• ११ मंसिर २०८१, मङ्गलबार

‘कालो सुन’ बनाउन अमेरिकी कम्पनीको सहकार्य

blog

काठमाडौँ, साउन १६ गते । कलाकार प्रभु श्रेष्ठको मुख्य भूमिका रहने चलचित्र ‘कालो सुन’ मा अमेरिकाको निर्माण कम्पनी राइज फिल्म्स युएसए कर्पोरेसनलले सहकार्य गर्ने भएको छ । निर्माण कम्पनी प्रभुलक्ष्मी इन्टरटेनमेन्ट एन्ड क्रिएटिभ कम्पनी र उक्त कम्पनीबिच चलचित्र निर्माणमा सहकार्य गर्ने सम्झौता भएको हो ।

उहाँले चलचित्रको विषयवस्तु मन परेका कारण अमेरिकी कम्पनीले निर्माणमा सहकार्य गर्न लागेको जानकारी दिनुभयो । चलचित्रमा श्रेष्ठको मुख्य भूमिका रहने छ भने अन्य कलाकार तथा प्राविधिक केही समयमा सार्वजनिक गर्ने जनाइएको छ । सन् १९९६ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका कलाकार श्रेष्ठले थुप्रै सफल चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गरिसक्नुभएको छ । श्रेष्ठले अभिनय गरेका चर्चित चलचित्रमा ‘आफ्नो बिरानो’, ‘यस्तै हुन्छ पिरती’, ‘सङ्गम’, ‘म बिर्सु कसरी’, ‘पार्सल’, ‘एउटा यस्तो प्रेम कहानी’ लगायत छन् । अभिनयमा साढे दुई दशक बिताउनुभएका श्रेष्ठ ‘कालो सुन’ आफ्नो ड्रिम प्रोजेक्ट भएको बताउनुहुन्छ । 

एउटा कलाकारले किन चलचित्र निर्माणमा हात हाल्नुप-यो ? भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ,  “मलाई चलचित्र उद्योगले नै कलाकारको पहिचान दिएको । त्यसैले म आफ्नो ज्ञान, सिप आफ्नै क्षेत्रमा लगानी गरेर नेपाली चलचित्रलाई विश्व बजारमा पु-याउन चाहन्छु ।” नेपाल कलासंस्कृतिको धनी देश भएको भन्दै उहाँले आफूले ‘कालो सुन’ मार्फत मौलिक कलासंस्कृति तथा नेपाली कथालाई विश्व बजारमा पु-याउन चाहेको स्पष्ट पार्नुभयो । अमेरिकन कम्पनीको प्रवेशसँगै चलचित्रलाई विभिन्न भाषामा निर्माण गरी विश्वभर प्रदर्शन गर्ने तयारी रहेको श्रेष्ठले बताउनुभयो । उत्कृष्ट अभिनयका लागि विभिन्न अवार्ड तथा सम्मान प्राप्त गर्नुभएका श्रेष्ठ ‘कालो सुन’ पछि अभिनय गर्ने गरी चलचित्र ‘अवकाश’, ‘घर फर्की’, ‘को हो’ र ‘तीन पुस्ता’ मा मुख्य कलाकारका रूपमा अनुबन्धित हुनुभएको छ ।