• १३ मंसिर २०८१, बिहिबार

गोरखापत्र समाचारको प्रभाव

सेवाग्राहीले पाए सुधारिएको चुलो

blog

हुम्ला समाचारदाता

हुम्ला, साउन २१ गते । खार्पुनाथ गाउँपालिकाको खार्पुमा बेवारिसे अवस्थामा रहेका सुधारिएका फलामे चुलोहरू सेवाग्राहीले तीन वर्षपछि पाएका छन्। 

सो चुलो बेवारिसे बनेको अवस्थाका बारेमा सञ्चार माध्यममा समाचार सार्वजनिक भएपछि सिमकोट गाउँपालिकाले बेवारिसे चुलो सिमकोट ल्याउने र बाँकी चुलो सप्लायर्सबाट झिकाउने काम गरी स्थानीयलाई वितरण गरेको छ। सिमकोट गाउँपालिका–५ का बर्ख रोकायाले निःशुल्क रूपमा सुधारिएको चुलो पाएको बताउनुभयो। तीन वर्ष नाम छनोट गरे पनि गाउँपालिकाले अहिले आएर उक्त चुलो वितरण गरेको उहाँले बताउनुभयो। 

लामो समय भएका कारण चुलो पाउने आशा मारिसक्नुभएका रोकायाले अहिले वडाबाट चुलो लिन सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकाया भामले चुलोको बारेमा आफूहरूलाई कुनै जानकारी नभएको भए पनि पत्रपत्रिकामा सोबारेमा समाचार आएपछि थाहा भएको र त्यसपछि खोजिन थालेको बताउनुभयो। 

अहिले सबै चुलो गाउँपालिकामा पुगेको उहाँले बताउनुभयो। उहाँले एक हजार ११६ चुलो गाउँपालिकामा निर्माण तथा ढुवानीको जिम्मा पाएको सप्लायर्सले ढुवानी गरेर ल्याएपछि आठ वटा वडामध्ये सात वडाका छनोट भएका घरधुरीलाई वितरण गरिएको बताउनुभयो। सबै चुलोहरू आइपुगेपछि गाउँपालिकाले निर्णय गरेर वडाध्यक्षमार्फत वडा नम्बर–१ मा १३९, २ मा १५०, ३ मा १५०, ४ मा १३५, ५ मा १५०, ७ मा १९० र ८ मा १९० र १२ थान एकल महिलालाई वितरणको व्यवस्था गरेको छ।

यसरी गाउँपालिकाले ताकिता नगरेको भए चुलो आउने सम्भावना नरहेको बताउँदै सबै पक्षको सक्रियतामा चुलो प्राप्त गर्न सफल भएको बताउनुभयो। चुलो पाउन सेवाग्राहीको नागरिकता र सिफारिस यसअघि नै केन्द्रमा पठाएर सप्लायर्सले भुक्तानीसमेत लिएको उहाँले बताउनुभयो। 

पत्रपत्रिकामा आएको समाचारकै प्रभावका कारण ठुलो रकम अनियमितता हुनबाट जोगाएकोमा उहाँले गोरखापत्र दैनिकलगायत विभिन्न सञ्चार माध्यमलाई धन्यवादसमेत दिनुभयो। यस सम्बन्धमा गतपुस २६ गते गोरखापत्र दैनिकले ३५७ थान चुलो खार्पुमा बेवारिसे समाचार पहिलो पृष्ठमा प्रकाशन गरेको थियो।

आर्थिक वर्ष २०७७।७८ मा वैकल्पिक ऊर्जा तथा प्रवर्धन केन्द्रले सिमकोट गाउँपालिाकाका लक्षित वर्गका लागि अनुदानमा वितरण गर्न गाल्भा निर्माण सेवासँग सम्झौता गरेको थियो। प्रतिचुलो २५ हजार रुपियाँ निर्माण र ढुवानीका लागि केन्द्रले बजेट विनियोजित गरेको थियो। ती चुलोहरू २०७८ साल चैत महिनामा खार्पुमा पुगे पनि अलपत्र पारिएको थियो।