• १५ वैशाख २०८१, शनिबार

सिचुवानले छाडेका आयोजनामा रुरु आयोजनाको रुचि

blog

परियोजना बन्ने नदी कर्णाली । तस्बिर : रजनी योगी

रजनी योगी

सुर्खेत, साउन १४ गते । चिनियाँ कम्पनीले बीचमै अलपत्र छोडेका आयोजनामा नेपाली निर्माण कम्पनीले रुचि देखाएको छ । कर्णाली प्रदेशको हुम्लामा प्रस्तावित दुई वटा जलविद्युत आयोजना निर्माणका लागि रुरु जलविद्युत परियोजना कम्पनी अघि सरेको हो ।

हुम्ला कर्णाली –१ जलविद्युत आयोजना र हुम्ला कर्णाली –२ जलविद्युत आयोजनाबाट चिनियाँ कम्पनी सिचुवान वाङपिङ इनर्जीले हात झिकेको थियो । सिचुवान पछि हटेपछि अलपत्र परेका योजना निर्माणको काम अब रुरु जलविद्युत परियोजनाले गर्नुभएको छ ।

सिचुवान वाङपिङ इनर्जीले करिब पाँच वर्ष पहिले विद्युत विकास विभागबाट एकै पटक दुई वटै आयोजनाको सर्वेअनुमति लिएको थियो । एकैचरणमा दुवै योजनाको सर्वे सुरु गरेको चिनियाँ कम्पनीले अध्ययनको काम सकिनै लाग्दा आयोजनाबाट हात झिकेको थियो ।

कम्पनीले पूर्व अध्ययनको काम पूरा गरिसकेको थियो । अन्तिममा आयोजनामा लगानी गर्न नसकिने भन्दै कम्पनी पछि हटेको छ । लगानी धेरै लाग्ने र लाभ कम हुने देखेपछि चिनियाँ कम्पनीले हात झिकेको बताइएको छ । अहिले यी दुवै आयोजना नेपाली कम्पनी रुरु जलविद्युत परियोजना लिमिटेडले ‘टेक ओभर’ गरेको छ ।

२०७९ चैत पहिलो सातादेखि सिचुवानबाट हुम्ला कर्णाली आयोजना ‘टेक ओभर’ गरेको हो । चिनियाँ कम्पनीसँगको आपसी सहकार्यमा आयोजना आफूले लिएको रुरु जलविद्युत परियोजना लिमिटेडले जनाएको छ । चिनियाँ कम्पनीले गरेको अध्ययनलाई नै आधार मानेर लिमिटेडले काम अघि बढाएको छ ।

रुरु परियोजनाले सरकारसँग उत्पादन अनुमति मागेको छ । दुई सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली –१ र तीन सय ३५ मेगावाटको हुम्ला कर्णाली –२ जलविद्युत आयोजना निर्माण गर्ने भन्दै परियोजनाले अनुमति मागेको हो । 

विद्युत विकास विभागसँग जलविद्युत आयोजना निर्माणका लागि उत्पादन अनुमतिपत्र  (जेनेरेसन लाइसेन्स) माग गरिएको कम्पनीका अध्यक्ष आशीष सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार उत्पादन अनुमतिपत्र २०७९ चैत अन्तिम सातामा विभागमा पेस गरिएको छ । विभागले बेला–बेलामा पूर्ण विवरणसहित कागजपत्र माग्ने र प्रि–फिजिबिलिटी अध्ययनको सबै जानकारी लिने गरेको सुवेदीले जानकारी दिनुभयो । 

उत्पादन स्वीकृति प्राप्त हुनेबित्तिकै निर्माणको काम अघि बढाउने तयारी कम्पनीको छ । उत्पादन क्षमता अब्बल हुने देखिएपछि आयोजनाको काम अघि बढाइएको उहाँको भनाइ छ । आयोजना स्थलसम्म सडक र विद्युत समेत पुगेकाले निर्माणमा अन्य प्राविधिक बाधा नहुने जनाइएको छ । विभागसँग उत्पादन अनुमति मागेकाले निर्माण कार्य छिट्टै थालिने अध्यक्ष सुवेदीले बताउनुभयो ।

चार पालिका प्रभावित

दुई वटै जलविद्युत आयोजना हुम्लामा निर्माण हुनेछन् । दुई सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली –१ लाई तल्लो परियोजनाको रूपमा राखिएको छ । उक्त आयोजनाबाट हुम्लाको सर्केगाड गाउँपालिका र मुगुको सोरु गाउँपालिकाका केही वडा प्रभावित हुनेछन् ।

यसैगरी तीनसय ३५ मेगावाटको हुम्ला कर्णाली –२ जलविद्युत आयोजनालाई माथिल्लो परियोजनाको रूपमा राखिएको छ । उक्त आयोजनाबाट हुम्लाका दुई वटा गाउँपालिका प्रभावित बन्नेछन् । सर्केगाड र खार्पुनाथ गाउँपालिकाका केही वडा आयोजनाबाट प्रभावित हुने जनाइएको छ ।

खर्ब लागत अनुमान

दुई वटा जलविद्युत आयोजना निर्माण सम्पन्न गर्न एक खर्बभन्दा बढीको लागत अनुमान गरिएको छ । रुरु जलविद्युत परियोजनाले एकैसाथ दुई वटा जलविद्युत आयोजना निर्माण गर्न लागेको हो । आयोजनाका निर्माणका लागि एक खर्ब २० अर्ब लागत लाग्ने अनुमान गरिएको रुरु जलविद्युत कम्पनीका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।