• १५ मंसिर २०८१, शनिबार

बिक्री भएन सहुलियतको काठ

blog

चितवन समाचारदाता

चितवन, साउन २३ गते । वन डिभिजन कार्यालयमार्फत सहुलियतमा दिँदै आएको चिरान काठ बिक्री नभएर गोदाममा थन्किएको छ । 

उपभोक्ताको माग अत्यधिक आएर पु-याउन मुस्किल हुने गरेकामा गत आर्थिक वर्षमा भने बिक्री नभएर गोदाममा थन्किएको हो । काठ बिक्री नभएर यसरी गोदाममा राख्नु परेको यो पहिलो घटना भएको डिभिजन कार्यालय चितवनका प्रमुख लोकराज नेपालले जानकारी दिनुभयो । अघिल्लो आवमा अत्यधिक मागका कारण वितरण गर्न समस्या भएको थियो । आव २०७९/८० मा आवेदन दिन दुई पटक सूचना निकालिएको थियो । 

गत मङ्सिर महिनामा सूचना प्रकाशित गरी फागुनसम्ममा आवेदन दिएका २५९ जनालाई नै काठ वितरण गरिएको थियो । यस्तै गत आवको वैशाखदेखि असारसम्म आवेदन दिएका २०२ जनालाई फोन गरेर बोलाउँदै काठ वितरण गरिएको वन कार्यालय अन्तर्गत आपूर्ति समितिले जानकारी दिएको छ । विगतको तुलनामा अहिले काठको माग कम भएको र घर बनाउनेको सङ्ख्या कमी भएका कारण आपूर्तिमा समेत त्यसको प्रभाव परेको कार्यालय प्रमुख नेपालले जानकारी दिनुभयो । 

अन्य समयमा माग धेरै हुने भएपछि पुरानो मर्मतका लागि १२ र नयाँ निर्माणका लागि २० क्युफिट चिरान काठ दिने गरिएको थियो । निवेदन कम आएपछि गत मङ्सिरमा मर्मतका लागि १५ र निर्माणका लागि ३० क्युफिट काठ वितरण गरिएको थियो । त्यस्तै पछिल्लो पटक वैशाखमा निकालेको सूचनामा निवेदन कम भएपछि मर्मतका लागि २५ र निर्माणका लागि ५० क्युफिट वितरण गरिएको छ । चिरान काठ प्रतिक्युफिट तीन हजार ७५० र विपत्का लागि एक हजार ७६० रुपियाँ दर लगाइएको छ ।    

बजारमा खरिद गर्नुपर्दा प्रतिक्युफिट छ हजार रुपियाँ पर्ने गरेको छ । सहुलियतमा दिँदासमेत निवेदन नपर्नु भनेको भवन निर्माणको काममा गिरावट आउनु रहेको वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले बताउनुभयो । बिक्री नभएको काठ बिक्री गर्न पुनः भदौमा सूचना निकालेर आवेदन लिने कार्यालयले जानकारी दिएको छ । घरको नक्सा पासको कागजसहित आवश्यक कागजपत्र वन कार्यालयमा बुझाएपछि आपूर्तिबाट सहुलियतका चिरान काठ फर्निचर, निर्माण, झ्यालढोका निर्माणका लागि बिक्री हुँदै आएको छ ।