• १७ जेठ २०८१, बिहिबार

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालमा ठुलो असर पर्दैन

blog

काठमाडौँ, साउन १४ गते । भारतले बासमती बाहेकका चामलले निर्यातलाई प्रतिबन्ध लगाएको छ । भारतले साउन ४ गतेदेखि लागु हुने गरी चामलको निर्यातलाई प्रतिबन्ध लगाएको हो । 

खाद्यान्नको बढ्दो मूल्यलाई नियन्त्रण गर्नका लागि चामलको निर्यात प्रतिबन्ध गरिएको भारतले जनाएको छ । निर्यात प्रतिबन्ध गरेपछि यसको प्रत्यक्ष असर नेपालमा पनि पर्दछ । भारत विश्वमै चीनपछिको बढी धान उत्पादन गर्ने देशमा पर्दछ । भारतले विश्वमा ४० प्रतिशत चामलको माग धान्ने गर्दछ । भारतले नै चामल निर्यात रोक्का गरेपछि नेपालमा यसको असर पर्ने जानकार बताउनुहुन्छ । यस वर्ष नेपालमा कम वर्षा भएको कारणले उत्पादन पनि घट्ने आकलन छ । जसका कारण चामलको निर्यात प्रतिबन्धका कारण नेपालमा धानको मूल्य बढ्नुका साथै चामल अभाव हुन्छ कि भन्ने चिन्ता छ । 

नेपालमा गतवर्षको तुलनामा यस वर्ष धान रोपाइँ कम भएको छ । गतवर्ष साउन पहिलो हप्ता बित्दा ८८ प्रतिशत धान रोपाइँ भएकोमा यसवर्षको सोही समयमा ६८ प्रतिशत मात्र धान रोपाइँ भएको छ । धानको अन्नभण्डारको रूपमा चिनिने मधेश प्रदेशमा यस वर्ष साउन पहिलो हप्ता बित्दा रोपाइँ ५० प्रतिशत भएको छैन । यस प्रदेशमा ४६ प्रतिशत रोपाइँ भएको तथ्याङ्क छ । समयमा पानी नपर्नु र लम्पी स्किन रोगको प्रकोपका कारण कम रोपाइँ भएको कृषि तथा पशुपन्क्षी मन्त्रालयले जनाइएको छ । यस वर्ष धान उत्पादन पनि घट्ने चिन्ता छ । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सूचना अधिकारी डाक्टर प्रदीपचन्द्र भट्टराईका अनुसार चामल निर्यातमा भारतले प्रतिबन्ध लगाए पनि नेपालको उत्पादनको आधारमा मात्र यसको असर कति पर्छ भन्न सकिनेछ । उहाँले भन्नुभयो , “भारतले चामल निर्यातमा प्रतिबन्ध गरेपछि यसको केही असर नेपालमा त पर्ला, तर, ठुलै असर पर्छ कि कम असर पर्छ यसबारेमा नेपालमा धान उत्पादनको अवस्था हेरेपछि मात्र भन्न सकिन्छ ।” उहाँका अनुसार अहिले नेपालमा भइरहेको चामलको आयात वास्तविक नभएकाले नेपाल धेरै मात्रामा चामलमा निर्भर हुनुपर्ने अवस्था छैन । 

नेपालमा आयात भएको देखिएको परिणाम व्यापारीले चामल भनेर भन्सारबाट अन्य सामान ल्याउने गरेको पाइएकाले नेपालमा चामलको आयात धेरै नरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नेपालमा आयात भएको देखिने परिणाममा चामल आयात भएको छैन । भन्सार छुट पाउनका लागि व्यवसायीले चामल भनेर अन्य सामग्री ल्याएको पाइएको छ । त्यसैले भारतले चामलको निर्यात बन्द गर्दा ठुलो असर पर्दैन ।” विगतमा पनि गहुँको निर्यातमा प्रतिबन्ध लगाउँदा कूटनीतिक वार्तामार्फत नै समाधान गरेकाले अहिलेको चामलमा भएको प्रतिबन्ध वार्ताबाट नै समाधान गर्ने कोसिस गरिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “विगतमा भारतले गहुँमा प्रतिबन्ध लगाउँदा कूटनीतिक पहलबाट फुकुवा गरिएको थियो । 

यसपालि पनि चामलमा लगाएको प्रतिबन्ध सकेसम्म वार्ताबाट नै समाधान गर्ने प्रयास गरिनेछ ।” नेपालमा उन्नत जातका धानको प्रयोग बढेको र यस वर्ष समयमै मलको सुविधा भएकाले उत्पादनमा खासै गिरावट नआउने उहाँ बताउनुहुन्छ । धानबाली विज्ञ सुशीलराज सुवेदीका अनुसार भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउने बित्तिकै आत्तिइहाल्नु पर्दैन । नेपालीले दैनिक खाने चामलमा मसिनो खालको चामल नरोज्ने हो भने भारतले प्रतिबन्ध गर्दैमा नेपाली चामल खान नपाई  मरिहाल्नुपर्ने स्थिति नआउने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेपालीले दैनिक खाने खानामा मसिनो चामल मात्र प्रयोग नगरी नेपालमा उत्पादन भएको मोटा चामलको प्रयोग गरे भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउँदा समस्या हुँदैन ।” तर, भारतले चामल निर्यात प्रतिबन्ध लगायो भन्ने बित्तिकै मानिसले धेरै चामल खरिद गरेर राख्नाले अभाव र मूल्यवृद्धि हुनसक्नेतर्फ सरकारले बेलैमा सोच्नुपर्ने उहाँ बताउनुहुन्छ ।

भारतबाट आयत हुने धेरै मात्रा मसिनो र मझौला खालको चामल भएकाले नेपालमै उत्पादन भएको मोटा चामल प्रयोग गर्न सकियो भने ठुलो समस्या नहुने उहाँको तर्क छ । नेपालको उत्पादनको वास्तविक मात्रा र खपत हुने चामको मात्रा पनि अहिले वास्तविक रूपमा थाहा नभएकाले प्रतिबन्धले त्यसको तथ्याङ्क दिने उहाँ बताउनुहुन्छ । कुन वर्षमा कति चाम आयात पछिल्लो चार वर्षलाई नियाल्दा चामलको आयातको तथ्याङ्क घट्दै गएको देखिएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा केही बढेको भए पनि त्यसपछिका वर्षमा भने चामल आयात घटेको छ । 

आर्थिक वर्ष २०७६ /७७ मा सात लाख १५ हजार टन चामल आयात भएकोमा आर्थिक वर्ष २०७७/७८ मा यो बढेर १२ लाख ६६ हजार पुगेको थियो । त्यसपछिको वर्ष २०७८/७९ मा १० लाख ८३ हजार टन चामल आयात भएको छ । यस्तै आर्थिक वर्ष २०७९/८० मा सात लाख ९१ हजार टन आयात भएको छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।