राममणि दाहाल
हेटौँडा, साउन १५ गते । मकवानपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु र छ जना घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुर मनहरी गाउँपालिकास्थित ज्यामिरे सडक खण्डमा सडक छेउमा बिग्रिएर रोकिराखेको ना ५ ख ७४७२ नं.को ट्रकको पछाडि चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ५७ प २३१ नं. को मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक र मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक मनहरी गा.पा.९ का २२ वर्षीय शम्भु गिरी र मोटरसाइकल पछाडि बसेर सवार सोही स्थानका सुशील गिरीलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएकोमा उपचारको क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार मोटरसाइकल चालक शम्भु गिरी गए राति २३ः०३ बजे र मोटरसाइकल पछाडि सवार सुशील गिरीको २१ः२५ बजे मृत्यु भएको जानकारी दिनुभयो ।
ट्रक र ट्रकमा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै आइतबार नै पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका ३ स्थित तीनताप्केमा सडक खण्डमा वीरगन्जबाट भैरहवातर्फ जाँदै गरेको यु पी ७८ भी ५३७२ नं. को भारतीय कार र विपरीत दिशाबाट आउँदै गरेको बा२ख ६३५७ नं.को हाईस गाडी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा हाईस गाडीमा सवार दुई जना मध्यम, तीन जना सामान्य र कारमा सवार एक जना सामान्य घाइते भएका छन् । उनीहरू सबैको उपचार हेटौँडाको चुरे हिल अस्पतालमा भएको र दुवै सवारीका चालकलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएको छ ।