• ११ मंसिर २०८१, मङ्गलबार

‘सङ्गीतले अचुक औषधी जस्तो काम गर्छ’

blog

गायक युवराज चौलागाईंको साङ्गीतिक यात्रा २०५९ देखि सुरु भएको हो । इलाहाबादबाट साङ्गीतिक शिक्षा लिएका उहाँले अनुराग कला केन्द्रबाट गुरुवर श्यामसुन्दर आचार्य र राम सिटौलाबाट सङ्गीत प्रशिक्षण लिनुभयो । उहाँको पहिलो गीत ‘मेरो मायालाई तिमीले बुझ्न सकिनौ’ हो ।  दुई सयभन्दा बढी गीतमा आफ्नो आवाज भरिसक्नुभएका गायक चौलागाईंसँग गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानी : 

तपाईं सङ्गीतलाई कसरी बुझ्नुहुन्छ  ? 

मेरो बुझाइमा सङ्गीत महासागर हो । त्यसको गहिराइमा जति डुब्न सक्यो त्यति नै धेरै सङ्गीत ‘मोती’ हरू हात पार्न सक्छौँ । सङ्गीत ध्यान, तपस्या हो । गायन, वादन र नृत्यको सम्मिश्रण पनि हो सङ्गीत । सङ्गीत ज्ञानको भण्डार हो ।  

व्यक्तिको जीवनमा सङ्गीतले के अर्थ राख्छ ?

एउटा व्यक्तिको जीवनमा गीत/सङ्गीतको ठुलो अर्थ हुन्छ । सङ्गीत नरुचाउने मान्छे ढुङ्गासरी हुन्छ । जसले सङ्गीत जान्दछ, बुझ्दछ उसले सार्थक जीवन पनि बाँच्दछ । कतिपय बिरामीका लागि सङ्गीत अचुक औषधीसरह पनि हुन्छ । यसले गम्भीर बिरामीलाई पनि सञ्चो बनाउन मद्दत गरिरहेको हुन्छ ।

  सङ्गीतले समाजलाई के दिन्छ ?

सङ्गीतले समाजमा मनोरञ्जन दिइरहेको हुन्छ नै । साथै समाजको चेतनाको स्तर अभिवृद्धिमा अहम् भूमिका निर्वाह गरिरहेको हुन्छ । समाजलाई एकताको सूत्रमा पनि बाँधिरहेको हुन्छ । कतिपय अवस्थामा व्यक्तिलाई विभिन्न सवालमा अभिप्रेरित र प्रोत्साहित गरिरहेको पनि पाइन्छ । 

तपाईं समाजमा कसरी चिनिनुभएको छ ? आफ्नो नामले मात्र कि अन्य कुनै विषयले ?

म समाजमा मेरो पेसाले परिचित छु । साङ्गीतिक क्षेत्रमा भएको हुनाले दर्शकले मलाई गायक तथा सङ्गीतकारका रूपमा चिन्नुहुन्छ जस्तो लाग्छ ।  

तपाईंका धेरै चर्चा पाएका गीत कुन कुन हुन् ? 

मेरा चर्चा पाएका गीत धेरै छन् । ‘लैजा चरी’, ‘तिम्रो माया पाउनलाई’, ‘तिमीलाई के भनौँ’, ‘तिम्रो डोल डोल हातमा’, ‘हारे हारे’, ‘लटर पटर’, ‘घुर घुर परेवी घुर्छ’, ‘टुङ्नाको धुनमा’, ‘छुटेपछि त छुट्यो’, ‘हाम्रो सम्बन्ध’, ‘हरेक शब्द’, ‘यो मन रमाउँदै गयो’ लगायतका गीत दर्शकले धेरै रुचाउनु भएको छ ।

 फुर्सदमा के गर्नुहुन्छ ?

फुर्सदको समयमा नयाँ नयाँ गीतको रचना गरिरहेको हुन्छु । नयाँ ठाउँमा घुम्न जाने र प्रकृतिसँग रमाउने कोसिस गर्छु । प्रकृतिसँग रम्दै प्रकृतिलाई नियाल्दा नियाल्दै नयाँ सिर्जनामा जुटिरहेको हुन्छु ।