• २७ वैशाख २०८२, शनिबार

राप्रपा नेपाल र संयुक्त मोर्चाबीच एकता घोषणा

blog

काठमाडौं, साउन १६ गते। कमल थापा नेतृत्वको राप्रपा नेपाल र तारानाथ लुइटेलको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबिच पार्टी एकता घोषणा भएको छ। राष्ट्रिय सभा गृहमा एक औपचारिक कार्यक्रममार्फत एकता घोषणा भएको हो। पार्टी एकता घोषणा सभामा बोल्नुहुँदै राप्रपा नेपालका अध्यक्ष कमल थापाले यो एकता राष्ट्रवादी शक्ति निर्माण गर्न कोशेढुंङ्गा साबित भएको बताउनुभयो। 

थापाले भन्नुभयो, “यो एकता राष्ट्रवादी शक्ति निर्माण गर्ने कोशेढुंङ्गाको रूपमा रहने छ। यो एकता केबल प्रारम्भ मात्र होइन, बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न यसले नेपाली राष्ट्रिय राजनीतिमा नयाँ तरङ्गको सिर्जना हुनेछ।”

उहाँले अबको राप्रपा नेपालको विचार एवम् गतिविधिको प्रभाव राजनीतिक दल र देश तथा विदेशी शक्तिमासमेत पर्ने आशा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “केही समयपछि हाम्रो मान्यता, विचार, गतिविधि राष्ट्रिय बहसका विषय हुनेछन्। नेपालका राजनीतिक शक्ति साथसाथै देशी, विदेशी शक्तिले अवधारणा, मान्यता र गतिविधिलाई नोटिसमा लिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुने आशा र भरोसा गरेको छु।”

यस्तै मोर्चाका नेता तारानाथ लुइटेलले २०६२/६३ को आन्दोलनमा हिन्दु राष्ट्र बचाउ समितिमार्फत सङ्घर्ष भएको स्मरण गराउनुभयो।

उहाँले हिन्दु राष्ट्रको मुद्दा लिएको राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई पनि पार्टी विचार स्थापनाका लागि सडकमा आउन आह्वान गर्नुभयो। 

उहाँले भन्नुभयो, “यसलाई निकास दिनका लागि राजेन्द्र लिङ्देनलाई भन्न चाहन्छु, राप्रपा नेपालका अध्यक्ष कमल थापाले आन्दोलनको आव्हान गरेको हुनाले, तपाइले हिन्दु राष्ट्रको मुद्दा बोकेको हो भने तपाइ सडकमा आउने हो भने म वार्ता गर्न तयार छु।” संवैधानिक राजतन्त्र स्थापना गर्नुपर्ने धारणा उहाँको छ।