नेपालमा यो वर्ष बढ्दो तापक्रमले सर्वोच्च शिखर सगरमाथाको काखमा रहेका नाम्चे (सोलुखुम्बु) देखि सम्पूर्ण तराई क्षेत्रमा बसोबास गर्ने स्थानीय हतप्रभ भएका छन् । सामान्यतया औसत रूपमा यस नाम्चे क्षेत्रमा ४/५ डिग्री सेल्सियस तापक्रम रहने गरेकोमा २६ जेठमा १५.२ डिग्री मापन गरिएको छ । त्यसै गरी हिमालपारिको जिल्ला जोमसोम (मुस्ताङ) मा पनि अधिकातम तापक्रम १९.२ डिग्रीबाट उक्लेर जेठ २६ गते २३.८ डिग्रीमा पुगेको छ ।
माथि उल्लिखित मितिमा मनसुनको मौसम प्रारम्भ भई जलवायुजन्य गतिविधि क्रमशः बढेर वर्षा हुनुपर्नेमा निस्क्रिय भइदिनाले मोरङदेखि बाँके जिल्लासम्म लु (तातो हावा) ले तराईवासी आक्रान्त छन् । मौसम तथा जलवायु विभागका अनुसार १८ जेठमा गौर (रौतहट) को अधिकतम तापक्रम ४३.८ रेकर्ड गरियो । हिमाल, पहाड र तराईमा यसरी तापक्रम ह्वात्त बढ्नाले हामीले अनेकौँ समस्या भोग्नुपर्ने कटु यथार्थलाई गम्भीरतापूर्वक मूल्याङ्कन गर्नु समयानुकूल हुने छ ।
नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक पोखरामा जेठ २६ लाई २३ वर्ष यताकै सर्वाधिक ३५.९ डिग्री सेल्सियस पुगेको खबर सार्वजनिक भयो । हालयताका केही दिनदेखि मनसुन सक्रिय भई वर्षा हुन थालेकाले गर्मीबाट केही राहत मिले पनि हाँडी घोप्ट्याए गरी छोटो समयमा अत्यधिक वर्षा हुनाले पूर्वी पहाडको सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर र धनकुटामा पाँच जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् ।
मौसम तथा जलवायु विभागले यो वर्ष अन्य वर्षको तुलनामा कम वर्षा हुने कम आकलन गरे पनि विगतमा झैँ लामो झरी लाग्नुको साटो हाँडी घोप्ट्याए झैँ गरी वर्षा हुनाले जनधन तथा भौतिक संरचनामा समेत ठुलो क्षति हुने प्रायः निश्चित झैँ रहेको केही दिन पहिले पूर्वी पहाडमा बाढी पहिरोले पु-याएको क्षतिबाट पुष्टि हुन्छ । वर्षायाम प्रारम्भकै क्रममा रहँदा राजधानीको ‘लाइफ लाइन’ मानिने नारायणगढ–मुग्लिन लगायत अन्य राष्ट्रिय राजमार्ग पटक पटक बन्द भएका समाचार सामान्य झैँ भएका छन् ।
तापक्रम बढ्नाले त्यसको कैयौँ क्षेत्रमा नकारात्मक असर पर्छ । तराईका कैयौँ जिल्लामा जेठ महिनामा पानी नपर्नाले किसानले धानको बिउ छर्न समेत सकेनन् र जसले बिउ जसोतसो सिँचाइ गरेर छरेका धानका बिउ बढ्दो तापक्रमले सुकेको बताए । हालसम्म पनि नेपाली किसान खेतीका लागि आकाशे पानीमा निर्भर छन् । कोशी, कर्णाली र गण्डकी जस्ता विशाल जलस्रोतका भण्डारको समुचित उपयोग हालसम्म हामीले पनि गर्न सकेका छैनौँ । दक्षिणका छिमेकीले हिमालबाट उद्गम भई पहाड भित्री मधेश तराई हुँदै बगेका पानीले त्यहाँ हरित क्रान्ति (ग्रिन रेभोल्युसन) सम्भव भएको छ । हाम्रा किसान दाजुभाइ गर्मीमा सुक्खा र वर्षामा डुबान भोग्न बाध्य छन्, हाम्रो अकर्मण्यता तथा गैरजिम्मेवारीपनले कृषिप्रधान मुलुक भनिने नेपालले चाहिँ अर्बौंको चामल, गहुँ, मकै, फलफूल र तरकारी आयात गरी रहनु परेको छ । यो कस्तो बिडम्बना हो ?
बढ्दो तापक्रमले मुलुकका कैयौँ जिल्लामा पानीको मूल सुक्नाले खानेपानीको अभावमा बस्ती नै स्थानान्तरण हुनुपर्ने स्थिति सिर्जना भएको छ । यो असार, साउनको झरीमा ह्यान्ड पाइप सुक्नु सामान्य कुरा होइन र यसले खानेपानीको समस्या मुलुकभरि विकराल भइसकेको प्रमाणित भएको छ । स्थानीयवासी खानेपानी किनेर खानुपर्ने र पानीको जोहो गर्न घण्टौँ खर्चिनुपर्ने अवस्था छ । झन् तराई तथा भित्री मधेशका खोलानालाबाट अनधिकृत रूपमा नदीजन्य पदार्थहरू बालुवा, ढुङ्गा र गिट्टीको अनियन्त्रित उत्खननले पानीको समस्या विकराल समस्या हरेक वर्ष ग्रिष्म याममा हुने गरेको छ ।
पञ्चायतकालदेखि हालको गणतन्त्रसम्म आइपुग्दा छिमेकीलाई बिजुली निर्यात गरेर हामी समृद्ध हुने छौँ भन्ने भाष्यको खुबै चर्चा ग-यौँ, जुन आजसम्म पनि जारी छ । पानीको बहुपयोगका बारेमा जनस्तरमा खासै बहस भइरहेका छैनन् । जलस्रोतविज्ञ अजय दीक्षितका अनुसार सिँचाइ, जलविद्युत्, खानेपानी, व्यवस्थापन गर्ने सङ्गठन एक अर्कासित समन्वय नगरी आफ्नो ढङ्गले काम गर्छन् । जनसङ्ख्यामा तीव्र बढोत्तरी, बालीनाली उत्पादनका लागि सिँचाइ र खानेपानी बढ्दो पानीको मागलाई सम्बोधन गर्दै पानी, सिँचाइ, भोजन (अन्नबाली, फलफूल, तरकारी) र ऊर्जाको नेक्ससलाई कसरी समन्वय गरी अघि बढ्ने कुरामा हामी सचेत देखिँदैनौँ ।
नेपालसित सिमाना जोडिएका विशाल जनसङ्ख्या भएको भारतको पश्चिम बङ्गाल, उत्तर प्रदेश र विहारमा विभिन्न प्रयोजनको बढ्दो पानीको मागलाई सम्बोधन गर्न नदीहरू जोड्ने (रिभर लिङकिङ) परियोजनामा भारत सक्रिय भई कार्य गरी रहेको बारे हामी बेखबर जस्तै अन्यमनस्कको स्थितिमा छौँ, त्यसबारे सम्बन्धित विज्ञले बहस मात्र गरेको सुनिन्छ । जनस्तरमा यसबारे मुलुकभित्र चर्चा हुने गरेका छैनन् ।
इन्टर गर्भमेन्टल प्यानेल अन क्लाइमेन्ट चेञ्ज (आइपिसिसी) को एउटा अध्ययन अनुसार बढ्दो तापक्रमले गर्दा बालीनालीको उत्पादकत्वमा समेत असर परिरहेको जनाएको छ । एसियाली विकास बैङ्क कि वरिष्ठ कृषिविज्ञ मिचिको काटागामी तापक्रम र प्रदूषणले गर्दा बालीनालीमा पर्ने प्रतिकूल असरबारे यसो भन्नु हुन्छ । “हाल पर्यावरणमा कार्बनडाइक्साइडको बढ्दो मात्राले खाद्यान्नको पोषक तìवमा कमी आएको छ र एसियामा भोकको समस्यालाई जटिल बनाएको छ ।” केही वर्ष पहिले वैज्ञानिक पत्रिका नेचर अमेरिका, अस्ट्रेलिया, र जापानमा गरिएको एक अध्ययनले धान, गहुँ, मकै, केराउ, भटमास र कोदो जस्ता बालीमा उच्च तापक्रमले त्यसमा पाइने पोषकमा प्रभाव पार्ने जानकारी गराएको छ ।
इसिमोडले हालै वाटर (पानी) आइस (हिउँ), सोसाइटी (समाज) र इकोसिस्टम (पारिस्थितिक प्रणालीहरू) को हिन्दकुश हिमालय क्षेत्रमा वायुमण्डल, पानी, जैविक विविधताको अन्तरसम्बन्ध तथा द्रुतगतिमा ग्लेसियर (हिमनदी) र हिउँको मानिस र प्रकृतिउपर कस्तो प्रभाव परिरहेको सजीव चित्रण गरेको छ । विगतको दशकभन्दा अघि सन् २०१० सम्ममा हिमालयका हिउँ नदी ६५ प्रतिशतका दरले ह्रास आएको जनाएको छ । यो शताब्दीको अन्त्यसम्ममा हिउँनदीमा ८० प्रतिशतले न्यूनता हुने छ । उक्त संस्थाको अध्ययन अनुसार परिवर्तित वायुमण्डलको प्रभाव हिमाली क्षेत्रका संवेदनशील बासस्थानमा विशेष जटिल हुने देखाएको छ । मानव सिर्जित यो विकराल समस्याबाट मुक्त हुन तत्काल अन्तर्राष्ट्रिय समर्थन, क्षेत्रीय सहयोग अपरिहार्य छ, जसले आउँदो समयमा हुने क्षति तथा विध्वंशबाट जोगाउँदै समुदायलाई अनुकूलनतर्फ उन्मुख होस् ।
नेपालको तापक्रम वृद्धि हुनुमा कुनै भूमिका छैन भने पनि हुन्छ । उदीयमान अर्थतन्त्र भएका छिमेकी चीन र भारतमा कोइला बालेर अनि खनिज तेलको बढ्दो उपभोगले पर्यावरणमा नकारात्मक असर हामीले भोग्नु परेको सम्बन्धमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा सशक्त ढङ्गले आवाज उठाउन सकेका छैनौँ । कोपका सम्मेलनमा नेपालको सहभागिता कुम्भ मेला भर्न गएको झैँ हुन्छ । सन् २०१९ मा कोभिडभन्दा केही महिनाअघि नेपाल सरकारको परराष्ट्र मन्त्रालयको अग्रसरतामा सगरमाथा डाइलग (सगरमाथा संवाद) को माध्यम पहिले राष्ट्रियस्तरको सम्मेलन काठमाडौँमा सम्पन्न भएको थियो । उक्त सम्मेलनमा पङ्क्तिकारलाई पनि सहभागी थियो । उक्त सम्मेलनमा दिगो विकास तथा पर्यावरणका सम्बन्धमा फलदायी विचार विमर्श भएको थियो । कोभिड नभएको भए पर्यावरणका बारेमा उच्चस्तरीय छलफल गर्न विदेशी राष्ट्रप्रमुख तथा सरकारप्रमुखसँग सम्मेलन गर्ने कार्यक्रम स्थगित हुन पुग्यो ।
नेपाल हाल अतिकम विकसित मुलुकको अध्यक्ष भएको नाताले तापक्रमको उच्च वृद्धिले जलवायु परिवर्तनमा परेको नकारात्मक असरलाई निमट्यान्न पार्न अन्तर्राष्ट्रिय समुदायबिच आफ्नो मात्र होइन अन्य मुलुकले भोगिरहेको समस्याका सम्बन्धमा सशक्त ढङ्गले नेतृत्व लिनु आवश्यक देखिन्छ । त्यसका लागि स्थगित ‘सगरमाथा संवाद (सगरमाथा डाइलग) को आयोजना गर्नु मनासिब हुने छ ।