• १५ वैशाख २०८१, शनिबार

लैङ्गिक हिंसासम्बन्धी सेवा लिनेको सङ्ख्या ११ हजारभन्दा बढी

blog

काठमाडौँ, साउन १५ गते । लैङ्गिक हिंसासम्बन्धी सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लैङ्गिक हिंसासम्बन्धी एक द्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) की वरिष्ठ कम्युनिटी नर्सिङ अधिकृत सुनालक्ष्मी कर्माचार्यका अनुसार देशभरका केन्द्रबाट आर्थिक वर्ष २०७८÷७९ मा ११ हजार ४६ जनाले सेवा लिएका छन् । 

ओसीएमसीमा महिला, बालिका मात्रै नभएर किशोर तथा पुरुष पनि उपचार, परामर्श र कानुनी उपचारका लागि आउने गरेको कर्माचार्यले जानकारी दिनुभयो । ओसी मसीबाट सेवा लिनेको सङ्ख्या ९४.९७ प्रतिशत महिला, करिब ५ प्रतिशत पुरुष र ०.२४ प्रतिशत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक रहेका छन् । तथ्याङ्क अनुसार १० हजार ४९१ जना महिला र ५२८ जना पुरुष र २७ जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक छन् ।

त्यस्तै, आर्थिक वर्ष २०७७-७८ मा आठ हजार ७७१ जनाले सेवा लिएका थिए जसमध्ये आठ हजार ३६७ जना महिला र ३८५ जना पुरुष र  १९ जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक थिए । आर्थिक वर्ष २०७६-७७ मा पाँच हजार ७५४ जनाले सेवा लिएका थिए । जसमा पाँच हजार ४४९ जना महिला र २७० जना पुरुष र ३५ जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक रहेको मन्त्रालयले जनाएको छ । 

सेवा लिनेमा बलात्कार, यौन दुर्व्यवहार, शारीरिक आक्रमण, बाल विवाह आदि छन् । हिंसाका प्रकार ठाउँअनुसार भिन्न भिन्न रहेको कर्माचार्यको भनाइ छ  । घरेलु हिंसामा कुटपिट, यातना, दुर्व्यवहार, विभेद, दाइजो नल्याएको र बोक्सीको आरोप जस्ता हिंसा धेरै छन्। 

प्रसूतिको केन्द्रबाट कतिले लिए सेवा ?

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पनि यो सेवा लिनेको सङ्ख्या बढ्दो क्रममा  छ । अस्पतालकी ओसीएमसीकी इन्चार्ज सुकु तामाङले प्रसूति गृहमा गत वर्ष ६६६ जनाले सेवा लिएको बताउनुभयो । अस्पतालमा महिला मात्र नभई पुरुषले पनि सेवा लिने गरेको तामाङको भनाइ छ । प्रसूति गृहको तथ्याङ्क अनुसार साना बालबालिकादेखि लिएर वृद्ध वृद्धासमेत यौनजन्य दुर्व्यवहारमा परेको पाइएको छ । गत आर्थिक वर्षमा पाँच वर्षमुनिका २३ जना, ६–१० वर्षसम्मका ५३ जना, १०–१८ वर्ष सम्मका ३४३ जना, १९–५९ वर्षसम्मको २३९, ६० देखमाथिका ३ जनाले प्रसूति गृहको ओसीएमसीबाट सेवा लिएका छन् ।

त्यस्तै २०७३-७४ मा २१५,  २०७४-७५ मा २९५,  २०७५-७६ मा ५८१,  २०७६-७७ मा ३०८,  २०७७-७८ मा ५०० सय र यो आर्थिक वर्षमा चार सय जनाले सेवा लिएका छन् । 

कस्ता कस्ता समस्या लिएर केन्द्र पुग्दछन् ?

हाडनाता करणी, साना बालिकामाथि यौन दुर्व्यवहार, लैङ्गिक  हिंसा झेलेका महिला तथा बालबालिकाहरू ओसीएमसीमा पुग्ने गर्दछन् । 

लैङ्गिक तथा यौन हिंसाबाट प्रभावित, पीडित भई शारीरिक, मानसिक, सामाजिक र आर्थिक रूपमा प्रभावित भएका बालबालिका, महिला, पुरुष र तेस्रो लिङ्गी ओसीएमसीमा सेवा लिन पुग्ने सुकुमाया बताउनुहुन्छ । ओसीएमसीेमा आएका सबै केसलाई यौनजन्य दुर्व्यवहार भनेर राख्ने गरिएको सुकुमायाको भनाइ छ । 

सुकुमायाका अनुसार प्रसूति अस्पतालको ओसिएमसीमा गत वर्ष दुर्व्यवहार ३३७, शारीरिक हिंसामा १३, मानसिक हिंसा चार, घरेलु हिंसाबाट १३ जना पीडित छन् । 

सबैभन्दा बढी सेवा लिन प्रहरीबाट आउने गरेका छन् । गत वर्ष अस्पतालमा ५५३ जना प्रहरीमार्फत अस्पतालमा पुगेका थिए । आफै ७०, अस्पतालबाट पाँच, गैरसरकारी संस्थाबाट २३ जना, स्वास्थ्य संस्थाबाट रिफर भएको २३ जना, राष्ट्रिय महिला आयोगबाट दुई जना ओसीएमसीमा सेवा लिन पुगेका थिए । 

एक द्वार सङ्कट व्यवस्थापन केन्द्र भनेको के हो ?

स्वास्थ्य मन्त्रालय अन्तर्गत जिल्लास्थित अस्पतालहरूमा एक द्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरी हिंसा प्रभावित बालिका किशोरी तथा महिलाहरूका लागि विभिन्न सेवा प्रदान गर्दै आएको कर्माचार्य बताउनुहुन्छ । हिंसामा परेका व्यक्तिलाई एकद्धार प्रणालीबाटै न्याय प्रदान गर्ने उद्देश्यले एक द्वार सङ्कट व्यवस्थापन केन्द्रको स्थापना गरिएको छ ।

सरकारले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट २०६९ बाट सुरु गरेको ओसीएमसी कार्यक्रम सात प्रदेशका ९४ वटा अस्पतालबाट सेवा दिँदै आएको छ । ओसीएमसी संङ्मा १६, प्रदेशका ७३ र स्थानीय तहका पाँच वटा छन् । ओसीएमसी कार्यक्रममार्फत सरकारले विशेषगरी स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, चिकित्सकीय कानुनी सेवा, सुरक्षा, आश्रय, कानुनी उपचार, पुनः स्थापना केन्द्र गरी सात प्रकारका सेवा निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । 

आफ्नै पुनः स्थापना केन्द्र नहुँदा समस्या 

 ओसीएमसी कार्यक्रम सञ्चालन गर्न आफ्नै पुनः स्थापना केन्द्र नहुँदा चुनौती थपिएको  कर्माचार्यको भनाइ छ । उहाँले भन्नुभयो,“दीर्घकालीन पुनः स्थापनाको अभाव हुनु ओसीएमसी सञ्चालन गर्न चुनौती हुँदै आएको छ । सरकारले सात वटा प्रदेशमा एकीकृत सेवा सुविधासहितको दीर्घकालीन आवास गृह निमार्ण गर्नुपर्छ ।” 

कर्माचार्यका अनुसार ओसीएमसीको विषयमा जानकार नहुँदा समाजमा भएका घटना अस्पतालमा ल्याउन नसक्नु अर्को चुनौती हो ।  त्यसबाहेक  अस्पताल व्यवस्थापनबाट ओसिएमसी कार्यक्रमलाई प्राथमिकतामा नराख्नु, अस्पतालमा विनियोजित ओसीएमसी बजेट व्यवस्थापनमा समस्या, ओसी मसीबाट २४ घण्टा सेवा प्रदान गर्न कर्मचारीको अभाव  छ । 

ओसीएमसी कार्यक्रम स्थानीय तहसम्म विस्तार गर्ने उद्देश्य सरकारको छ । ओसीएमसीको गुणत्मक सुदृढीकरण गर्न कार्यक्रमलाई प्राथमिकतामा राख्ने, लैङ्गिक हिंसा विरुद्धमा निरन्तर सन्देशमूलक सचेतनात्मक रोकथाममूलक संरक्षणात्मक, प्रवर्द्धनात्मक कार्यक्रम गर्ने गराउने उद्देश्य रहेको कर्माचार्य बताउनुहुन्छ । 

ओसीएमसी कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरण राष्ट्रिय रणनीति तथा कार्य योजना २०६९ र अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना तथा सञ्चालन निर्देशिका २०७७ जारी गरेको छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।