धर्बेन्द्र झा
धनुषा, साउन ११ गते । सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आमनागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।
बिहीबार धनुषाको सपहीस्थित स्वास्थ्य निर्देशनालय मधेश प्रदेशको प्राङ्गणमा विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा निर्माण गरिएको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको हस्तान्तरण र उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले स्वास्थ्य सेवा सुधारका लागि मन्त्रालयले विभिन्न क्षेत्रमा दिनरात कामकाज गरी रहेको भन्दै छ महिनाभित्रमा स्वास्थ्य क्षेत्रले काँचुली फेर्ने उहाँको कथन थियो । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न किसिमका भेदभाव र विकृतिहरूलाई समाप्त पार्दै काम गर्ने मान्छेलाई वातावरण दिनु पर्छ भन्ने मान्यताका साथ मन्त्रालय अघि बढेको जानकारी गराउनु भयो ।
स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीको योग्यता क्षमता वृद्धिका लागी अन्तर्राष्ट्रिय स्तरमा तालिमहरू दिने काम काजहरू भइरहेको भन्दै त्यस्ता तालिममा हुम्लामा बसेर काम गर्ने कर्मचारीले पनि सहभागी भई विदेश भ्रमण गर्न पाउनेजस्ता अवसरहरू मन्त्रालयले प्रदान गर्न लागेको बताउनु भयो । उहाँले काम गर्नेलाई पुरस्कार र काम नगर्नेलाई दण्ड हुनुपर्ने मान्यताका साथ मन्त्रालयले मूल्याङ्कन गरिरहेको बताउनु भयो ।
मन्त्री बस्नेतले जनसङ्ख्याको हिसाबले बढी जनसङ्ख्या भएको प्रदेश मधेश प्रदेश रहेको कारण एउटा प्रदेशमा एउटा विशेषज्ञ सेवा हुनुपर्ने बताउनु भयो । जनकपुरधाममा मुटु रोगको सेवा प्रभावकारी बनाउने विषयमा प्रक्रिया अघि बढाइने र यसले मुटु रोगका बिरामीलाई काठमाडौँ धाउनुपर्ने अवस्थाको अन्त्य हुने मन्त्री बस्नेतले बताउनु भयो ।
प्रदेशको कुनै पनि ठाउँमा कुनै किसिमको आपत् विपत् आएमा अब आपत्कालीन कार्य सञ्चालन केन्द्रले विभिन्न निकायसँग समन्वय गरी तत्कालै समस्या समाधान गर्नमा मद्दत पुर्याउने उहाँको कथन थियो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले मधेश प्रदेशको स्वास्थ्य अवस्थालाई सबल र सुदृढ बनाउनका लागि आफू लागि परेको बताउनु भयो । उहाँले मधेश प्रदेशको प्रादेशिक सबै अस्पतालमा आजैबाट लागु हुने गरी जेनरल वेड निःशुल्क गरिएको बताउँदै प्रदेश सरकार सुलभ रूपमा स्वास्थ्य सेवा दिन चाहेको छ भन्नुभयो ।
यसमा सबैको सहयोग आवश्यक भएको बताउँदै प्रदेशभित्र मापदण्ड विपरीत सञ्चालित औषधी पसल र निजी अस्पतालहरूलाई मापदण्डको दायरामा ल्याउने किसिमले कामकाज भइरहेको उहाँको भनाइ छ ।
कार्यक्रममा मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णकुमार यादव, लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष भोगेन्द्र झा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सङ्घीय सचिव रोशन पोखरेल, स्वास्थ्य अतिरिक्त सचिव सङ्गीता कौशल मिश्र, विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि राजेश सम्भाजी राउ पाण्डव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मधेश प्रदेशका सचिव प्रमोदकुमार यादव, मधेश प्रदेशका स्वास्थ्य निर्देशक राजीव झा, जनस्वास्थ्य प्रयोगशाला मधेश प्रदेशका निर्देशक श्रवण कुमार मिश्रसहितकाको सहभागिता रहेको थियो ।
मन्त्री बस्नेतले आजै सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगी रोगको रोकथाम तथा नियन्त्रणका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा पनि सहभागी हुनुभयो । सो क्रममा उहाँले डेंगी रोगको रोकथाम तथा नियन्त्रणका लागि तिनै तहका सरकारले एक अर्कासँग समन्वय गरी कामकाज गर्नुपर्नेमा जोड दिनुभएको थियो ।