• १५ वैशाख २०८१, शनिबार

कोशी प्रदेशका सभामुखको राजीनामा

blog

राजीनामा पत्रमा हस्ताक्षर गर्नुहुँदै कोशी प्रदेशका सभामुख बाबुराम गौतम ।

गोकुल पराजुली

विराटगनर, साउन १६ गते। कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिनुभएको छ। कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल दुई गठबन्धनमा आबद्ध भएको र दुवै गठबन्धन तत्काल विभाजन हुने सम्भावना नभएपछि सरकार बनाउनकै लागि सभामुखले पदबाट राजीनामा गर्नुभएको हो।उहाँले उपसभामुखलाई सम्बोधन गरी प्रदेश सभा सचिवालयमा राजीनामा बुझाउनुभएको हो।

कोशी प्रदेश सभामा कायम रहेका ९३ सांसदमध्ये सरकार गठन गर्न ४७ सांसद आवश्यक पर्छ।तर कुनै पनि गठबन्धनले ४७ जना सांसदसहित बहुमत पुर्‍याउन नसकी संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुई भन्दा बढी दल सम्मिलित सरकार गठन गर्न समस्या भएपछि सभामुखले पदबाट राजीनामा गर्नुभएको हो।

सभामुख गौतम नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य पदमा निर्वाचित हुनुभएकोले राजीनामापछि उक्त गठबन्धनमा आवश्यक बहुमत पुग्ने छ।उहाँ ओखलढुङ्गा निर्वाचन क्षेत्र नम्बर १ (२) बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित भएर गत पुस २९ गते प्रदेश सभाको सभामुख बन्नुभएको थियो।

यसअघि असार २१ गते सरकार गठन गर्दा सभामुख गौतमले पदबाट राजीनामा नगरी सरकार गठनका लागि दलले पेस गरेको दाबी पत्रमा सभामुखको हैसियतमै हस्ताक्षर गर्नुभएको थियो।उक्त विषयको राजनीतिक वृत्तमा आलोचना भएको थियो भने सर्वोच्च अदालतले त्यसलाई असंवैधानिक ठहर गर्दै बदर गरिदिएको थियो।

कोशी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८(२) बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ।