• २३ जेठ २०८२, शुक्रबार

वैदेशिक रोजगारीको करिब चालिस प्रतिशत युएईमा मात्र

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २१ गते । नेपालको वैदेशिक रोजगारीको करिब ४० प्रतिशत हिस्सा संयुक्त अरब इमिरेट्स (युएई) मा केन्द्रित भएको छ । अर्थ मन्त्रालयले अघिल्लो साता सार्वजनिक गरेको आर्थिक सर्वेक्षण प्रतिवेदन २०८१/८२ का अनुसार चालु आवको फागुनसम्म वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेमा तीन लाख १७ हजार ६३ जना (३९.३६ प्रतिशत) युएईका लागि छन् । अघिल्लो आवको फागुनसम्म श्रम स्वीकृति लिएका दुई लाख ८५ हजार ३८२ जनामा युएईका लागि २८ प्रतिशत थिए । 

वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले कोभिडका बेला नराम्ररी थलिएको युएईको पर्यटन व्यवसाय कोभिडपछि एकाएक चल्न थालेसँगै नेपाली श्रमिकको माग बढेको जानकारी दिनुभयो । पछिल्लो दुई वर्षदेखि युएईमा सेवामूलक र उत्पादन क्षेत्रका उद्योग फस्टाउँदै गएकाले नेपाली श्रमिकका लागि पनि पहिलो गन्तव्य देश बनेको उहाँको बुझाइ छ । 

यस्तै चालु आवको फागुनसम्म नेपाली श्रमिकका लागि युएईपछि दोस्रो श्रम गन्तव्य देश साउदी अरब रहेको छ । फागुनसम्ममा १६.२२ प्रतिशतले साउदी अरबका लागि श्रम स्वीकृति लिएको देखिन्छ । गत आवको सो अवधिसम्म श्रम स्वीकृति लिएकामध्ये साउदी अरबका लागि करिब १६.५२ प्रतिशत थिए । 

त्यसै गरी कतार तेस्रो श्रम गन्तव्य देश बनेको छ । चालु आवको सो अवधिसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकामध्ये कतारका लागि १०.५२ प्रतिशत छन् । गत आवको यस अवधिसम्म श्रम स्वीकृति लिएकामध्ये ९.९४ प्रतिशत हिस्सा कतारको थियो । 

त्यसै गरी चालु आवको फागुनसम्म कुवेत चौथो श्रम गन्तव्य देश हुन पुगेको छ । यस अवधिमा ८.२२ प्रतिशतले कुवेत जान श्रम स्वीकृति लिएका छन्, जुन सङ्ख्या अघिल्लो आवको सो अवधिमा ६.८७ प्रतिशत थियो । 

अघिल्लो आवमा नेपालीको दोस्रो श्रम गन्तव्य देश रहेको मलेसिया चालु आवको फागुनसम्म भने आठौँ श्रम गन्तव्य देशमा परेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार गत आवमा श्रम स्वीकृति लिएकामध्ये मलेसिया जाने १७.३५ प्रतिशत थिए भने चालु आवको फागुनसम्म ०.३४ प्रतिशतले मात्रै श्रम स्वीकृति लिएका छन् । विभागका महानिर्देशक भट्टराईले मलेसियामा आन्तरिक रोजगारीको समाधान गर्नुपर्ने भएकाले पछिल्ला वर्ष कुनै देशबाट आप्रवासी श्रमिकको माग नगरेकाले नेपाली श्रमिकको पनि सङ्ख्या घटेको जानकारी दिनुभयो । मलेसियामा पछिल्लो चैत/वैशाखदेखि क्रमशः माग आउन थालेको तर अघिल्लो वर्षको तुलनामा निकै कम भएको उहाँको भनाइ छ । 

प्रतिवेदन अनुसार चालु आवको फागुनसम्म श्रम स्वीकृति लिएकामध्ये जापानका लागि ३.७८ प्रतिशत छन् । गत आवको सो अवधिसम्म २.३७ प्रतिशतले श्रम स्वीकृति लिएका थिए । त्यसै गरी सो अवधिसम्म श्रम स्वीकृति लिएकामध्ये ०.९९ प्रतिशतले ओमानका लागि र १.३६ प्रतिशतले बहराइनका लागि श्रम स्वीकृति लिएका छन् ।