• ७ पुस २०८१, आइतबार

बैठक गर्नुअघि लाइभको कार्यविधि बन्नुपर्थ्यो : नेता कोइराला

blog

नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ७ गते । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय समिति बैठक बस्नुअघि त्यसको कार्यविधि तय गरेर बैठक लाइभ गरेको भए राम्रो हुने सुझाव दिनुभएको छ । केन्द्रीय समिति बैठक सानेपामा आज आफ्नो धारणा राख्नुहुँदै उहाँले सो सुझाव दिनुभएको हो । 

उहाँले भन्नुभयो, “बैठक लाइभ गर्नु त राम्रो हो र हाम्रो लागि नयाँ प्रयोग पनि हो । यसले पारदर्शितालाई प्रवर्धन त गरेको छ । तर यो सुरु गर्दा कार्यविधि तय गरेर गरेको भए राम्रो हुनेथियो, कुन विषय बन्द कोठामा गर्ने र कुन विषय खुल्ला गर्ने भन्ने कुराको परिधि तय गरिनुपर्थ्याे ।” परराष्ट्रका समसामयिक विषय, अन्तरदलीय विषय, निर्वाचन रणनीति आदिको स्पष्ट गाइडलाइन बनाउनुपर्ने उहाँको भनाइ छ । 

गत निर्वाचनबाट हामीले प्राप्त गरेको पपुलर मत विभाजित कम्युनिष्ट पार्टीभन्दा पनि कम छ । 

आगामी निर्वाचनमा कांग्रेसले एक्लै निर्वाचन लड्ने तयारी आजैबाट गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । “गत निर्वाचनबाट हामीले प्राप्त गरेको पपुलर मत विभाजित कम्युनिष्ट पार्टीभन्दा पनि कम छ” नेता कोइरालाले थप्नुभयो, “गठबन्धन गरेर कांग्रेस संसदभित्र ठूलो दल भएको हो, तर संसद् बैठकमा कांग्रेसभित्र अपेक्षित उर्जा प्रस्फुटन हुन किन नसकिरहेको होला भन्ने प्रश्न हाम्रो सामु छ ।” 

वर्तमान सरकार गठबन्धनको मर्मअनुसार सरकार सञ्चालन हुन नसकेको उहाँले बताउनुभयो । स्थानीय तह सरकारदेखि प्रदेश हुँदै सङ्घीय सरकारसम्म कांग्रेस सहभागी छ तर जनअपेक्षाअनुरुप हामीले काम गर्न सकेनौं उहाँले भन्नुभयो । नेता कोइरालाले थप्नुभयो, “काम गर्न नसक्दा हाम्रो पार्टीको भविष्यमात्र अन्धकार हुने होइन, नेपालको लोकतन्त्र पनि कमजोर र दिशाहीन हुनजान्छ । जनजीविकाको सवालमा जनताले सरकार भएको अनुभूति गर्न सकेका छैनन् ।” महँगी र कालाबजारीले जनता आक्रान्त रहेको उहाँले चर्चा गर्नुभयो । 

पछिल्लो दिनमा देशमा दण्डहीनता बढेर गएको चर्चा गर्नुहुँदै नेता कोइरालाले कानुन बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम भइरहेको टिप्पणी गर्नुभयो । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० खारेज गर्नुपर्छ भन्नुभयो । यो विधेयक संसदबाट पारित भएमा मुलुकमा झन दण्डहीनता बढ्ने उहाँले चर्चा गर्नुभयो । 

काम गर्न नसक्दा हाम्रो पार्टीको भविष्यमात्र अन्धकार हुने होइन, नेपालको लोकतन्त्र पनि कमजोर र दिशाहीन हुनजान्छ ।

कांग्रेसले सुशासनको नारा दिए पनि काम गर्न नसकेको टिप्पणी गर्नुहुँदै नेता कोइरालाले भन्नुभयो, “सुशासनबारेमा विश्वासको वातावरण निर्माण नगरी अब जनताको घरदैलोमा भोट माग्न जान सम्भव नहुने बताउनुहुँदै नेता कोइरालाले भन्नुभयो, “भुटानी शरणार्थी प्रकरण अत्यन्तै संवेदनशील र पेचिलो बिषय हो । यस बिषयमा केबल भावनामा बगेर र हलुका टिप्पणी गरेर पन्छन सक्ने अवस्था छैन । यो प्रकरणले अन्तराष्ट्रिय तहमै नेपालको छवि धमिलिएको छ ।”

कांग्रेसले अब प्रत्यक्ष निर्वाचन प्रणालीभित्रबाटै समानुपातिक र समावेशीको सुनिश्चितता गरिनुपर्ने उहाँले बताउनुभयो । त्यस्तै, बिदेशमा बस्ने नेपालीलाई समानुपातिक प्रणालीमा मताधिकार दिने भनेर निर्वाचन आयोगले भनेकाले त्यससम्बन्धी कानुन बनाएर कार्यान्वयनका लागि अघि बढ्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । 

सत्ता अन्तिम सत्य नरहेको चर्चा गर्नुहुँदै नेता कोइरालाले भन्नुभयो, “सत्तालाई अन्तिम सत्य मान्दा राजनीतिक मूल्य मान्यता, सिद्धान्त र आदर्श कमजोर बन्दैगएको छ । हामी जनतासँग टाढिएका छौँ । जनता र हामीबीचको खाडल पुर्नुपर्ने अहिलेको आवश्यकता हो ।”

विधानअनुसार चलौं

नेता कोइरालाले पार्टी पङ्तिलाई विधानअनुरुप चल्न आग्रह गर्नुभएको छ । “हाम्रो राजनीतिक भविष्य मात्र होइन, लोकतन्त्रको भविष्य पनि हाम्रो चरित्र र कार्यशैलीद्वारा निर्देशित हुन्छ । हामी सवै एउटा खेलको नियममा बाँधिएका छौँ र बाधिनुपर्छ” नेता कोइरालाले भन्नुभयो, “जसरी देश संविधानबाट चल्छ, त्यसैगरी कांग्रेस पनि पार्टी विधानबाट चल्ने परम्परा बसालौँ । हाम्रा भ्रातृ र शुभेच्छुक संस्थाहरुलाई पनि विधानअनुरुप अगाडि बढाउने काम गरौँ ।” 

जसरी देश संविधानवाट चल्छ, त्यसैगरी कांग्रेस पनि पार्टी विधानबाट चल्ने परम्परा बसालौँ । 

अहिले बसिरहेको केन्द्रीय समिति बैठक आरोप प्रत्यारोप र कुण्ठा पोख्ने थलो मात्र नेको उहाँको भनाइ छ । “यो राम्रो लक्षण हैन, यसरी हामी हाम्रो लक्ष्य र गन्तव्यमा पुग्न सक्दैनौँ ।”

अहिले पार्टीमा विचारको खडेरी रहेको उहाँले बताउनुभयो । विधानअनुसार अविलम्ब महासमितिको बैठक बोलाई नीति तथा कार्यक्रम ल्याउनेतर्फ जानुपर्छ उहाँले भन्नुभयो ।