• १३ मंसिर २०८१, बिहिबार

बाघसँग लडेर ज्यान जोगाएका साहसी

blog

अविनाश चौधरी

धनगढी, साउन १५ गते । “ढलेको रुखमाथि चढेको मात्रै के थिएँ, ‘हाउँ’ गर्दै बाघ उफ्रेर झम्टिन आयो। अवाक परेँ, भाग्ने कुरै भएन। हातमा भएको हँसियाले टाउकैमा प्रहार गरेँ तर पनि झम्टिन आइरह्यो।” यो घटना सम्झिँदा कैलारी गाउँपालिका–७, तिघरीका ६८ वर्षीय जालुराम चौधरीको आङ अझै पनि सिरिङ्ग हुन्छ। 

तीन दशक पहिलेको त्यो डरलाग्दो घटना उहाँले बिर्सनुभएको छैन। बाघसँग भएको त्यो जम्काभेट चौधरीको मानसपटलमा ताजै छ। “बाघको मुखबाट मुस्किलले जोगिएको हुँ,” बाघले बनाएको घाउको शरीरमा दाग देखाउँदै उहाँले भन्नुभयो, “घाउ त पुरियो तर त्यो दिनको भयानक याद मेटिएको छैन।” जालुराम मात्रै हैनन्, कैलालीका कैयौँ व्यक्ति बाघसँगको जम्काभेटमा साहसपूर्वक लडेर ज्यान जोगाएका छन्। भजनी नगरपालिका–९, डोङपुरका ६६ वर्षीय बुधराम डङ्गौरा, कैलारी गाउँपालिका–८, लोहरपुरका ५९ वर्षीय लौटन डङ्गौरा थारू, कैलारी–६, बेनौलीका परशुराम डङ्गौरा थारू, कैलारी–८, दुधियाका दुर्गा चौधरी यसका उदाहरण हुन्। 

२०४५ सालतिरको घटना हो, जालुरामले भन्नुभयो, छटरी बनाउनका लागि बड्का वनुवाँमा पात टिप्न गएका बेला बाघसँग एक्कासि जम्काभेट भयो। “ढलेको रुख थियो, त्यसमाथि चढेको मात्र के थिएँ, झाडीमा बाघ झम्टिन आइहाल्यो।” जालुरामले अगाडि थप्नुभयो, “मलाई देख्नेबित्तिकै जुरुक्क उठेर ठुलो मुख र ठुला आँखा पारेर झम्टिन आयो, उफ्रेर झम्टिन आएको बाघको टाउकोमा हँसिया प्रहार गरेर ज्यान जोगाएको हुँ।”

“बाघ झम्टिन आएपछि अरू सबै जना भागे तर म हातमा भएको हँसिया बाघको टाउकोमा प्रहार गर्न सफल भएँ,” उहाँले भन्नुभयो। हँसिया प्रहारबाट अर्ध घाइते बाघले आफ्नो टाउको र छातीमा पन्जा हानेको चौधरीको भनाइ छ। विभिन्न ठाउँमा पन्जाले हाने पनि शरीर र मुखमा लगाउन दिइन, बाघसँग लडेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “मेरो टाउको र शरीरका विभिन्न भागमा ६५ वटा घाउ बनाइदिएको थियो।” बाघको आक्रमणमा परेर मुस्किलले जोगिएका जालुराम घाइते भएपछि एक महिनासम्म भारतको बेलराँयामा उपचार भएको बताउनुहुन्छ। 

यस्तै डोङ्पुरका बुधरामको २०५७ साल साउन १५ गते बाघसँग जम्काभेट भएको थियो। वसन्ता वन (बड्का बनुवाँ) मा डमरुसहितको बाघसँग आमनेसामने भएपछि साहसपूर्ण लडाइँ लडेर ज्यान जोगाएको उहाँ बताउनुहुन्छ। 

सोनियाँ ताल आसपासमा भएको घटना स्मरण गर्दै उहाँले बाघको मुखमा मुक्का बजारेर ज्यान जोगाएको बताउनुभयो। गर्जिंदै बाघले शरीरमा पन्जा हानेपछि आफूले बाघको दुवै कान समातेर अठ्याएको उहाँको भनाइ छ। घुँडासम्मको पानीमा बाघसँग लडेको घटना सुनाउँदै उहाँले थप्नुभयो, “मलाई मार्छस् भने तँलाई पनि छोड्दिन भनेर लडिरहेँ।” 

बाघसँग साहसपूर्ण लडाइँ लड्नुभएका डङ्गौराको बाघले शरीरभरि घाउ मात्रै बनाएको थिएन, भुँडीमा समेत गम्भीर चोट पु-याएको थियो। लोहरपुरका लौटन पनि च्याउ खोज्ने बेलामै २०५९ साल असोज २४ गते बाघको फेला पर्नुभएको थियो। वसन्ता वनमा भएको जम्काभेटमा बाघले टाउकोमा आक्रमण गरेपछि आफूसँग भएको बोरा नै बाघको मुखमा कोचेर ज्यान जोगाएको उहाँ सुनाउनुहुन्छ। “बाघको मुखमा बोरा अड्किएपछि पछाडि हट्यो,” उहाँ भन्नुहुन्छ, “रगताम्य भएको म हातमा बन्चरो लिएर होसियारीपूर्वक ज्यान बचाउन सफल भएँ।” 

बाघको आहारा बन्नबाट जोगिए पनि लौटनको अनुहारको हड्डी भने जोगिएन। बाघले हड्डी नै भाँचेको उहाँले बताउनुभयो। त्यस्तै बेनौलीका परशुराम पनि बाघसँग आमनेसामने भएर ज्यान जोगाउने भाग्यशाली व्यक्ति हुनुहुन्छ। च्याउ खोज्न गएकै बेला २०५८ सालमा वसन्ता वनमै उहाँको पनि बाघसँग जम्काभेट भएको थियो। सामुन्नेमै बाघ आएपछि फर्केर भाग्नु हुन्न भन्ने बुझ्नुभएका उहाँले बाघसँग आँखा जुधाएर हँसियासहितको बोरा प्रहार गरेर जोगिएको बताउनुभयो। 

आदिवासी थारू समुदायका व्यक्तिको वनजङ्गलसँग अन्योन्याश्रित सम्बन्ध छ। उहाँहरू विभिन्न समय वा पर्वका बेला दाउरा, पात, तरकारीका लागि वनजङ्गल पसिरहने गर्छन्। त्यस क्रममा कैलालीका कैयौँ व्यक्तिको बाघसँग जम्काभेट हुने गरेको छ। बाघको मुखबाट जोगिएकाहरूले बाघसँग लडाइँ गरेको घटना रमाइलो गरी सुनाउने गरेका छन्। कैलारी गाउँपालिका–७, भुइयाँफाँटाका आशाराम डङ्गौरा बाघसँगको जम्काभेटमा लडेर जोगिएका थिए। २०७७ साल माघ ३० मा कैलारी गाउँपालिका–८, दुधियाका दुर्गा चौधरी पनि बाघको आक्रमणमा परेर मुस्किलले जोगिनुभएको थियो। 

एक दशकमा तीन जनाको मृत्यु

बाघको आक्रमणमा परेर एक दशकमा तीन जनाको मृत्यु भएको छ। २०७१ साल वैशाख १९ गते वसन्ता वनमा साबिकको पहलमानपुर–९, नक्फोरुवाका ५७ वर्षीय कालुराम डङ्गौराको मृत्यु भएको थियो। 

महुवा टिप्न गएका बेला बाघले डङ्गौराको ज्यान लिएको थियो। २०७७ साल फागुन ३ गते गौरीगङ्गा नगरपालिका–५, अण्डैयाकी २५ वर्षीय कला धामीको बाघको आक्रमणबाट ज्यान गएको थियो। घाँस काट्न गएका बेला बाघको आक्रमणमा उहाँको ज्यान गएको थियो। २०७८ सालमा लम्कीचुहा नगरपालिकाकी नन्दा थापाको बर्दिया राष्ट्रिय निकुञ्जमा बाघले ज्यान लिएको छ। राजमार्गमा मोटरसाइकलबाट तानेर बाघले थापालाई मारेको संरक्षणकर्मी विजयराज श्रेष्ठले बताउनुभयो।