• १३ साउन २०८१, आइतबार

दुधको छैन अभाव

blog

काठमाडौँ, साउन १५ गते । बर्सेनि असार र साउनमा नेपाली बजारमा दुधको अभाव हुने गरेको थियो । असार १५ मा दहीचिउरा र साउन १५ मा खिर खाने चलन छ ।  साउन १५ मा काठमाडौँ उपत्यकामा मात्र खिर खान २० लाख लिटर दुध बिक्री हुने लक्ष्य राखिएको छ । सरकारी तथा निजी क्षेत्रले २० लाख लिटरभन्दा धेरै दुध बेच्ने लक्ष्य लिएको डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताउनुभयो । दुग्ध विकास संस्थानले साउन १५ गते एक लाख ४५ हजार लिटर दुध बिक्री गर्ने लक्ष्य लिएको छ । उपत्यकामा दैनिक आठ लाख लिटर दुध बिक्री हुँदै आएको छ । 

अघिल्ला वर्षहरूमा भने यसबेला दुध आपूर्ति असामञ्जस्य हुँदा उद्योगीदेखि व्यवसायीसम्म निकै तनावमा हुन्थे तर यस वर्ष यस्तो तनाव उनीहरूले भोग्नु नै परेन । गाईभैँसीमा लम्पी स्किनले निकै प्रभावित तुल्याए पनि बजारमा दुध अभाव देखिएको छैन । भारतबाट चोरी आयात भएकाले पनि नेपाली बजारमा दुध अभाव नभएको बताइएको छ । भारतबाट अवैध रूपमा दुध भित्र्याएर आपूर्ति व्यवस्था सहज तुल्याए पनि यसले अन्ततः नेपाली दुग्ध उत्पादन पुनः परनिर्भरतातर्फ धकेलिने पो हो कि भन्ने चिन्ता भने थपिएको छ ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले भन्नुभयो, “भारतबाट दुध भित्रिँदा नेपाली बजारमा दुध अभाव नभएको हो ।”बर्खामा दुध अभाव नभएको सम्भवतः पहिलो पटक भएको दुध व्यावसायीहरू बताउँछन् । नेपाल पशु चिकित्सा परिषद्का प्रवक्ता डा. मनोजकुमार शाहीले कम्तीमा ११ लाख पशुमा लम्पी स्किनको सङ्क्रमण देखिएर दुध उत्पादनमा करिब ४० प्रतिशतले कमी आउन सक्ने अनुमान गरिएको बताउनुभयो ।

बजारमा दुध अभाव नभएपछि हाल पाँच वटा डेरी उद्योगले धुलो दुध बनाउने कार्य जारी राखेका छन् । ती उद्योगले दैनिक चार लाख ५० हजार लिटर कच्चा दुधबाट पाउडर दुध बनाउने क्षमता राख्छन् । त्यस्तै सरकारी स्तरको दुग्ध विकास संस्थानको स्वामित्वमा रहेको कारखानाले दैनिक ६० हजार लिटर दुधलाई धुलो दुध बनाउन सक्छन् ।

नेपालमा दैनिक ६४ लाख लिटर दुध उत्पादन हुने भए पनि पछिल्लो समय किसानले दैनिक करिब ३१ लाख लिटर दुध बिक्री गर्दै आएका छन् । दुर्ई दशकदेखि दुध सङ्कलन र बजारीकरणमा सहभागी वासुदेव उपाध्यायले दुध उत्पादनमा आत्मनिर्भर रहेको नेपालमा भारतीय दुधको भरपर्ने अवस्था आउनुले किसानको आयस्तर खस्कने चिन्ता व्यक्त गर्नुभयो । २०७७ चैतमा तत्कालीन सरकारले नेपाल दुधमा आत्मनिर्भर बनेको औपचारिक घोषणा गरेपछि दुध आयात रोकिएको थियो ।   

नेपालमा प्रतिलिटर ६५ रुपियाँमा र भारतको बिहारमा भारु. ३४ मा दुध पाइन्छ । भारतभन्दा नेपालमा १० रुपियाँ महँगो भएका कारण सीमावर्ती क्षेत्रका भारतीय किसानले नेपालमा आएर दुध बेच्ने गरेका छन् । भारतमा दुध सस्तो पाइन्छ भनेर केही डेरी सञ्चालकले सीमा क्षेत्रमा सङ्कलन केन्द्र सञ्चालन गरेका छन् । त्यहाँ भारतीय दुध अवैध रूपमा खरिदबिक्री हुँदै आएको छ । केही डेरी सञ्चालकले नेपालको दुध खरिद गर्न नै छाडिसकेको गुनासो किसानहरूले गर्दै आएका छन् ।

भुक्तानी दिइएन

सरकारी स्तरको दुग्ध विकास संस्थानले किसानसँग खरिद गरेको दुधको रकम समयमै भुक्तानी नगरेको गुनासो किसानले गरेका छन् । हरेक १५ दिनलाई एक फारम मानेर सोही अनुसार दुधको भुक्तानी हुने गरे पनि आफूहरूले चार पटकको रकम नपाएको काभ्रेका किसान हरि तिमल्सिनाले बताउनुभयो ।  

दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झाले संस्थानले नियमित रूपमा दुधको भुक्तानीको व्यवस्था मिलाइरहेको बताउनुभयो । उहाँले कोरोनाको समयमा किसानसँग कच्चा दुध किने पनि दुग्ध उत्पादन बजारसम्म लगेर बेच्ने अवस्था नभएपछि भोगेको घाटाको असर अहिलेसम्म परिरहेको बताउनुभयो ।