• २५ वैशाख २०८१, मङ्गलबार

धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा वृद्धि

blog

अविनाश चौधरी

धनगढी, साउन १६ गते । जग्गाको कित्ताकाट रोकिएर धेरैजसो स्थानीय सरकारको आन्तरिक आम्दानी ओरालो लागेको बेला धनगढी उपमहानगरपालिकाको आन्तरिक आय भने बढ्दै गएको छ । चाँडै जग्गाको कित्ताकाट खुलाएको यो पालिकामा राजस्व सङ्कलनमा पनि सुधार भएका कारण आन्तरिक आम्दानीमा बढ्दै गएको हो । 

धनगढी उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० २७ करोड ८६ लाख २२ हजार रुपियाँ आन्तरिक स्रोतबाट आम्दानी गरेको छ । अघिल्लो दुई आर्थिक वर्ष २०७८/७९ र आर्थिक वर्ष २०७७/७८ मा यही आम्दानी क्रमशः २२ करोड १८ लाख २९ हजार र २० करोड ६३ हजार रुपियाँ रहेको थियो । 

अघिल्ला आर्थिक वर्षमा केही शीर्षकमा राजस्व सङ्कलन भएको थिएन । गत आर्थिक वर्षमा भने कृषि तथा वन्यजन्तुको व्यावसायिक कारोबारमा लाग्ने करबाहेक बाँकी २२ वटा सबै शीर्षकमा राजस्व सङ्कलन भएको धनगढी उपमहानगरपालिकाको कार्यालयले जनाएको छ । सो कार्यालयका सूचना अधिकारी एवम् उपसचिव नरेन्द्रबहादुर खातीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कृषि तथा वन्यजन्तुको व्यावसायिक कारोबारमा लाग्ने करसहित न्यायिक दण्ड जरिवाना, सामुदायिक वनबाट प्राप्त आय शीर्षकमा कर उठेको थिएन । यसैगरी, आर्थिक वर्ष २०७८/७९ मा भूमिकर, कृषि तथा वन्यजन्तुको व्यावसायिक कारोबारमा लाग्ने कर, अन्यकर, सरकारी सम्पत्ति विक्रीबाट प्राप्त आय, अन्य दस्तुर, न्यायिक दण्ड जरिवाना र सामुदायिक वनबाट प्राप्त आय शीर्षकमा राजस्व सङ्कलन हुन सकेन । 

गत आर्थिक वर्षमा धनगढी उपमहानगरपालिकाले सम्पत्ति कर चार करोड आठ लाख २५ हजार, भूमिकर ९७ हजार, बहालकर पाँच करोड ८६ लाख ५१ हजार, बहालबितौरी कर सात लाख दुई हजार सङ्कलन गरेको छ । यस्तै, सवारी कर एक लाख ४७ हजार, अन्यकर ५४ लाख ९१ हजार सङ्कलन गरेको छ । सरकारी सम्पत्तिको बहालबाट प्राप्त आय ८७ लाख ७९ हजार, सरकारी सम्पत्तिको विक्रीबाट प्राप्त आय एक लाख ४७ हजार रुपियाँ रहेको छ । 

अन्य सेवा शुल्क तथा विक्रीबाट चार लाख ९८ हजार, शिक्षा क्षेत्रको आम्दानीबाट १६ लाख ७३ हजार, पार्किङ शुल्कबाट ६२ लाख ५० हजार, नक्सा पास दस्तुरबाट दुई करोड ८९ लाख ७५ हजार रुपियाँ राजस्व सङ्कलन गरिएको छ । यसैगरी, सिफारिस दस्तुरबाट दुई करोड १७ लाख ३७ हजार, व्यक्ति घटना दर्ताबाट १४ लाख २१ हजार, नाता प्रमाणितबाट चार लाख ८३ हजार, अन्य दस्तुरबाट ३३ लाख ८६ हजार रुपियाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी खातीले जानकारी दिनुभयो । 

न्यायिक दण्ड जरिवाना शीर्षकमा तीन हजार, प्रशासनिक दण्ड जरिवाना शीर्षकमा ११ लाख २३ हजार, व्यवसाय शीर्षकमा तीन करोड ६३ लाख ६६ हजार रुपियाँ राजस्व सङ्कलन गरिएको छ । यस्तै, अन्य राजस्व (आय ठेक्का) बाट पाँच करोड ७२ लाख ९६ हजार, बेरुजुबाट १२ हजार र सामुदायिक वनबाट प्राप्त आय शीर्षकमा ५० हजार रुपियाँ राजस्व सङ्कलन गरिएको छ । 

धनगढी उपमहानगरपालिकाको आन्तरिक आम्दानीमा बढोत्तरी हुँदै गएपनि वार्षिक बजेटको १५ प्रतिशतसम्म पनि पुगेको छैन । चालु आर्थिक वर्षका लागि यो उपमहानगरपालिकाले एक अर्ब ९३ करोड आठ लाख २४ हजार रुपियाँ बजेट ल्याएको छ । वार्षिक आन्तरिक आम्दानीभन्दा सरकार सञ्चालनका लागि चाहिने वार्षिक बजेटको हिस्सा धेरै रहेकाले स्वायत्त स्थानीय तह सङ्घ र प्रदेश सरकारमा निर्भर छन् ।