एकिन्द्र तिमिल्सेना
टीकापुर, साउन १० गते । टीकापुर इन्दै्रयाका माघु थारू स्थानीयस्तरमा जमिनदारका रूपमा परिचित हुनुहुन्छ। उहाँसँग कुनै समय ३० बिघा आठ कट्ठा १२ धुर जग्गा रहेको थियो। यतिको जग्गाका मालिक माघुका सात छोरा र एक छोरी छन्।
जमिनदार माघुले २०३५ सालमा दुई जना आश्रित (टुहुरा) भुखाली र छेदु तथा कमैया भोंदु र कुकुरा गरी चार जनालाई नौ बिघा १६ कट्ठा ११ धुर जग्गा बकसपत्र गरिदिनुभयो। यतिको जग्गामध्ये केही अंश दुई जना टुहुरा र दुई जना कमैयालाई दिँदा केही फरक नपर्ने सोच अनुसार उहाँले जग्गा बकसनामा गरिदिनुभयो।
तर, २०६३ सालमा कमैया भोंदुका नाति अतवारी र कुकुराका छोरा पहराले जमिनदार माघु र उहाँका छोराविरुद्ध अंश मुद्दा हाले। आफूहरू जमिनदार माघुको कमैया नभई अंशियार भएको दाबीसहित हालेको मुद्दा सर्वोच्च अदालतबाट जितेपछि भोंदुका नातिले छ बिघा छ कट्ठा १३ धुर र कुकुराका छोरा पहराले पनि त्यति नै जग्गा प्राप्त गरेका छन्।
जमिनदार माघुले तत्कालीन कमैयाका नातिहरूसँग मुद्दा लड्न केही जग्गा बिक्री गर्नुभयो र केही सडक बाटोमा खर्चिनुभयो। अब उहाँसँग जम्मा १० बिघा १२ कट्ठा १६ धुर जग्गा बच्यो। सो जमिनमा पनि अदालतको फैसला अनुसार माघुका छोराहरू, आश्रित भुखाली र छेदुको एक/एक भाग लागेको छ।
आश्रित सन्तानलाई पनि अंश दिनु परेपछि माघुका छोराहरूको भागमा तीन बिघा तीन कट्ठा जग्गा मात्रै परेको छ। त्यसबाट एक बिघा १९ कट्ठा जग्गा मुद्दा लड्ने क्रममा खर्च गर्न बिक्री भइसकेको जनाइएको छ।
जग्गाको फाँटबारी अनुसार जुमनदार माघुसँग २४ कट्ठा जग्गा हुनु पर्नेमा अब जम्मा आठ कट्ठा मात्रै बचेको छ। ३० बिघा जमिनका मालिकले आफूसँग जग्गा धेरै भएको खुसियालीमा बकसपत्र गरी दिएको २८ वर्षपछि तिनै कमैया र आश्रित अंशियारले मुद्दा जितेर थप अंश लिएपछि जमिनदार माघुको परिवार आठ कट्ठा जग्गामा सीमित भएको छ। यतिखेर माघुसँग श्रीमती, सात छोरा बुहारी, छोरी नातिनातिना गरी ३४ जनाको परिवार रहेको छ।
साक्षी प्रमाण राम्ररी बुझिएन, बहसमा सहभागी अधिवक्ताको बहसहरू पनि एकपक्षीय टिपोट गरिएको रहेछ, माघुका छोरा तेजबहादुरले भन्नुभयो, अदालतले आदेश हामी जीवितका नाममा नभई मृतक व्यक्तिको नाममा जारी भएको थाहै भएन। आफ्नो पक्षको वारेसले समेत धोका दिएको आरोप उहाँको छ।
मुद्दा किन प-यो ?
२०६३ सालमा कमैयाका रूपमा जग्गा पाएका कमैया भोंदुका नाति सोमैयाका छोरा अतवारीले माघुविरुद्ध मुद्दा हालेका हुन्। माघुले आफ्ना भाइ भोंदुका छोरा सोमैयालाई दुई बिघा १८ कट्ठा १७ धुर जग्गा मात्रै दिएकाले पैतृक सम्पत्ति आफ्ना बुवा सोमैयाले पनि बराबर पाउनु पर्ने दाबीसहित अतवारीले जिल्ला अदालत कैलालीमा अंश मुद्दा हालेका हुन्। सो मुद्दा वादी पक्षका सोमैयाका छोरा अतवारीले जिते। कैलाली जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गरेका माघुका छोराहरू २०६८ सालमा कमैयाहरू अंशीयार होइनन् भनी पुनरावेदन अदालत दिपायल गए र पुनरावेदनले अंश बाँडनु नपर्ने फैसला ग-यो।
त्यसविरुद्ध सोमैयाका छोरा अतबारी सर्वोच्चमा गए। सर्वोच्चले २०७१ मङ्सिर १९ गते बकसपत्रबाट पाएको सम्पत्ति अंशसरह पाएको भनी पुनरावेदन अदालत दिपायलले गरेको फैसला अंशबन्डासम्बन्धी कानुनी व्यवस्था अनुकूल नभएको र विधिवत् अंशबन्डा नभएको ठहर गरी विपक्षी झिकाइ आएपछि पेस गर्नु भन्ने निर्णय ग-यो।
सर्वोच्चको यो निर्णयपछि माघुका छोरा रामबहादुर चौधरीसमेतका नाममा २०७१ साल पुस १० गते सूचना म्याद जारी गरी तामेल भएको र प्रतिवादी यस अदालतमा हाजिर हुन नआएको भन्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह रावतको इजलासले उक्त फैसला गरेको हो।
सर्वोच्चले अदालतमा हाजिर हुन नआएका भनिएका डगरामका माहिला भाइ रामबहादुर चौधरीको २०६७ कात्तिक १२ गते नै मृत्यु भइसकेको थियो भने परिवारका सदस्यले आफूहरूले सर्वोच्चमा हाजिर हुनु भन्ने निर्णय भएको थाहै नपाएको बताउँछन्। यसमा आफ्नै वारेस सुमन श्रेष्ठले पनि जानकारी नदिई धोका दिएको डगराम बताउँछन्। फैसलाले भोंदु र कुकुराका छोराहरू अंशियार प्रमाणित भएका छन्।
फैसलापछि के भयो ?
मुद्दा नम्बर ०६८–सीआई–१२६८ मा सर्वोच्च अदालतले सबै जग्गा पुनः वितरण गरी माघु, छेददु, भुखालीको एक भाग, सोमैयाका छोराहरूको एक भाग र कुकुराको छोरा पहराको एक भाग लगाउनु भनी आदेश दिएको थियो।
यो आदेश अनुसार २०७५ पुस २५ गते जिल्ला अदालत कैलालीबाट खटिएको डोरले बन्डा फाँटबारी बनाई मालपोत कार्यालयलाई दियो। मालपोतले नापी कार्यालयमार्फत कित्ताकाट गरी सोमैयाका छोराहरूले छ बिघा छ कट्ठा १३ धुर र कुकुराका छोरा पहरालाई त्यति नै जग्गाको लालपुर्जा दियो। मुद्दा जित्नेले जग्गा पाएको थाहा पाएपछि आठ वटा लालपुर्जा लिएर मालपोत गएका माघुका छोराहरूको लालपुर्जामा आठ कट्ठा जति जग्गा मात्रै रहेको थाहा पाए। अदालतको डोरले बनाएको बन्डा फाँटबारी अनुसार तीन बिघा तीन कट्ठा मात्रै पाए। त्यसमध्ये एक बिघा १९ कट्ठा जग्गा बेचेर मुद्दा लडेका छ्न्।
फाँटबारी अनुसार माघुका श्रीमती र सन्तानका नाममा अझै २४ कट्ठा हुनुपर्नेमा लालपुर्जामा जम्मा आठ कट्ठा मात्रै बचेको छ। मालपोत कार्यालय टीकापुरका प्रमुख दलबहादुर चन्द सर्वोच्चको आदेश आइसकेपछि नापीलाई कित्ताकाट गरी पठाउन भनेको र नापीले कित्ता काटेका आधारमा नयाँ पुर्जा बनेको बताउँछ।
मुद्दा जितेपछि विवरण सच्याइँदै
कमैयाका नाति पहराले बाबु र बाजेको नाम फेरेको भेटिएको छ। २०३५ सालमा लेखिएको बकसपत्रमा सोमैया र पहरा थारूको बाजे थाहा नभएको लेखिएको छ। २०३८ सालमा पहराले त्यही बकसपत्रको लालपुर्जामा बाबु कुकुरा र बाजे पतिराम भएको लेखाएका छन्।
अर्को कागजातमा २०३८ सालमा बाजे जितौ (पतिरामका बाबु) भएको, २०५० सालमा बिछुवाको नाति, झुकराको छोरा भएका प्रमाणहरू मालपोत कार्यालयमै भेटिएका छन्। पहराको २०३७ सालमा जारी नागरिकतामा बाबुको नाम झुकरा छ भने अंश मुद्दा लड्दा अदालतमा बाबु कुकुरा भएको दाबी गरेका छन्।
पहराले अदालतबाट जितौको नाति भनेर फैसला आएपछि २०७३ सालमा नयाँ नागरिकता हात पारेका छन् नयाँ नागरिकतामा बाजे जितौ, बाबु कुकुरा छ।
२०२८ सालदेखि इन्द्रैयामा बसोबास गरिरहेका ८५ वर्षीय मानबहादुर थापा भोदुका छोरा सोमैया र कुकुराका छोरा पहरा अर्को गाउँ लक्षिनापुरबाट आएका र उनीहरूलाई त्यहाँका बडघर माघुले घरबास दिएर कमैया राखेको र पछि बकसपत्र गरी केही जग्गा दिएको बताइन्छ। जमिनदार माघुले आफूखुसी बकसनामा तथा मुद्दाका सम्बन्धमा कानुनी रूपमा कमजोरी गर्दा यस्तो समस्या आएको भनाइ स्थानीयको छ।