अविनाश चौधरी
धनगढी, साउन १८ गते। परम्परागत र नयाँ मिडियाबाट प्रवाह भइरहेका वा प्रवाह हुन सक्ने गलत तथा भ्रामक सूचनाप्रति सबै सजग हुनु पर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन्। गलत तथा भ्रामक सूचनाको पहिचान र यसको न्यूनीकरणको सवालमा धनगढीमा आयोजित कार्यशालाका सहभागीले यस्तो जोड दिएका हुन। पछिल्लो समय नयाँ मिडियाको बढ्दो सङ्ख्यासंगै गलत तथा भ्रामक सूचना प्रवाहको जोखिम पनि बढ्दै गएको उनीहरुको भनाइ छ।
यस्ता सूचनाको पहिचान र न्यूनीकरणका लागि सबै लाग्नु पर्ने सिनियर पत्रकार दीपक अधिकारीले बताउनुभयो। “हाम्रा घरपरिवारका सदस्यहरुले सामाजिक सञ्जालको प्रयोग गर्नेक्रम बढ्दो छ”, उहाँले भन्नुभयो,“त्यस क्रममा धेरैले गलत वा भ्रामक सूचनाको पछि पर्ने गरेकाले यसलाई न्यूनीकरण गर्न वा यस विरुद्ध लड्नका लागि सबैले गलत तथा भ्रामक सूचना पहिचान गर्न सक्नु पर्दछ।” उहाँले विभिन्न स्रोतबाट गलत तथा भ्रामक सूचनाको पहिचान गर्न सकिने उल्लेख गर्नुभयो।
भूलवश, जानाजान नियतवश र तथ्यलाई गलत नियतका साथ बङ्ग्याएर गलत तथा भ्रामक सूचना फैलाउने कार्य हुने गर्दछ। यस्ता गलत तथा भ्रामक सूचना नेपालमा सबैभन्दा बढी राजनीतिक दलका व्यक्तिबाट फैलाउने कार्य भइरहेको बताइएको छ। त्यसकारण गलत तथा भ्रामक सूचना पहिचान र न्यूनीकरणबारे मिडिया जगत झन बढी संवेदनशील हुनु पर्ने युथ इन्नोभेसन ल्याबका अरुणा जोशीले बताउनुभयो।
गलत तथा भ्रामक सूचना न्यूनीकरणका लागि भएका कानुनको प्रभावकारी कार्यान्वयन गर्नु पर्ने, मिडियाकर्मीहरु आफैले पनि आफैलाई स्वनियमन गर्नु पर्ने लगायतका विषयमा सहभागीहरुले जोड दिएका थिए। अमेरिकी दूतावासको सहकार्यमा यूथ इन्नोभेसन ल्याबले कार्यक्रमको आयोजना गरेको थियो।