• ७ जेठ २०८१, सोमबार

रक्सौल–काठमाडौं रेलमार्गको रुट तय : १२ वटा स्टेसन रहने

blog

काठमाडौँ, साउन १२ गते । नेपाल–भारत अन्तरदेशीय काठमाडौं–रक्सौल रेलमार्गको रुट तय भएको छ । भारतीय पक्षले रेलमार्गको अध्ययन गरेर नेपाल सरकारलाई बुझाएको प्रतिवेदनमा रुट समावेश भएको छ । 

रेल विभागका प्रवक्ता एवम् सिनियर डिभिजनल इन्जिनियर अनिलकुमार चित्रकारका अनुसार फाइनल प्रतिवेदन अनुसार उक्त रेलमार्गको रुट रक्सौलबाट काठमाडौंसम्म तय भएको छ । 

उहाँका अनुसार रक्सौलदेखि पर्साको वीरगञ्ज, बेलुवा, बाराको मनहर्वा, सपही बजार, निजगढ, मकवानपुरको धियाल, शिखरपुर, सिस्नेरी हुँदै रेलमार्ग काठमाडौंको सतिखेल भएर खोकनासम्म ल्याउन प्रस्ताव गरिएको छ

प्रारम्भिक चरणमा १३६ किलोमिटर लामो रेलमार्ग निर्माण हुने अनुमान गरिएकोमा अहिले अन्तिम प्रतिवेदनमा १४० किलोमिटर लामो हुने भएको छ । 

विभागका प्रवक्ता चित्रकारले भन्नुभयो,“पहिले प्रारम्भिक रिपोर्ट अनुसार यस आयोजनाको लम्बाइ १३६ किलोमिटर हुने अनुमान थियो । निजगढ विमानस्थल बन्ने भएपछि टाढाबाट लानुपर्ने भएका कारण लम्बाइ १४० किलोमिटर हुने प्रतिवेदनमा उल्लेख छ ।”

२०७६ सालमा यस आयोजनाको पूर्व सम्भाव्यता अध्ययन भएको थियो । 

रेलमार्गमा १२२ वटा साना पुल, १०१ वटा ठूला पुल र १८ वटा आधुनिक स्ट्रक्चरका पुलहरु रहनेछन् । यो रेलमार्ग निर्माणमा मुआब्जा बाहेक तीन खर्ब ८२ अर्ब लाग्ने अनुमान छ ।  

भारतको आर्थिक र प्राविधिक सहयोगमा निर्माण हुन लागेको यस आयोजनाको भारतीय कोङ्कर्ण कम्पनीले ८ महिना लगाएर अध्ययन गरेको थियो । 

रेलमार्गको फाइनल लोकेशन सर्भे १८ महिनामा सक्ने गरी २०७८ साल असोजमा नेपाल र भारत पक्षबीच सम्झौता भएको थियो । यही सम्झौता बमोजिम प्रतिवेदन तयार गरेर नेपाल पक्षलाई बुझाएको हो । 

यसअघि प्रारम्भिक सर्भेका क्रममा प्रस्तावित निजगढ विमानस्थलको आसपासबाट नै यस रेलमार्ग निर्माण हुने बताइए पनि विमानस्थल निर्माण हुने भएपछि यसको डिजाइन परिवर्तन गरिएको हो ।  

रेलमार्गको मोडालिटी र यसको लगानी अहिले नै सुनिश्चित भइनसकेकाले कस्तो प्रकारको बन्छ भन्न नसकिने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो,“अहिले फाइनल रुट मात्र तय भएको प्रतिवेदन आएको हो । नेपाल पक्षले यस बारेमा छलफल गर्न बाँकी नै छ । मोडालिटी र लगानी सुनिश्चित नभएकाले अहिले नै कस्तो बन्छ भन्न सकिँदैैन । 

यस आयोजनाको स्थापना पछि रेलमार्गमार्फत देशको राजधानीबाट भारतसँग सिधा पहुँच हुनेछ । 

यस आयोजनाले दक्षिण एसियाको विशाल जनसङ्ख्यामा प्रत्यक्ष पहुँच, पर्यटन र अन्य व्यवसायमा वृद्धिको सम्भावनासमेत खोल्ने चित्रकारको भनाइ छ । 

यस आयोजना निर्माणपछि इन्धनमा आधारित यातायात प्रतिस्थापन र इन्धन आयातमा हुने ठूलो खर्चलाई समेत बचत गर्न सघाउ पुर्‍याउनेछ । 

१२ वटा स्टेसन रहने 

रक्सौल–काठमाडौं रेलमार्गमा १२ वटा स्टेसन रहनेछन् । रेल विभागका प्रवक्रा अनिल चित्रकारका अनुसार अन्तिम प्रतिवेदनमा रक्सौलदेखि काठमाडौंसम्म १२ वटा स्टेसन रहने उल्लेख छ । जहाँबाट मानिस चढ्न र ओर्लन सक्नेछन् । 

कुल १४० किलोमिटर लम्बाइ रहने यस आयोजनाका करिब ४० प्रतिशत भाग सुरुङमार्ग पुलहरु रहने उहाँको भनाइ छ । सबैभन्दा ठूलो सुरुङमार्ग  ८.१६ किलोमिटरको बन्नेछ । सुरुङमार्ग  मात्र करिब ४२ किलोमिटरको बन्नेछ ।  

रेलमार्गमा १२२ वटा साना पुल, १०१ वटा ठूला पुल र १८ वटा आधुनिक स्ट्रक्चरका पुलहरु रहनेछन् । यो रेलमार्ग निर्माणमा मुब्जाबाहेक तीन खर्ब ८२ अर्ब लाग्ने अनुमान छ ।  

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।