• ११ मंसिर २०८१, मङ्गलबार

उत्तराखण्ड पहिरो अपडेट : बेपत्ता खोज्न कुकुर परिचालन

blog

महेन्द्रनगर,  साउन  २२ गते । चार दिन अघि भारतको उत्तराखण्ड राज्यमा पर्ने रूद्रप्रयागको गौरीकुण्डमा बेपत्ता भएकाहरुको खोजीकार्य तीव्र पारिएको छ । सो ठाउँमा स्थानमा नेपालीले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको थियो । 

सो क्रममा कालिकोटका तीन पुरुषको शव भारतीय प्रहरीले फेला पारेको थियो । कालिकोटको मान्मका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको शव भेटिएको थियो । 

भारतको राजधानी नयाँदिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले ११ नेपाली अझै हराइरहेको जानकारी दिनुभुयो । “एघार नेपाली नागरिक पहिरोमा बेपत्ता भएको एकिन भएको छ, दुई जनाबारे आशङ्का मात्रै गरिएको छ”, रासससित कुरा गर्दै उहाँले भन्नुभयो–“खोजीकार्यमा आइतबारदेखि भारतीय सुरक्षाकर्मीले तालिमप्राप्त कुुकुर परिचालन गरेका छन् ।”

दूतावासले भारतीय पक्षसित खोजीकार्यका लागि आवश्यक समन्वय र आग्रह गरिरहेको उल्लेख गर्दै वरिष्ठ प्रहरी उपरीक्षक चतुर्वेदीले खोजीकार्य तीव्ररुपमा भइरहेको जानकारी दिनुभयो । लगातार वर्षा भइरहेको र मन्दाकिनी नदीमा पानीको मात्रा बढेकाले खोजी गर्न समस्या भइरहेको उहाँको भनाइ छ ।

बेपत्ता नेपालीको खोजीका लागि परराष्ट्रमन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसित आग्रह गर्नुभएको वरिष्ठ प्रहरी उपरीक्षक चतुर्वेदीले जानकारी दिनुभयो । सो क्षेत्रमा लामो समयदेखि सयौँ नेपाली नागरिक घोडा चालक, होटल व्यवसाय तथा मजदुरी गरी जीविका चलाउँदै आएका छन् । बेपत्ता भएकाहरु सबै जुम्ला घर भएकाहरु रहेको दूतावासले जनाएको छ । रासस