानगरविरुद्ध रिट दायर गरेका छन् । रिटमा उच्चले फोहोर फाल्न रोक्न अन्तरिम आदेश दिनु आवश्यक नहुने आदेश सुनाएको थियो ।
पोखरामा सोमबार रातिबाटै निरन्तर पानी परिरहेको छ । लामोआहाल जाने बाटो हिलाम्ये हुँदा फोहोरका गाडी जान र फोहोरमाथि माटो राख्न कठिनाइ भएको छ । धेरै दिनको फोहोर बाँकी रहेकाले निरन्तर फोहोर उठाइन महाशाखा प्रमुख बराले बताउनुभयो ।
महानगरले पुस दोस्रो साता पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लामेआहालस्थित सेती नदी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको छ । फोहोर व्यवस्थापन उचित तवरले नहुँदा दुर्गन्ध फैलिएको, सडक कच्ची हुँदा हिलो र धुलोले सास्ती दिएको भन्दै स्थानीयले फोहोर फाल्न अवरोध गरेका थिए ।
महानगरका प्रमुख धनराज आचार्यले स्थानीयसँग भएका सम्झौता सबै पूरा हुने प्रतिबद्धता जनाउनुभएको छ । पोखरा ३३ मा महानगरले आधुनिक फोहोर प्रशोधन केन्द्र बनाउँदै छ ।