• ११ मंसिर २०८१, मङ्गलबार

चित्रकलाका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

blog

ललितपुर, साउन १७ गते । प्रतिभा बुक बैङ्कको २९ औँ वार्षिकोत्सव र सातोआकी इतो स्मृति दिवसका अवसरमा ‘बुद्ध र शान्ति’ शीर्षकमा आयोजित चित्रकला प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ । 

प्रतिभा समाजद्वारा ललितपुरमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने आयुषा सुनुवार, दोस्रो स्थान हासिल गर्ने आकृति मानन्धर, तेस्रो हुने सर्ग ताम्राकारलाई नगदसहित विभिन्न पुरस्कार प्रदान गर्नुभयो । सान्त्वना पुरस्कार प्राज्ना श्रेष्ठ र ओएन अवालेलाई प्रदान गरिएको थियो । योङ पिकासो संस्थाका संयोजक अजय देशारको संयोजनमा भएको चित्रकला प्रतियोगितामा नोरा श्रेष्ठलाई विशेष पुरस्कार प्रदान गरिएको थियो । सो अवसरमा महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरलाई स्मार्ट सिटीको अवधारणा अनुसार विकास गर्ने योजना सफल पार्न शिक्षित जनशक्तिको विशेष सहयोग आवश्यक पर्ने बताउनुभयो । उहाँले विद्यार्थी र अभिभावकलाई हौसला प्रदान गर्न यस्ता कार्यक्रम निरन्तर गरिरहनु पर्ने पनि बताउनुभयो । जापानका नागरिक सातोआकी इतोको घोप्टेभिरमा भएको विमान दुर्घटनामा परी निधन भएपछि उहाँका परिवारले नेपालमा उहाँको स्मृतिमा ‘सातोआकी भवन’ निर्माण गरेर सोही भवनमा प्रतिभा बुक बैङ्क स्थापना गरी नेपालका जेहेनदार विद्यार्थीलाई सहयोग गर्दै आएको छ । 

प्रतिभा बुक बैङ्कले हरिसिद्धि मावि, पाटन हाइस्कुल, यशोधरा बौद्ध विद्यालय, जगतसुन्दर ब्वनेकुथी, श्रमिक शान्ति मावि, त्रिपद्म माध्यमिक विद्यालयलगायतका कक्षा ११ र १२ का जेहेनदार ९५ जना विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान गरेको थियो । प्रतिभा समाजका कार्यकारी सदस्य किरण नगरसिंह शाक्यले प्रतिभा बुक बैङ्कले टिआरके ग्रुपको सहयोगमा पाठ्यक्रम खरिद गरी पढिसकेपछि पुनः त्यहीँ फिर्ता गर्ने गरी विद्यार्थीलाई सहयोग प्रदान गरेको जानकारी दिनुभयो । उहाँले सातोआकी भवनमा प्रतिभा समाजले हाजिरीजवाफ, हाइकु, कविता वाचन,  चित्रकला प्रतियोगिता र स्थापनाकालदेखि नै कक्षा ११ र १२ का विद्यार्थीलाई पाठ्यक्रमका पुस्तक  प्रदान गर्दै आएको बताउनुभयो ।