कपिल ज्ञवाली
सिद्धार्थनगर, साउन ९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सम्पदाहरूको खोजी गरी मौलिक रूपमा संरक्षण गर्ने बताउनुभएको छ।
सोमबारदेखि सुरु भएको लुम्बिनी विकास कोष परिषद् बैठकलाई सम्बोधन गर्दै मन्त्री किरातीले पुर्खाहरूले जोगाएको सम्पदालाई मौलिक रूपमै संरक्षण गर्नुपर्ने बताउनुभएको हो। विदेशीको नक्कल गर्दा सम्पदा क्षेत्रभित्र पार्क, फाइभ स्टार होटल जस्ता संरचना बन्न थालेको भन्दै त्यसो हुन नदिने पनि उहाँले उल्लेख गर्नुभयो। कोषका अध्यक्षसमेत रहेका मन्त्री किरातीले सम्पदाहरूलाई संस्कृति र प्रकृतिमैत्री रूपमा विकास गर्नुपर्ने बताउनुभयो।
पुर्खाले छाडेर गएका सम्पदाहरूको खोजी गरेर सम्पदालाई सम्पदाकै रूपमा विकास गर्ने नीति सरकारले लिने किरातीको भनाइ छ। लुम्बिनीलाई विश्वशान्तिका रूपमा विकास गर्ने गरी नयाँ योजनाका साथ काम गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो। उहाँले मन्त्रालय सम्हालेको छ महिनामा लुम्बिनीमा जति ध्यान दिनुपर्ने हो, त्यति दिन नसकेको स्वीकार गर्नुभयो। छ महिनाको अनुभवले ऐन, नियमहरूलाई समय अनुकूल बनाउन पुनर्लेखन र संशोधन गर्ने, मन्त्रालय मातहत रहेका ऐन, कानुन सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बोक्न सक्ने गरी संशोधन गर्ने, मन्त्रालय मातहतका विभागमा देखिने गरी परिणाममुखी काम गर्ने उहाँले बताउनुभयो। सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले बुद्ध जन्मस्थल लुम्बिनीलाई सुगन्धका रूपमा विश्वसामु चिनाउनुपर्ने बताउनुभयो। लुम्बिनीलाई पवित्र स्थलका रूपमा विकास गर्न सबै पक्ष समेटेर अगाडि बढ्न उहाँले जोड दिनुभयो।
कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले कोषमा रहेका विभिन्न नीतिगत समस्या हल भएको र गुरुयोजनाका काम पूरा हुने चरणमा रहेको जानकारी दिनुभयो। उहाँले विगत फर्केर हेर्दा लुम्बिनीमा गुरुयोजना निर्माणदेखि राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा राम्रो काम गरेको बताउनुभयो । उहाँले गुरुयोजनाको काम अबको तीन वर्षमा सम्पन्न हुने र त्यसका लागि तीन अर्ब बजेट आवश्यक पर्ने बताउनुभयो।
परिषद् बैठकले आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रम तथा बजेट र अन्य विभिन्न प्रस्तावमाथि छलफल गरी पारित गर्ने सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिनुभयो।