• ५ जेठ २०८१, शनिबार

कोशी प्रदेश सरकार गठनका लागि दाबी गर्ने गठबन्धनको तयारी

blog

गोकुल पराजुली
विराटनगर, साउन १६ गते ।
 कोशी प्रदेश सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुख परशुराम खापुङले दलहरूलाई दिनुभएको समय आज सकिँदैछ ।

साँझ ५ बजे प्रदेश प्रमुख खापुङले साउन १६ गते मङ्गलबार अपराह्न ५ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थन हुने गरी दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । तर अहिलेसम्म दलहरूको तर्फबाट सरकार गठन गर्न दाबी प्रस्तुत भएको छैन ।

केन्द्रीय सत्ता गठबन्धनमा आबद्ध दलहरूले प्रदेश प्रमुखले तोकेको समयावधिभित्र दाबी बुझाउने तयारी गरेका छन् । त्यसका लागि गठबन्धन दलहरूबिच सहमति भइसकेको बताइएको छ ।

गठबन्धनले कांग्रेस संसदीय दलका नेता उद्धव थापाकै नेतृत्वमा सरकार गठन गर्ने तयारी अगाडि बढाएको छ । सरकार गठन गर्न आवश्यक पर्ने ४७ सांसद सङ्ख्या पुर्‍याउन सभामुख बाबुराम गौतमलाई राजीनामा गराउने गठबन्धनको तयारी छ । गौतमले सभामुख पदबाट राजीनामा दिएमा सरकार गठनका लागि आवश्यक सङ्ख्या पुग्छ ।

गठबन्धन दलहरूले सभामुखलाई राजीनामा दिएर सरकार गठनमा सहयोग गर्न यसअघि गरेको आग्रह अस्वीकार गर्नुभएका गौतम पछिल्लो समय राजीनामा गर्न तयार हुनुभएको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिनुभयो ।

उहाँले अपराह्न प्रदेश प्रमुख समक्ष सरकार गठनको दाबी गर्नुअघि सभामुख गौतमले पदबाट राजीनामा गर्नुहुने बताउनुभयो । काठमाडौँमा रहनुभएका सभामुख गौतम विराटनगर आउँदै हुनुहुन्छ ।

कोशी प्रदेश सभाका कुल ९३ सदस्यमध्ये गठबन्धनसँग सभामुखसहित ४७ सांसद छन् भने विपक्षी गठबन्धनसँग नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका गरी ४६ सांसद छन् । सभामुखले राजीनामा गरेर सरकार गठन भए पनि विश्वासको मत लिने समयमा समस्या आउन सक्ने संशयमा सत्तारुढ दलहरू छन् ।

उपसभामुख सिर्जना दनुवारले पनि पदबाट राजीनामा गरेको खण्डमा समस्या हुनसक्ने अनुमान गरेर गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग सरकार गठनका लागि सहयोग मागेको छ । तर राप्रपाले यतिबेलासम्म सहयोग गर्ने सहमति दिइसकेको छैन ।