• १३ वैशाख २०८१, बिहिबार

चार दिनदेखि बेपत्ता पूर्णबहादुरको उद्धार

blog

सकुशल उद्धार गरिएका पूर्णबहादुर विष्ट।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन १७ गते। ताप्लेजुङमा चार दिनदेखि बेपत्ता हुनुभएका भेडापालक एक किसानको सकुशल उद्धार भएको छ। हिमाली भेगको चरनक्षेत्र (खर्क) मा आइतबारदेखि बेपत्ता हुनुभएका भेडापालक फुङ्लिङ नगरपालिका–११ फावाखोलाका ६४ वर्षीय पूर्णबहादुर विष्टको सकुशल उद्धार गरिएको हो।

फक्ताङ्लुङ गाउँपालिकास्थित करिव पाँच हजार मिटर उचाई रहेको भेडीखर्क तोलुङपाङ्लुङ क्षेत्रमा  विष्ट बेपत्ता हुनुभएको थियो। सोही क्षेत्रमा रहेको चौंरी गोठका एक चौंरीपालक किसानले ओडारमा बसिरहेको देखिपछि बिष्टलाई उद्धार गरिएको उहाँका भतिजा कमल बिष्टले जानकारी दिनुभयो।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूका अनुसार चार दिनपछि बुधबार उद्दार गरिएका बिष्टले आफू कसरी र के कारणबाट ओडारमा पुगे भन्ने केही थाहा नभएको बताउनुभएको छ। निकै अप्ठ्यारो ओडार रहनुभएका बिष्टले उद्धार भएपछि मात्र आफ्नो होस् खुलेको पनि बताउनुभएको छ। 

यता सकुशल उद्धार गरिएका किसान बिष्टको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँ अहिले तोलुङपाङ्लुङ क्षेत्रमा नै रहनुभएको पनि प्रनाउ लिम्बूले जानकारी दिनुभयो। भेडी गोठमा बिष्टसमेत तीन जना रहँदै आएको बताइएको छ। आइतबार दिउँसोदेखि एकासी सम्पर्कबिहीन (बेपत्ता) हुनुभएका बिष्टको खोजीका लागि फक्ताङ्लुङ गाउँपालिका-६ लेलेपको घुन्सा प्रहरीचौकीबाट प्रहरी टोली र उहाँका आफन्तहरु जुट्नुभएको थियो।