• २८ जेठ २०८२, बुधबार

ध्वनि प्रदूषण र हेडफोनको प्रयोगले बढ्दै कानको समस्या

blog

वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ प्राडा. दीपेन्द्र श्रेष्ठ ।

काठमाडौँ, जेठ २७ गते । पछिल्लो समय बहिरोपनको समस्या बढ्दो रूपमा देखा परेको छ । ध्वनि प्रदूषण र लामो समयसम्म हेडफोनको प्रयोग बढेसँगै बहिरोपनको समस्या बढ्दै गएको चिकित्सक बताउँछन् । 

वीर अस्पतालका नाक, कान, घाँटीरोग विशेषज्ञ प्राडा. दीपेन्द्र श्रेष्ठ  जन्मजात, बढ्दो उमेर, हेडफोनको बढी प्रयोग र कानमा हुने सङ्क्रमणका कारण बहिरोपनको समस्या निम्तने बताउनुहुन्छ ।

"कानमा पानी जमेर, जाली सुनिएर, जालीमा प्वाल परेर, कानको हड्डी कुहिएर, ध्वानि प्रदूषण र अत्याधिक हेडफोनको प्रयोग, कानमा हुने हड्डीमा कडापन आएर कान नसुन्ने समस्या हुन्छ", डा. श्रेष्ठ भन्नुहुन्छ ।  

बच्चा जन्मँदा समयमै रोएन भने, कम तौलको बच्चा जन्मिएमा, गर्भावस्थामा आमालाई सङ्क्रमण भएर, नवजात शिशुलाई सघन उपचार कक्ष (आइसियू)मा भर्ना गर्नु परेमा र विभिन्न कारणले बच्चालाई अधिक मात्रमा एन्टिवायोटिक चलाउनुपरेमा बहिरोपनको समस्या निम्तने जोखिम बढ्ने उहाँको भनाइ छ । 

लामो समयसम्म अटोटोक्सिस औषधीको प्रयोग गरेमा, कानको जालीमा प्वाल परेर, कानको हड्डी जाम भएर, कानको हड्डी फुस्किने, कमजोर हुने समस्याले बहिरोपन निम्त्याउने डा. श्रेष्ठले जानकारी दिनुभयो ।  

त्यो बाहेक टाइफाइड, मेनेन्जाइटिस, रुबेला, हाँडे लगायतका समस्याले कानको नसा सुनिने वा बिग्रिएर तत्कालीन तथा दीर्घकालीन रूपमा बहिरोपनको समस्याको निम्तने गर्छ । लामो समयसम्म ठुलो आवाजमा बस्ने मानिसमा पनि यस्तो समस्या निम्तने गर्छ ।

ठुलो आवाजमा लामो समयसम्म काम गर्ने मानिसमा पनि बहिरोपनको समस्या निम्तने जोखिम रहन्छ । लामो समयसम्म एयरपड, हेडफोन लगायतका उपकरण लामो समय प्रयोग गर्दा बहिरोपनको जोखिम बढ्ने गर्छ । उमेर बढेसँगै कानका नसा सुकेर बहिरोपनको समस्या निम्तने जोखिम बढ्ने उहाँ बताउनुहुन्छ । डा.श्रेष्ठ धेरै जस्तो बहिरोपनका समस्यालाई औषधी र शल्यक्रियाबाट निको बनाउन सकिने बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ,“कारण पत्ता लगाउन सकियो भने धेरै जस्तो बहिरोपनको समस्या औषधी र शल्यक्रियाको माध्यमबाट निको बनाउन सकिन्छ ।”  नसा (कक्लिया)मा क्षति पुगेमा दीर्घरूपमा बहिरोपनको समस्या भएका मानिसमा शल्यक्रिया गरेर 'कक्लियर इम्प्लान्ट’ (कृत्रिम नसा )प्रत्यारोपण गर्न सकिन्छ । 

डा. श्रेष्ठका अनुसार कानै नसुन्ने व्यक्तिलाई शल्यक्रिया मार्फत कक्लियर इम्प्लान्ट प्रत्यारोपण गरिसकेपछि थेरापी गरेपछि पुनः पहिलेको जस्तै सुन्न सक्ने छन् । वीर अस्पतालले सहुलियत रूपमा यो सेवा सञ्चालनमा ल्याएको छ । 

बहिरोपनको समस्या र समाधानका उपाय लगायतका विषयमा केन्द्रित भएर वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा‍. दिपेन्द्र श्रेष्ठसँग गोरखापत्र अनलाइनका लागि सिर्जना खत्रीले गर्नुभएको कुराकानीका आधारमा मनोजरत्न शाही र केशब गुरुङले तयार पर्नुभएको  भिडियो संवाद :

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।