काठमाडौँ, जेठ २१ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी तथा नेपालका लागि जोर्डनका गैरआवसीय राजदूत युसुफ अब्देलघानीले मङ्गलबार शिष्टाचार भेटवार्ता भएको छ ।
भेटका क्रममा मन्त्री भण्डारीले सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र जोर्डनबिच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको र राजदूत घानीको कार्यकालमा थप प्रगाढ हुने अपेक्षा व्यक्त गर्नुभयो ।
उहाँले नेपाल र जोर्डनबिच भइरहेको सीमित व्यापार र नेपालको व्यापार घाटाका विषय उल्लेख गर्दै भविष्यमा व्यापार तथा लगानी बढाउन नेपालबाट कृषिजन्य वस्तुहरू निर्यात गर्ने र जोर्डनबाट मल आयात गर्न सकिने विषयमा सहकार्य हुन सक्ने विचार व्यक्त गर्नुभयो ।
साथै, सन् २०२६ सम्म नेपाल अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने तयारी भइरहेकाले नेपालमा विदेशी लगानीको प्रचुर सम्भावना रहेको र नेपाल सरकारले लगानी प्रवर्द्धनका लागि विभिन्न नीतिगत, कानुनी तथा प्रक्रियागत सुधार गरी लगानीमैत्री वातावरण निर्माण गरेको उल्लेख गर्दै जोर्डनबाट नेपालमा थप लगानी भित्र्याउन आह्वान गर्नुभयो ।
नेपालले हालै मात्र सफलतापूर्वक सगरमाथा संवाद सम्पन्न गरेको विषय उल्लेख गर्नुहुँदै मन्त्री भण्डारीले सो संवादको मुख्य सन्देश विश्वव्यापी साझा वस्तुको संरक्षणका लागि सबैको सामूहिक कार्य जरुरी रहेको र जोर्डनको यो एक प्राथमिकताको क्षेत्र भएकाले दुई देशबिच यो विषयमा सहकार्य र सहयोग हुनेसक्ने बताउनुभयो ।
छलफलका क्रममा नेपालका लागि जोर्डनका गैरआवसीय राजदूत अब्देलघानीले नेपाल र जोर्डनबिच धेरै आयाममा समानता रहेको र आफ्नो कार्यकालमा द्विपक्षीय सम्बन्धमा बलियो बनाउन प्रयास गर्ने बताउनुभयो । दुई देशबिच कूटनीतिक, व्यापारिक तथा लगानी सम्बन्धलाई थप प्रगाढ बनाउन सरकारी र व्यापारिक प्रतिनिधिबीच आदानप्रदान भ्रमणहरू, सांस्कृतिक भ्रमण आदानप्रदान, व्यापार तथा लगानी प्रवर्द्धनका लागि संयुक्त समितिको स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । नेपालको लागि जोर्डन श्रम बजारको एक प्रमुख गन्तव्य हुनसक्ने आँकलन गरी निर्माण उद्योग, तयारी पोसाकलगायत क्षेत्रमा प्रचुर सम्भावना रहेकोसमेत औँल्याउनुभयो ।
दुई देशबिचको सम्बन्धलाई थप प्रगाढ बनाइराख्न मन्त्रालयले पूर्णरूपमा सहयोग गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । मन्त्री भण्डारीले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन र व्यापार तथा लगानीको दायरा बढाउन राजदूत घानीको महत्त्वपूर्ण भूमिका रहने अपेक्षा गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । रासस