• ३ जेठ २०८२, शनिबार

मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, साउन ११ गते । सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित पर्सा गाउँपालिका–४, जिंगडवामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । 

नम्बर खुल्न नसकेको मोटरसाइकलले गाउँको भित्री सडकमा ठक्कर दिँदा सोही ठाउँ निवासी हरि वीरेन्द्र पासवानकी छोरी ८ वर्षीया मनीषाकुमारी पासवानको मृत्यु भएको हो । बाख्रा चराउन हिँडेकी मनीषालाई मोटरसाइकलले ठक्कर दिई गम्भीर घाइते बनाएपछि उपचारका लागि स्थानीय एक क्लिनिकमा पुर्‍याइयो । 

त्यहाँ पुर्‍याउँदा उनलाई स्वास्थ्यकर्मीले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मङ्गलवाले जनाएको छ । मोटरसाइकलको ठक्करबाट अर्की ८ वर्षीया बालिका चुनचुन पासवान सामान्य घाइते भएकी छन् । 

दुर्घटनापछि फरार रहेका मोटरसाइकल र त्यसका चालक फेला परेका छैनन् । सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले मोटरसाइकलको खोजी जारी रहेको जानकारी दिनुभयो । उहाँले घटनास्थल ग्रामीण इलाका रहेको र छेउछाउमा कहीँ कतै सिसी क्यामेरा जडान नभएकाले दुर्घटना गराएर भागेको मोटरसाइकल पहिचान गर्न समस्या परिरहेको बताउनुभयो ।